INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा तरूणदलका कार्यकर्ता घाइते भएको आरोप

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरूणदलका पुथा उत्तरगङ्गा संयोजक ३५ वर्षीया नविन पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमले आरोप लगाएको छ ।

असार १८ गते राति ३० जना भन्दा बढीको सङ्ख्यामा आएका माओवादी केन्द्रका कार्यकर्ताहरूले पुनको ज्यान मार्ने उद्धेश्यले आक्रमण गरी घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमका सभापति प्रेमप्रकाश ओलीले आरोप लगाए ।

आक्रमण बाट गम्भीर घाइते बनेका पुनको कास्की पोखरामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँ लगिएको ओलीले जानकारी दिए ।

घटना पश्चात घाइते बेपत्ता भएको र हप्ता दिनपछि मात्रै आफूलाई थाहा भएपछि बाग्लुङ हुँदै उपचारको लागि पोखरा लगेपनि त्यहाँ उपचार सम्भव नभएकाले असार २५ गते काठमाडौँ लगिएको पनि ओलीले जानकारी दिए ।

घाइते पुनको टाउको र अनुहारमा खुकुरीका दर्जनौ चोट लागेको छ । गम्भीर चोटका कारण घाइते लामो समयसम्म बेपत्ता भएको कारण अवस्था निकै जटिल रहेको स्वास्थ्यकर्मीहरूले बताएको परिवारका सदस्यले जनाएका छन् ।

नेपाली काङ्ग्रेस रूकुमले विज्ञप्ति जारी गदै उक्त घटनाका दोषीहरूलाई कारबाहीको माग गदै ‘जङ्गली शैली’ सुधार गर्न माओवादीलाई चेतावनी दिएको छ । सभापति ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-‘यो घटनाले माओवादीको अझै जङ्गली स्वरूप बाँकी नै छ भन्ने प्रष्ट्याएको छ ।’

अन्य

भिडियो