INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा

नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो ।

दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका हुँदै हिल्सा नाकाबाट नाम्खा गाउँपालिका पुगेको कुहिएको चामल बिक्री गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट बिक्री भएको चामल कुहिएको भेटिएको तामाङले गुनासो गर्नुभयो । एक घरधुरीलाई चार/चार बोराको दरले बिक्री गरेको मध्य दुई बोरा कुहिएको चामल आएकोे उहाँको भनाइ छ ।

अधिकांश घरपरिवारमा कुहिएको चामल डल्लैडल्ला परेको आएको छ । त्यस्तै चार बोरा चामल पाएका थियौँ सबै कुहिएको स्थानीय आङमु लामाले बताउनुभयो । लामाले भन्नुभयो ‘२५ किलो चामलको २ हजार ३ सय ७५ रुपैयाँमा किनेको चामल बोरा खोल्दा कुहिएको भेटियो । पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको छ ।’

५० घरधुरीले किनेको चामलका अधिकांश बोरा कुहिएको भेटिएको स्थानीय लोप्चाङ तामाङले बताउनुभयो । मुचु गाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट बिक्री गरेको चामल कुहिएर खान नमिल्ने जानकारी आएपछि बोरा खोलेर घाममा सुकाउने गरेको तामाङको भनाइ छ । ‘घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको छ,’ तामाङले बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा खुल्ला आकाश मुनि त्रिपालले छोपेर राखेको चामल पानीले भिजेपछि केही खाद्यान्न कुहिएको हो ।

काठमाडौं केरुङबाट हिल्सा नाका हुँदै चार हजार क्विन्टल चामल आएको हो । तीन हजार क्विन्टल सिमकोट शाखाका लागि र एक हजार क्विन्टल नाम्खाका लागि आएको हो । कुहिएको चामल भए फिर्ता गरेर राम्रो चामल दिन सकिने प्रमुख अधिकारीले बताउनुभयो।

Photo20230927Humla (1)

Photo20230927Humla (2)

Photo20230927Humla (3)

Photo20230927Humla (4)

अन्य

भिडियो