कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा कल्याणपुर जब्दीका ५५ वर्षीय पवनकुमार यादवलाई जिल्ला अदालतले असार २७ गते पाँच वर्षकैद तथा ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले जानकारी दिए । अन्य आरोपितहरूलाई सफाई दिने फैसला गरेको पनि सरकारी वकिल मगरले बताए ।
कल्याणपुर जब्दीकी ६५ वर्षीया मोहनीदेवी यादवलाई आरोपित पवन र उनका छोराहरू २२ वर्षीय सरोज यादव, १९ वर्षीय लालबाबू यादव र १७ वर्षीय एक बालकले कथित बोक्सीको आरोपमा ०७३ असार ९ गते अपमानजनक व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा साउन १६ गते उजुरी दिएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपीत सरोज यादवलाई साउन १६ गते गिरफ्तार गरेको थियो भने अन्य आरोपित फरार रहेका थिए । जिल्ला अदालतले आरोपीत सरोजलाई साउन ३१ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो भने उच्च अदालत राजबिराजले कात्तिक १३ गते १ लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।