स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट निर्वाचित बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधि र इन्सेक प्रतिनिधिबिच आगामी दिनमा गरिने कार्यक्रम तथा योजनाका सवालमा असार २८ गते छलफल सम्पन्न भएको छ ।
सो नगरपालिकामा मेयरको पदमा निर्वाचित केशवकुमार श्रेष्ठ र उपमेयर मीरा थारू र सोही नपा-४ बुड्ढीका वडा अध्यक्ष पवनकुमार थारूलगायतसँग इन्सेक र मानव अधिकार निगरानी समूहका प्रतिनिधिहरूले छलफल गरेका हुन् ।
छलफलका क्रममा इन्सेकले स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा कार्यक्रम सञ्चालन गरिरहेको विषयमा जनप्रतिनिधिलाई जानकारी गराउँदै जनप्रतिनिधिले आगामी दिनमा गर्नुपर्ने कामका विषयमासमेत छलफल भएको थियो ।
छलफलका क्रममा जनताले पाउने सेवासुविधा सहज रूपमा उपलब्ध गराउनुको साथै आफ्नो गाउँको विकासमा जनताकै सहभागिता बढाउने तथा जनताका आधारभुत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जनप्रतिनिधिले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
निर्वाचनमा जुनसुकै पार्टीकाट चुनाव लडेपनि अब बुद्धभूमिका सम्पुर्ण जनताको प्रतिनिधि भएको र अझै नगरपरिषदले पूर्णता नपाएको हुँदा परिषदको पूर्णतासँगै काममा लाग्ने मेयर केशवकुमार श्रेष्ठले बताए ।
उपमेयर मीरा थारूले पछाडि पारिएका समुदायका महिलालाई अगाडि बढाउने तथा न्यायमा पहुँच वृद्धि गर्ने काममा आफू निरन्तर लाग्ने बताइन् ।