२४ वर्षीया महिलाले बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि आरोपितबाट धम्की आएको गुनासो गर्नु भएको छ ।
पीडित महिलाले भदौ २६ गते इनरूवा पत्रकार सम्मेलन गरी बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि आफूलाई धम्की आएको गुनासो गर्नु भयो ।
इटहरी उपमहानगरपालिका-१३ रानीगाउँका ३३ वर्षीय जीतेन्द्र शर्माले ०८० जेठ २६ गते बलात्कार गरेको र आफूले आरोपितविरूद्ध ०८० भदौ १२ गते इलाका प्रहरी कार्यालय, दुहवीमा उजुरी दिएपछि आरोपितले धम्की दिएको पीडितले पत्रकार सम्मेलनमा गुनासो गर्नु भयो ।
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि आरोपितका ३४ वर्षीय दाजु दिलिप शर्मा र ५५ वर्षीय बाबु देवकुमार शर्माले धम्की दिएको पीडितको भनाइ छ ।
आरोपितहरूले मुद्दा फिर्ता लिन धम्की दिएको र चरित्र हत्या गरेको पीडितको आरोप छ ।
पीडितले आरोपितविरूद्ध मुलुकी अपराध संहिता २०७४ को धारा २१९ बमोजिम कारबाहीको माग गर्दै जाहेरी दिएको इलाका प्रहरी कार्यालय, दुहवीका इन्स्पेक्टर मोहन पोखरेलले बताउनु भयो ।
पीडित पक्षको उजुरीपछि प्रहरीले पीडितको सुरक्षा र आरोपितको खोजी थालेको इन्स्पेक्टर पोखरेलले बताउनु भयो ।
दुहवी नगरपालिका-७ का वडाध्यक्ष विजय चौधरीले पीडितलाई सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाहीको माग गर्दै प्रहरीको ध्यानाकर्षण गराउनु भएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १२ गते गरिएको छ ।