INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकांश स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागु हुन सकेन

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले निर्देशन गरे अनुसार स्थानीय पाठ्यक्रम निर्माण गर्न नसक्दा जिल्लाका अधिकांश स्थानीय तहले स्थानीय पाठ्यक्रम लागु गर्न सकेका छैनन् ।

जिल्लाका नौ ओटा स्थानीय तहमध्ये तामाकोशी गाँउपालिकाले कक्षा १-८ को स्थानीय पाठ्यक्रम तयाारी भएको र यस वर्ष पुस्तक छपाईको चरणमा रहेको शिक्षा शाखा प्रमुख गोबिन्दबहादुर डिसीले बताउनु भयो । गौरीशङ्कर गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार गरी प्रबोधिकरणको चरणमा रहेको सो गाउँपालिकाका शिक्षा शाखा प्रमुख भिमसेन बिष्टले जानकारी दिनुभयो ।

मेलङ गाउँपालिका शिक्षा प्रमुख नवराज सापकोटाले कक्षा १-५ को स्थानीय पाठ्यक्रम लागु गर्ने तयारीमा रहेको र कक्षा ६-८ को बनाउँने तयारीमा रहेको बताउनु भयो । बैत्यश्वर गाउँपालिकाले पाठ्यक्रम र निर्देशिका तयार भएको र कक्षा १-८ मा नै यसै शैक्षिक वर्षदेखि लागु गरिने शिक्षा शाखा प्रमुख जनक अधिकारीले बताउनु भयो । बिगु गाउँपालिकामा कक्ष १-५ को स्थानीय पाठ्यक्रम तयार पारेको र कक्षा ६-८ को पाठ्यक्रम निर्माणको चरण्मा रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिरी नगरपालिका, शेलुङ गाउँपालिका र कालिञ्चोक गाउँपालिकाले स्थानीय पाठ्यक्रम समिति मात्र निर्माण भएको छ । जिरी नगरपालिकाले यस वर्षदेखि पाठ्यक्रम निर्माणको कार्य थालनी गर्ने तयारी रहेको सो नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले जामकारी दिनुभयो । भीमेश्वर नगरपालिकाको शिक्षा शाखाका श्रोत व्यक्ति सुन्दर खड्काका अनुसार नगरपालिकाले ‘भीमेश्वर सेरोफेरो’ नामको पाठ्यपुस्तक छपाई भई नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १ र २ मा पठनपाठनमा रहेको बताउनु भयो ।

श्रोत शिक्षक खड्काका अनुसार कक्षा ३-५ को पाठ्यपुस्तक साझा प्रकासनले छपाईको जिम्मा पाएकोमा छपाई हुँदै गरेको र साथै कक्षा ६-८ को पाठ्यक्रम छपाई स्थानीय छापाखानामा भइरहेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बमोजिम तयार भएका र संस्थागत तथा संस्थागत विद्यालयमा पठनपाठन हुने खड्काले जानकारी दिनुभयो ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले शिक्षामा भएका नविनतम परिवर्तन, देशको रणनीति तथा सामाजिक परिवर्तन र स्थानीय आवश्यकताका आधारमा विद्यालय शिक्षाको पाठ्यक्रम तयार गर्नुपर्ने निर्देशन गरेको छ । यस प्रारुपले विविधतालाई सम्वोधन, मानव अधिकारको प्रत्याभूति र समावेशितालाई आत्मसात गर्ने प्रयास गरेको छ ।

साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेको सन् २०३० सम्म दिगो विकास लक्ष हासिल गर्ने प्रतिबद्धताको सन्दर्भमा शिक्षाको पहुँचलाई समावेशी र समतामुलक बनाई गणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा प्रारुपले मार्ग निर्देश गरेको छ । यस प्रारुपले विद्यालय शिक्षामा नीतिगत तथा संरचनागत नविन आयाम समावेश गरी कक्षा १-३ एकिकृत पाठ्यक्रम, कक्षा ४-८ मा सक्षमतामा आधारित र कक्षा ९-१२ एकल पक्षीय पाठ्यक्रम ढाँचा अवलम्वन गरेको छ । विद्यार्थी मैत्री वातावरणमा सिकाई क्रियाकलाप सञ्चालन गर्ने, सिकाई क्रियाकलापमा विविधता कायम गर्ने लगायतका कार्यद्वारा सिकाई प्रक्रियमा सुधार गर्ने लक्ष छ ।

अन्य

भिडियो