INSEC Online

📅 २०८३ जेष्ठ २१

दोरम्बामा मारिएकाका आफन्तको अठोटः एक मुट्ठी सास रहेसम्म न्यायको लागि लड्छु

‘दोरम्बा हत्या काण्ड भएको २० वर्ष भयो तर दोषीलाई अझै कानुनी कठघरामा उभ्याउने काम हुन सकेको छैन । सो घटनामा प्रत्यक्ष जोडिएका परिवारहरू न्यायको पर्खाइमा छन् । पीडितहरूले न्यायको आशा अझै मारेका छैनन्’, दोरम्बा हत्या काण्डमा मारिएका २१ जना मध्ये पदमराज गिरीका छोरा कपिलराज गिरीले निराशासँगै केही आशा व्यक्त गर्नुभयो ।

Photo_080-5-15_Ramechhap1
कपिलराज गिरी

तत्कालीन माओवादी र सरकारबिच ०६० साउन ३२ गते युद्ध विराम भएको बेला रामेछापको दोरम्बामा मारिएकाका परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । पीडितका परिवार न्यायको पर्खाइमा छन् । तर उहाँहरूले न्याय पाउने कुरा ओझेल पर्दै गएको छ । २०६० साउन ३१ गते बिहान ७ बजे तिर तत्कालीन पुरानागाउँ गाविसका पदमराज गिरी हातमुख धोएर एउटा बोरा हातमा लिएर निस्कनु भयो । दोरम्बासम्म जाने र फर्किँदा तरकारीको लागि आलु लिएर आउने कुरा घरमा सुनाउनु भयो । गिरी बेलुका फर्कनु हुन्छ र तरकारी खाने आलु ल्याउनु हुन्छ भनेर परिवार ढुक्कले बस्यो ।

हिँड्दाको साइत भन्छन् उहाँ त्यो दिन घरबाट टेकेर निस्कनु भएको दैलो फेरी कहिल्यै टेक्न आउनु भएन । उहाँ सदाको लागि बिदा हुनुभयो । दोरम्बा हत्या काण्डमा मारिनुभयो । ‘घरमा लाउन खानको पनि दुःख नै थियो, बुबाको रोजगारी थिएन, निम्न मध्यम वर्गको हाम्रो परिवार जसोतसो जीविका चलाउँथ्यौँ’, विगत सम्झँदै पदमराजका छोरा कपिलराजले भन्नुभयो । पारिवारिक अवस्था बारे कपिलले अगाडि भन्नुभयो–’दुई दाईहरू कमाइको लागि भारत छिरिसक्नु भएको थियो । एक दिदीको पहिल्यै विवाह भएको थियो । घरमा आमा, म, भाइ र दुई ओटी बहिनी थियौँ । घरमा भएका छोरा छोरीमध्ये म जेठो, १४ वर्षको थिए । हाम्रो आड, भरोसा र सहारा नै बुबा हुनुहुन्थ्यो ।’

आलु लिन भनेर जानुभएको पदमराज पार्टीको बैठकमा जानु भएको रहेछ । ‘बेलुका बुबा आउनुहोला भनेको आउनु भएन, भोलिपल्ट पनि आउनुभएन, बुबा आउनुहोला भनेको त ०६० भदौ २ गते उहाँको लास परेको खबर आयो, आलु आउला भनेको त बुबा मारिएको खबर पो आयो’, कपिलले घटना सम्झँदै भन्नुभयो ।

Photo_080-5-15_Ramechhap3
पदमराज गिरी

बैठकमा बसेका ३१ जना माओवादीका नेता कार्यकर्तालाई साउन ३२ गते सेनाले मार्‍यो । दुई जनालाई घटनास्थलमा नै र बाँकी १९ जनालाई नियन्त्रणमा लिएर तत्कालीन डडुवा गाविसको डाँडाकटेरीमा ल्याएर लाइन लगाएर गोली हानेर मार्‍यो । तिनै मारिने मध्येमा पर्नुभयो कपिलका बुबा अर्थात् पदमराज गिरी पनि । ‘घटना साउन ३२ गते भएको रहेछ, हामीलाई त घटनाबारे भदौ २ गते मात्रै थाहा भयो’, उहाँले भन्नुभयो ।

घटनाको खबर आएपछि घरमा रुवाबासी चल्यो । तर सेनाको डरले गाउँका कोही मान्छे घरमा गएनन् । कपिल बुबाका साथी तुलसी गिरी लिएर घटनाको यथार्थ बुझ्न दोरम्बा तर्फ लाग्नुभयो । ‘हामी भदौ ५ गते त्यो ठाउँमा पुग्यौँ, हेर्दा रक्ताम्मे पाखो, बाटो र घारी, लासलाई घारीबाट ल्याएर माथि चौरमा अलिअलि खनेर पुरिएको रहेछ, मलाई लास खोतल्न मन लाग्यो, हातले खोतलेर हेर्दा अनुहार पुरै नचिनिने, देखे पनि चिन्न मुस्किल पर्ने भयो, बुबाको गोडामा बन्चरोले काटेको चोट थियो र हेर्दा फेला पर्‍यो, बुबा मारिएको पुष्टि भयो र हामी घर फर्कियौँ’, उहाँले भन्नुभयो ।

