INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधारगृह, विराटनगरमा क्षमता भन्दा चार गुणा बढी बालक

५० जनाको क्षमता भएको बालसुधार गृह, विराटनगरमा हाल २ सय १९ जना बालकलाई राखिएको छ ।

क्षमता भन्दा बढी भएका कारण बालसुधार गृहमा राखिएकाहरू आधारभूत अधिकारबाट समेत वञ्चित हुनु परेको छ ।

क्षमता भन्दा बढी भएका कारण उनीहरूलाई सुत्नदेखि खानका साथै स्वास्थ्य उपचारमा समस्या हुने गरेको बालसुधार गृह प्रमुख मिलन चौहानले बताउनु भयो ।

बाल सुधारगृहमा हाल सबै भन्दा बढी १ सय १९ जना बालक बलात्कार मुद्दामा ३२ जना कर्तव्य ज्यान मुद्दाका १६ जना लागूऔषध मुद्दाका र १९ जना यौन दुर्व्यवहार मुद्दामा सजाय भुक्तान गरिरहेका छन् ।

बाल सुधारगृह विराटनगरका सामाजिक कार्यकर्ता प्रवीण सिलाकार प्रदेशको एक मात्र बाल सुधारगृह भएकाले पनि क्षमता नहुँदा नहुँदै पनि धेरै बालकहरूलाई सुधारगृहमा राख्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

अदालतको आदेशमा पठाइएका बालकहरू राख्नुको विकल्प नभएको भएकाले ‘कोशी प्रदेशका मात्र हैन, अन्य जिल्लाका बालकहरूलाई समेत राख्नु पर्ने बाध्यता छ, क्षमताभन्दा बढी सङ्ख्यामा बालकहरू राख्नुपर्दा उनीहरूको व्यवस्थापनमा समस्या छ ।’ प्रवीण सिलाकारले भन्नु भयो ।

बाल सुधारगृहमा कुनै न कुनै अपराध गरेर आएका बालकलाई खान, बस्न, पढ्न र स्वास्थ्य उपचारमा बढी सचेत हुनुपर्नेमा कोचिएर बस्न बाध्य भएका छन् । क्षमताभन्दा बढी सङ्ख्यामा बालकहरू हुँदा कतिपयलाई बेड अभावमा भूइँमा र एउटै बेडमा दुई जना सुत्नुपर्ने अवस्था छ ।

हत्या, बलात्कारलगायतका विभिन्न अपराधमा अदालतको आदेशले सजाय भुक्तान गर्न कोशी प्रदेशका १४ ओटा जिल्लाबाट बाल सुधारगृहमा पठाइने गरिएको छ । हाल बाल सुधारगृह, विराटनगरमा बलात्कार मुद्दाका दोषी मधेश प्रदेशका एक बालकलाई राखिएको छ ।

बाल सुधारगृहमा क्षमता भन्दा बढी बालकहरू राखेका कारण उनीहरूको मानसिक, शारीरिक, बौद्धिक तथा शैक्षिक उन्नतिमा बाधा पुगेको इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले बताउनु भयो ।

बालबालिका सम्बन्धी नयाँ कानुनले १० वर्षमुनिका कुनै बालकले अपराध गरेमा कुनै सजाय नहुने, १० देखि १४ वर्ष उमेरकाले जुनसुकै गम्भीर अपराध गरेको भए पनि ६ महिनासम्म कैद सजाय हुने, १४ देखि १६ सम्मकाले अपराध गरेमा ठूलालाई हुने सजायको आधा हुने र १६ देखि १८ वर्षसम्मकाले अपराध गरेमा ७५ प्रतिशत सजाय हुने व्यवस्था छ ।

१८ वर्षभन्दा मुनिका बालकहरूले अपराध गरेमा उनीहरूले अपराध नभएर बाल बिज्याइँ गरेको कानुनी मान्यता अनुसार उनीहरूलाई सुधार गर्ने उद्देश्यले बाल सुधारगृहमा राख्ने गरिन्छ । तर बाल सुधारगृह, विराटनगरको व्यस्थापन जेल भन्दा फरक नभएको इन्सेक संयोजक सोमराज थापाले बताउनु भयो ।

बाल सुधारगृहमा हाल २ सय १९ जना बालक रहेकोमा विभिन्न अपराधका घटनामा संलग्न मुद्दाको पुर्पक्षको क्रममा ७० जना बालक छन् ।

हाल सुधारगृहमा सबैभन्दा झापाका ६५ जना बालक, मोरङका ४१ जना, सुनसरीका ३८ जना, उदयपुरका १४ जना, पाँचथरका १३ जना, भोजपुरका १० जना, ओखलढुङ्गाका सात जना, सङ्खुवासभाका ६ जना, धनकुटाका आठ, तेहृथुमका चार जन, इलामका तीन जना, सोलुखुम्बु र बाराका एक-एक जना बालक  सजाय भुक्तान गरिरहेका छन् ।

गैरसरकारी संस्था यूसेपको सहयोगमा बाल सुधारगृह, विराटनगर ०७५ भदौ ३ गतेदेखि सञ्चालनमा छ ।

बाल सुधारगृहभित्र बाल सुधारगृह माध्यमिक विद्यालय सञ्चालन गरी बालकहरूलाई पठनपाठनको व्यवस्था गरिएको छ ।

अन्य

भिडियो