जिल्लाको दक्षिणी भेग क्षेत्रको सर्केगाड गाउँपालिकामा रहेको खाद्य डिपो केन्द्रमा एक वर्षदेखि खाद्यान्नको अभाव भएको छ । खाद्यान्नको अभावपछि सरकारले दिने अनुदानको चामल पाउनबाट स्थानीय नागरिक बञ्चित भएका हुन् । गत एक वर्षदेखि डिपो कन्द्रमा खाद्यान्न आयत नभएपछि हाल सो क्षेत्रका सबै स्थानीय नागरिक समस्यामा परेका छन् ।
एक वर्षदेखि खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरुले लापरबाही गरेपछि उक्त डिपो केन्द्रमा खाद्यान्नको अभाव भएको हो । आर्थिक वर्ष २०७९/८० मा सर्केगाड डिपो केन्द्रका लागि २ हजार क्विन्टल खाद्यान्न आउनु पर्नेमा असार अन्तिमसम्म जम्मा ७ सय २१ क्विन्टल खाद्यान्न मात्रै ढुवानी गरेको छ ।
सिंगो गाउँपालिकाका लागि छुट्याएको २ हजार क्विन्टल खाद्यान्न मध्य १ हजार २ सय ७९ क्विन्टल खाद्यान्न नपुगेपछि हाल सो क्षेत्रका स्थानीय नागरिक बजारको महङ्गो मुल्यमा चामल किनेर खान बाध्य भएको स्थानीय धनराज शाहीले गुनासो गर्नुभयो । खाद्यान्न अभाव भएपछि बजारबाट महङ्गो मुल्यमा चामल किन्न परेको स्थानीय सिव फडेरले बताउनु भयो ।
एक वर्षदेखि सो डिपो केन्द्रमा खाद्यान्न अभाव भएपछि हाल त्यस क्षेत्रका स्थानीय नागरिक ३० केजीको बोराको २ हजार ८ सय रुपियाँमा किनेर खान बाध्य भएको स्थानीय जनक फडेराले गुनासो गर्नु भएको छ ।
अनुदानको खाद्यान्न अभावकै कारण हुम्ला बहिरा सङ्घमा अध्ययन गर्दै आएका २० जना बालबालिका समेत नेपाल सरकारको अनुदानको खाद्यान्न पाउनबाट बञ्चित भएको संस्थाका अध्यक्ष धर्मदत्त फडेराले गुनासो गर्नु भयो ।
संस्थामा रहेका बालबालिकालाई खाद्यान्न अभाव भएपछि साउन २९ गते जिल्ला प्रशासन कार्यालयलाई खाद्यान्न उपलव्ध गरउन आफूले अनुरोध गरेको अध्यक्ष फडेराले बताउनुभयो । उहाँले सर्केगाड डिपो केन्द्रमा अनुदानको खाद्यान्न अभाव भएको भन्दै बालबालिकालाई २५ बोरा चामल उपलव्ध गराउन प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरे पनि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सर्केगाडको स्यालतडीमा उपलव्ध हुने गरी जम्मा पाँच बोरा खाद्यान्नको अनुमति दिएको बताउनुभयो ।
खाद्यान्न ढुवानीको जिम्मा लिएका सप्लायर्सले हिउँदमा ढुवानी गर्दा खाद्यान्न विक्रि वितरण नहुने र वर्षाको समयमा विक्रि वितरण हुने गरे पनि ढुवानी महङ्गो हुने भएका कारण खाद्यान्न ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायव सुव्बा नविन प्रसाद आचार्यले बताउनु भएको छ ।
देउती बजै कन्टक्सन सुर्खेतले लिएको १ हजार क्विन्टल खाद्यान्न मध्ये जम्मा ३ सय ८१ क्विन्टल खाद्यान्न डिपो केन्द्रमा पुगाएको र अन्य ६ सय १९ क्विन्टल खाद्यान्न सुर्खेतमै थन्कीएको छ भने रोयल जनरल अडर एण्ड सप्लायर्स चंखेलीको पनि १ हजार क्विन्टल खाद्यान्न मध्य जम्मा ३ सय ४१ क्विन्टल खाद्यान्न डिपो केन्द्रमा पुगेको र ६ सय ५९ क्विन्टल खाद्यान्न मुगु जिल्लामा थन्कीएको सुव्बा आचार्यले बताउनु भयो ।
समयमै खाद्यान्न हुम्लामा किन पुगेन भनेर बुझ्दा देउती बजै कन्टक्सन सुर्खेतका प्रोप्राइटर तोप नारायण चालीसेले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय सुर्खेतमा खाद्यान्न अभाव भएका कारण खाद्यान्न ढुवानी गर्न नसकेको बताउनुभयो ।