पहिरोले विस्थापित बनेपछि दुई वर्षदेखि अस्थाई टहरा र टेन्टमुनी जीवन बिताउन बाध्य बनेका परिवारको दैनिकी निकै कष्टपूर्ण बनेको छ ।
हुप्सेकोट गाउँपालिका– ५ मा पर्ने वागखोरका १८ घरपरिवार २०७८ असार २४ गते गएको पहिरोबाट विस्थापित बनेका थिए । दुई वर्ष बितिसक्दा पनि उनीहरु अस्थाई टहरामै छन् । ब्लक र टिन लगाइएको एक–एक कोठा र एउटा टेन्टमा अहिले उनीहरू दिन काट्न बाध्य छन् ।
पहिरोले विस्थापित बनेपछि केही समय हुप्सेकोटको जनता माध्यमिक विद्यालयमा बास बसेका थिए । पछि स्थानीय सरकारले वडा नं. १ जुकेपानीमा रहेको चउरमा अस्थाई टहरा बनाएर व्यवस्थापन गर्याे ।
तर अस्थाई टहरामा दैनिकी निकै कष्टकर बनेको दिलमाया सोमै मगरले बताउनुभयो । भदौ महिना लागेसंगै दिनहुँ जसो वर्षा हुँदा झनै समस्या थपेको उहाँले गुनासो गर्नुभयो । विस्थापित हुँदा गर्भवती रहनुभएकी सोमै अस्थाई टहरामै सुत्केरी भएर दिन काट्नुभयो । सोमै भन्नुहुन्छ ‘सानो बच्चालाई भुँइमै सुताएर दुई वर्ष बित्यो, जुका लाग्ने ठाउँ पानी पर्दा जुकाको डर अर्कोतिर हावापानीबाट जोगाउन गाह्रो, त्यसमाथि सर्पको त्रास । ’
झरीमा खासगरी सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा समस्या हुने गरेको तिलबहादुर सोमै मगरले बताउनुभयो । सानो एउटा कोठाभित्र आठदेखि १०–१२ जनाको परिवार बस्नुपर्ने बाध्यताले रहेको उहाँले गुनासो गर्नुभयो । सरकारले स्थायी बसोबासको व्यवस्था मिलाइदिए सहज हुने उहाँले बताउनुभयो ।
पहिरोबाट विस्थापित हुनुभएका मीन बहादुर सोमैको पीडा पनि उस्तै छ । ‘आफ्नो पुरानो ठाउँथलो, खेतीपाती, पशुचौपाया छोड्ने रहर कसलाई पो हुन्छ र ? तर , के गर्नु । विपदले उठिबास गरायो ।’ सोमैले भन्नुभयो । ‘अस्थाई टहरामा घाम लाग्दा टिनले पोलेर हैरान, जाडोमा चिसोले निदाउनै सकिन्न, पानी पर्दा चउरमा हिलो हुने, सानो कोठाभित्र निकै असहज भएको छ, सर्प र किराको पनी डर छ ।’
आफ्नो थातथलोमा खेतीपाती, पशुचौपायाबाट जीवन निर्वाह गर्दै आएका विस्थापित १८ घरपरिवारको दैनिकी अहिले ज्याला मजदुरी गरेर बितेको छ ।
हुप्सेकोट गाउँंपालिका अध्यक्ष लक्ष्मी पाण्डेले गाउँपालिका एक्लैले १८ घरधुरीलाई जग्गा र आवासको प्रबन्ध गर्न स्रोतको अभाव रहेको बताउनुभयो । गाउँपालिकाबाट अस्थाई टहराको व्यवस्था गरेको तर दीर्घकालिन व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारको पहल आवश्यक रहेको उहाँको भनाई छ ।
