नेपाल पत्रकार महासंघ सिरहाका पूर्व सभापती लहान नगरपािलका–७ का ४६ वर्षीय दिनेश्वर प्रसाद गुप्तालाई कुटपिट गरेको आरोपमा नवराजपुर गाउँपालिका–३ का २० वर्षीय कमलेश यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले भदौ १४ गते गिरफ्तार गरेको छ ।
आरोपित कमलेश यादव का साथै २५ वर्षीय चन्दन कामत लगायतका एक समूहले कुटपिट गरी मोबाईल समेत खोसेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा भदौ १३ गते उजुरी दिनुभएकाे थियाे ।
नवराजपुर गाउँपालिका–३ स्थित सार्वजनिक पोखरीकाे विवादको सम्बन्धमा भदौ ११ गते भएको झडपको रिपोर्टिङ्ग गर्न गएका गुप्तालाई आरोपितहरुको समूहले कुटपिट गरी मोबाइलसमेत खोसेको पत्रकार गुप्ताले बताउनु भयाे। आरोपितहरुको समूहले ट्रयाक्टरमा आगजनी गर्न लाग्दाकाे फोटो खिच्न लाग्दा आरोपितहरुको समूहले आफूमाथी हमला गरेको गुप्ताले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकु नन्द इवा लिम्बुका अनुसार पत्रकार कुटपिट घटनाका आरोपित कमलेशलाई गिरफ्तार गरी ७ दिनको म्याद थप गराएको र अन्य आरोपितहरुको खोज तलास भइरहेको जानकारी दिनु भयो ।
घटनाको बिरोधमा नेपाल पत्रकार महासंघ सिरहा लगायत विभिन्न प्रेस संगठनहरुले विज्ञप्ति प्रकाशित गरी आरोपितहरुलाई कारबाही गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।