INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभावका कारण बीचमै पढाइ छोड्छन् बालबालिका

पञ्चेश्वर गाउँपालिका–१ पालडीकी ममता सार्की कक्षा चार उत्तीर्ण भएपछि विद्यालय भर्ना हुनु भएन् । उहाँसँगैका साथीहरू नियमित विद्यालय जान्छन् । ममतालाई पनि साथीहरूसँगै पढ्न जाने ठुलो रहर छ । तर, आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ विद्यालय भन्दा मेलापात धाउनमा व्यस्त देखिन्छन् । ‘आमा स्वासप्रस्वाससम्बन्धी बिरामी, बुबा एक्लैको कमाइले घर खर्च धान्नै मुस्किल हुन थालेपछि बीचमै पढाइ छोड्नु पर्‍यो’, ममताले भन्नु भयो, ‘पढेर आफ्नै खुट्टामा उभिने सपनामा घरको न्यून आर्थिक अवस्था बाधक बनेको छ ।

आर्थिक अवस्था दयनीय हुँदा अन्य दुई बहिनीले पढाइबाट वञ्चित हुनुपरेको छ, आर्थिक अभावकै कारण यसअघि दाईहरूले बीचमै पढाइ छोड्नु परेको थियो । उहाँहरूको सपना पनि पुरा हुन सकेन् । हाम्रो पनि यस्तै भयो ।’ ‘छोरीहरूलाई पढाउन मन त छ तर घरको अवस्था दयनीय छ, कसले पढाउने ? कसरी पढाउने ?’ आमा धाना सार्कीले भन्नु भयो, ‘एक जोर विद्यालय पोशाक र कापी, कलम किन्न सक्ने अवस्था छैन् । पढाउन नसक्ने भएपछि सुनिता र गीतालाई पनि स्कुल पठाउन सकिएन् ।’ वर्षभरि खान अन्न उत्पादन हुँदैन् । दिनभर मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गरेको धानाको भनाइ छ ।

स्थानीय सरकारका लक्षित वर्गका कार्यक्रमले उहाँको परिवारलाई छोएको छैन् । हालसम्म स्थानीय तहबाट कुनै सहयोग नपाएको धाना सार्कीको भनाइ छ । ‘गरिब तथा विपन्नका लागि कार्यक्रम हुन्छन् भन्ने सुनेको छु’, उहाँले भन्नु भयो, ‘हामीले कुनै पनि सहयोग पाएको छैन ।’

अधिकांश किशोरीहरूले विवाहपछि बीचमै पढाइ छाड्ने गरेका छन् । बीचमै पढाइ छाड्नेमा अधिकांश साथीभाइको लहलहैमा लागेर भारत जाने, विवाह गरेर पनि कतिपयले बीचमै पढाइ छाड्ने गरेका छन् ।

पञ्चेश्वर गाउँपालिका–१ कै १९ वर्षीया लक्ष्मी सार्कीले पनि बीचमै पढाइ छोड्नु भयो । पाँच वर्षअघि विवाह गरेपछि उहाँले कक्षा १० बाट नै पढाइ छाड्नुभएको हो । ‘पढ्ने इच्छा थियो तर विवाह गरेपछि घरको जिम्मेवारी थपियो,’ लक्ष्मीले भन्नु भयो, ‘त्यसपछि पढाइलाई निरन्तरता दिन सकिएन् ।’ घर्‍यासी कारण देखाउँदै भर्ना भएका विद्यार्थीहरू पनि विद्यालयमा नियमित नआउने गरेको नागार्जुन आधारभूत विद्यालयका प्रधानाध्यपक सुरेश सार्कीले बताउनु भयो । भर्ना अभियान चलेका बेला विद्यार्थी भर्ना हुने गरेको भए पनि पछि घरको विभिन्न समस्या देखाउँदै थोरै मात्रामा विद्यार्थी विद्यालय आउने गरेको उहाँको भनाइ छ ।

जिल्लामा विभिन्न कारणले बीचमै पढाइ छोड्ने बालबालिकाको तथ्याङ्क संकलन कार्य शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिका बाहेक अन्य स्थानीय तहले गरेका छैनन् । शिवनाथ गाउँपालिकामा ७७ र पुर्चाैडी गाउँपालिकामा २ सय ५७ जनाले बीचमै विद्यालय छाडेको तथ्याङ्कले देखाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले १० ओटै स्थानीय तहमा  तथ्याङ्क संकलनका लागि पटक–पटक परिपत्र गरेको भए पनि ढिलाइ गरिरहेको बताउनु भयो ।

जनशक्ति अभाव र भौगोलिक विकटताले गर्दा सबै ठाउँमा पुगेर तथ्याङ्क संकलन गर्न नसकिएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताउनु भयो ।

रोजगारीका लागि अभिभावकसँगै भारत जाने, सानै उमेरमा विवाह गर्ने लगायतका कारणले बालबालिकाले बीचमै पढाइ छोडिरहेका छन् । तर, स्थानीय सरकारले बालबालिकालाई विद्यालयमा टिकाउने उपाय गर्नु त परको कुरा, हालसम्म तथ्याङ्क समेत संकलन गरेका छैनन् ।

पुचौँडीमा भने उमेर समूह विशेष कक्षा सञ्चालन

न्यून आर्थिक अवस्था, बाल विवाह लगायतका कारणले नेपालमा झण्डै १० प्रतिशत बालबालिकाले बीचमै पढाइ छाड्ने गरेको तथ्याङ्क छ । विद्यालय बाहिर रहेका बालबालिकाका लागि विशेष कक्षा सञ्चालन भइरहेको पुचौँडी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र प्रसाद जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘शिक्षा मन्त्रालयले बनाएको पाठ्यक्रमका आधारमा जुन कक्षाबाट छाडेको हो फेरि त्यहीबाट कक्षा सञ्चालन गरी विद्यालय ल्याउने गरी कक्षा सञ्चालन गरिरहेका छौं ।’

प्रत्येक वर्ष शैक्षिक सत्रको सुरुवातमा वैशाख महिनाभरी विद्यार्थी भर्ना अभियान सञ्चालन हुन्छ । तर, शैक्षिक सत्रको मध्यतिर नै बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जाने, अन्य मजदुरीका काममा संलग्न हुने र कतिपय वैवाहिक बन्धनमा बाँधिने भएकाले सामुदायिक विद्यालयमा विद्यार्थीहरूको उपस्थिति न्यून हुनेगरेको छ । विद्यार्थी टिकाउनका लागि तीनै तहका सरकारबाट विभिन्न कार्यक्रम सञ्चालन हुने गरेको भए पनि त्यसको प्रभावकारितामा भने बेलाबेला प्रश्न उठ्ने गरेको छ ।

अन्य

भिडियो