जन्मघर सल्यान भएकी अञ्जलीको नागरिकता पुरुषको छ । उहाँको जन्मजात पुरुषजस्तो देखिने भए पनि व्यवहार भने महिलाको जस्तो थियो । घरका मान्छे पनि छोरा नै भनेर बोलाउँथे । सात–आठ वर्षको उमेरमा उहाँले आफ्नी आमाको साडी र ब्लाउज लगाएर सिङ्गारपटार गरी नाँच्नुहुन्थ्यो । विद्यालयमा पनि केटा साथीहरुभन्दा केटी साथीहरुसँग संगत गर्न मन पराउनुहुन्थ्यो । छात्राको सिटमा किन बसेको भनेर सर– म्यामहरु अन्जलीलाई रिसाउँथे । छात्र भनेपछि मनमा धेरै डर लाग्थ्यो ।
वरिपरिका छिमेकी र साथीभाईले पनि ‘तँ त छक्का–हिजडा होस् भन्थे । तर अञ्जलीका अभिभावकले ‘छोरा हो, रहर मानेर केटीजस्तो व्यवहार गर्छ भन्थे ।’
विगत पाँच वर्षदेखि सुर्खेतमा बस्दै आएकी छन् । तीन वर्ष सम्म निलहिरा समाज, सुर्खेतमा सामाजिक परिचालक भएर काम गर्नुभयो । अहिले कुनै पेशा व्यवसाय छैन । परिवारका सदस्यले आफूलाई जन्मिँदा छोरा देखेको हुँदा छोरीको रूपमा अझै स्वीकार गर्न नसकेको अञ्जलीले बताउनुभयो ।
त्यही कारण जन्मस्थान छोडेर सुर्खेतमा बस्दै आएको कुरा सुनाउनुभयो । ‘मलाई जीविकोपार्जन गर्न निकै समस्या भएको छ । सबैले सामाजिक सुरक्षा भत्ता त सरकारले दिन्छ । दुई–चार हजारले केही हुँदैन’, उहाँले भन्नुभयो, ‘मैले एसएलसी गरेकी छु । समाजले हामीलाई हेर्ने दृष्टिकोण नै फरक छ । त्यसैले भत्ताभन्दा पनि रोजगारीको ग्यारेन्टी गरे सहज हुने थियो ।’
जबसम्म आफूजस्तै खुलेकाको जीविकोपार्जनको स्रोत हुँदैन तबसम्म यो समुदायका अरू पनि खुल्न नसक्ने उहाँको दावी छ ।
त्यसै गरी,वीरेन्द्रनगर–१ की जेनीशा नेपाली पनि यही समुदायमा पर्नुहुन्छ । उमेरले ३२ वर्षको हुनुभयो । जन्मिँदा छोरा जन्मिए पनि स्वभाव सानैदेखि छोरीको भयो । तर, परिवारले छोरा नै बन्न दबाब दियो । अहिले पनि दुई ओटा पहिचान छ, घरमा हुँदा छोरा तर घर बाहिर निस्किएपछि छोरी । यसका लागि धेरै संघर्ष गर्नुभएको छ । जेनीशाले आफूले बजारमा हिँड्दा छक्का हिजडा जस्ता शब्द सुन्दा आफ्नोे स्वभाव परिवर्तन गर्न नसक्ने बताउनुहुन्छ ।
पहिला–पहिला पुरुषको पहिरन लगाएर फट्टाफुट्ट बजारमा देखिने जेनिशा अहिले महिलाको पहिरनमा अञ्जलीसँगै हिँड्नुहुन्छ । अझै पनि जेनिशालाई घर–परिवारले र समाजले त स्वीकार गरेका छैनन् । तर पनि उहाँले यो समुदायको मुक्ति र अधिकारको लागि घर–परिवार र समाजसँगै संघर्ष गर्नुभएको छ ।
अञ्जली र जेनिशा मिलेर समाजमा लुकेर रहेका लैङ्गिक अल्पसङ्ख्यकलाई परामर्श गर्ने, जनचेतना जगाउने, खुलेर आउन सहज वातावरण बनाउने र विभिन्न फोरमहरुमा गएर हक–अधिकारका सवालहरु उठाउने काम गरिरहनुभएको छ ।
‘मलाई पहिल्यै थाहा थियो, म यस्तो मान्छे हुँ भनेर । पछि अञ्जलीजी आउनुभयो, मलाई अझ सहज भयो,’ जेनिशाले भन्न्नुभयो, ‘अहिले पनि घर–परिवार र समाजले मलाई स्वीकार गरेका छैनन् । तर आफ्नो समुदायको हक–अधिकारका लागि पहिलो लडाई घरपरिवार र समाजसँग गर्न जरुरी छ ।’
लैङ्गिक अल्पसङ्ख्यलाई सरकारले भत्ताको साटो रोजगारीको अवसर दिनसके समाजमा अन्य मानिसहरु जस्तै सहज रुपमा बस्न पाउने जेनिशाको भनाइ छ ।
घरपरिवार र समाजले हामीलाई हेर्ने दृष्टिकोण अब फेर्नुपर्छ । किनकी हाम्रो पहिचान यो हो भनेर खुलिसकेको छ । सहभागीताका लागि मात्रै कार्यक्रममा बोलाएर पाँच सय, हजार दिएर भुलाउनु भन्दा दिर्घकालीनरुपमा यसको समाधान गर्न जरुरी छ । उहाँले भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगकाको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य समुदायका ८८ जना व्यक्तिहरु खुलेका छन् ।
लैङ्गिक अल्पसङ्ख्यकभित्र पनि एल, जी, बि, टी, आई, क्यु गरी ६ ओटा ‘वर्गीकरण’ मा बाँडिएका छन् । अञ्जलीका अनुसार सुर्खेतमा सबैभन्दा धेरै जी (समलिंगी) वर्गीकरणका मानिसहरु रहेका छन् । सामाज र घर–परिवारको डरले उनीहरु खुल्न नसकेको उहाँले बताउनुहुन्छ ।
अहिलेका लैङ्गिक अल्पसङ्ख्यलाई अन्यको नागरिकता दिइए पनि पुरानो पुरुष वा महिलाको लिएकाहरुलाई भने समस्या भएकोले सरकारले पनि इच्छा अनुसार अहिले नागरिकता संशोधन गर्नुपर्नेछ । सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका चर्पी, रोजगारी, सार्वजनिक यातायात र कार्यक्रमका हाजिरीहरुमा समेत आफूहरुलाई विभेद हुने गरेको उहाँको गुनासो छ ।