हुम्ला जिल्लामा पाँच वर्षमुनिका ७ सय ७३ बालबालिका शीघ्र कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालविवाह र स्थानीय उत्पादनबाट बन्ने परिकारको उपभोग नगर्दा यति धेरै बालबालिका शीघ्र कुपोषित भएका हुन् ।
हुम्ला जिल्लामा कुल ५ हजार ७ सय ८४ जना पाँच वर्षमुनिका बालबालिका मध्ये ७ सय ७३ जना शीघ्र कुपोषित बालबालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.स्मृति महतले बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालयले हालै गरेको एक अध्ययनमा कुल कुपोषित बालबालिका मध्ये ६२ प्रतिशत बालिका र ३८ प्रतिशत बालक कुपोषित रहेको डा. महतले बताएकी हुन् ।
कुपोषणलाई न्यूनीकरण गर्ने उद्धेश्यले जिल्लामा यस आर्थिक वर्षबाट बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालन भएको छ । शीघ्र कुपोषण बालबालिकाको सङ्ख्यामा वृद्धि हुनुमा बालविवाह, पोषणयुक्त स्थानीय उत्पादनबाट बन्ने परिकारको कम उपभोग, सरसफाईको कमी, फलफूल तथा पोषणयुक्त खानेकुराको कमी, स्वास्थ्य सेवाको पहुँचमा कमी, आमाहरूमा अशिक्षा जस्ता कारणले भएको बहुक्षेत्रीय पोषण कार्यक्रमका जिल्ला संयोजक दिनेश बमले बताए ।
जिल्लामा बाहुन क्षेत्री भन्दा तामाङ जातीको बसोबास गर्ने गाँउमा बढि बाल बालिका कुपोषित भएका छन् । जस अनुसार कुल कुपोषित मध्ये ताजाकोट गाउँपालिकामा ५ वर्षमुनिका बालबालिका २ सय १२, अदानचुली गाउँपालिकामा १ सय ४५, सिमकोटमा ९४, खार्पुनाथमा ७२ चङ्खेलीमा १ सय ३६ बालबालिका कुपोषित रहेको संयोजक वमले बताए ।
यता जिल्लामा बाल बालिका कुपोषित हुनुमा व्यक्तिगत सरसफाई पनि जिम्मेवार रहेको सो अध्ययनले देखाएको छ । कार्यक्रमले सुनौलो हजार दिनका बालबालिका तथा महिलाहरूको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउने खालका कार्यक्रम सञ्चालन गरेको भएपनि कार्यक्रम कार्यान्वयन चरणमा रहेकोले प्रतिफल ननिस्केको संयोजक बमले बताए ।