INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधार गृहमा मृत्यु भएका कमलको भिसेरा परीक्षणका लागि विधिविज्ञान प्रयोशाला पठाइयो

मध्यपुरथिमी नगरपालिका-२, सानोठिमीस्थित बाल सुधार गृहमा ०८० भदौ ३ गते मृत्यु भएका १८ वर्षीय बन्दी कमल बस्नेतको भिसेरा परीक्षण हुने भएको छ । प्रहरीले कमलको शवको भिसेरा परीक्षणका लागि विधिविज्ञान प्रयोशालामा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले कमलको मृत्युबारे एकिन कारण पत्ता लगाउन भिसेरा गर्न नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको इन्सेकलाई जानकारी दिनुभयो ।

बाल सुधार गृह प्रशासनको बेवास्ताका कारण समयमै उपचार नपाउँदा ज्वरोले थलिएको अवस्थामा कमलको भदौ ३ गते मृत्यु भएको थियो ।

कमलको मृत्युपछि उहाँका आफन्त र परिवारले क्षतिपुर्तिको माग गर्दै भदौ ११ गतेसम्म शव उठाएका थिएनन् । पीडित परिवारसँग भदौ ११ गते सहमति पश्चात प्रहरीले कमलको शव परीक्षणका लागि त्रिविवि शिक्षण अस्पताल, महाराजगंजमा पठाएको थियो ।

डिएसपी पाठकका अनुसार पोष्टमार्टमको अन्तिम पूर्ण रिपोर्ट अझै आइसकेको छैन । भिसेरा परीक्षणको कम्तीमा एक महिना लाग्ने र त्यसपछि मात्र के र कसरी मृत्यु भयो भन्ने एकिन कारण पत्ता लाग्ने पाठकले बताउनु भयो ।

अन्य

भिडियो