घर फर्कँदा पनि गाउँमा कोही मान्छे घरमा थिएनन् । पदमराजकी पत्नी रुँदा रुँदा अचेत हुनुभएको थियो । सान्त्वना दिने कोही भएनन् । न पार्टीका मान्छे गए न गाउँले गए । गिरी परिवार एक्लै भयो । ‘भदौ ६ गते म आफैले रुँदारुँदै केही मान्छेलाई खबर गरेँ र भदौ ७ गतेबाट परम्परा अनुसार म र भाइ काज क्रियामा लाग्यौँ’, उहाँले भन्नुभयो ।

त्यो वर्ष भरी नै पार्टीका कुनै पनि नेता भेट्न नआएको कपिलराजलाई अहिले पनि दुःख छ । अभिभावक गुमाउनुको साथै आर्थिक सङ्कटको कारण तहसनहस भएको परिवारलाई सहयोग त के सान्त्वना दिने मानिस पनि कोही भएन ।

बुबाको काममा बसेको सेतो लुगामा सदरमुकाम आउनुभएका कपिललाई प्रहरीले माओवादीको आरोप लगाउँदै नराम्रोसँग यातना दियो । प्रहरीको यातनाले उहाँको गोडाको औँला भाँचियो । दाहिने हातको कान्छी औँला फ्याक्चर भयो । पाखुरामा १२ टाँका लगाउने गरी काट्यो । त्यही बेलामा घटनाको छानबिन गर्न आएको टोलीले खोजी गरेको कारण प्रहरीले उहाँलाई छाड्यो र कपिलराज बाँच्नु भयो । त्यस्ता कहाली लाग्दो दिन छिचोलेर कपिल पछि विदेश जानुभयो । भाइ बहिनी पढ्दा, घरमा चुलो बाल्दा लागेको ऋण तिर्नुभयो । राज्यले १० लाख रुपियाँ दियो । त्यो पनि ऋण तिर्दै सकियो ।

Photo_080-5-15_Ramechhap2

हरेक वर्ष साउन ३२ गते आउँदा तिक्तताको आँसु बग्ने कपिलराज बताउनुहुन्छ । ‘२० वर्ष भयो तर स्मृति ताजै छ, त्यो कहालीलाग्दो घटनाले विचलित बनाउँछ’, उहाँले भन्नुभयो । साउन ३२ मा दोरम्बामा सहिदको स्मृतिमा आयोजना हुने औपचारिक साधारण कार्यक्रम पनि पहिल्यैदेखि तयारी नगरी हतार हतार गरिने कपिलराजको गुनासो छ । ‘साउन ३२ सकियो, सबै सम्झना र परिवारको वास्ता नै सकिन्छ, म सहित २१ परिवारको बिचल्ली भएको त्यो दिन पार्टीका लागि पनि कहिल्यै विशेष बनेन’, उहाँले भन्नुभयो ।

दोरम्बा हत्याकाण्ड पछि भएको शान्ति सम्झौता लगत्तै माओवादी पार्टी सरकारमा गयो । २०६४ को निर्वाचनमा माओवादी अत्यधिक बहुमत सहित सरकारमा गयो । त्यसपछि पनि पटक पटक कहिले आफ्नै नेतृत्व र कहिले सत्ता साझेदारीमा पार्टी सरकारमा पुगेकै छ । तर, दोरम्बा हत्याकाण्डमा मारिएर सहिद भएका ती २१ जना र तीनका परिवारमा कहिल्यै पनि पार्टीको आँखामा नपरेको भान हुने उहाँ बताउनुहुन्छ ।

सो घटना गराउने तत्कालीन मेजर राममणि पोख्रेल र सो टिममा गएको सैनिक टोली र दोषीमाथि अझै कारबाही भएको छैन । मृतकका परिवारले पीडकलाई कारबाहीको लागि उजुरी गरेको पनि वर्षौँ बित्यो तर कुनै सुनवाइ र कारबाही भएको छैन । ‘दोरम्बा घटना नेपाली इतिहासमा सबैभन्दा माथिल्लो स्तरमा राखियोस् भनेर बारम्बार ध्यानाकर्षण गराउँदा पनि वास्ता भएको छैन । भनिन्छ नि, सास रहुन्जेल आस, त्यसैले एक दिन न एक दिन त कसो यो माग पूरा नहोला भनेर शरीरमा एक मुट्ठी सास रहेसम्म यो माग कायम राख्ने प्रण गरेको छु’, उहाँले भन्नुभयो ।

दोरम्बा घटनालाई सशस्त्र द्वन्द्वको बेला राज्यको तर्फबाट भएको गम्भीर मानव अधिकार उलङ्घनको घटना मानिन्छ । युद्ध विरामको बेला निःशस्त्र रूपमा बैठक बसिरहेका माओवादीको नेता कार्यकर्तालाई सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो । नियन्त्रणमा लिएका मानिसलाई सेनाले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सक्थ्यो तर त्यसो गरेन । सेनाको ब्यारेकका प्रमुखकै नेतृत्वमा गएको टोलीले सो घटना गराउन मानव अधिकार उल्लङ्घन मात्र थिएन, त्यो एउटा व्यक्तिको सनकको उपज समेत थियो । जसले नेपाली सेनालाई अन्तर्राष्ट्रिय तहमा समेत दुर्नाम गराउने काम गर्‍यो ।

सो घटनामा माओवादीका तत्कालीन रामेछाप जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ (पुष्प) सहितका २१ जना नेता, कार्यकर्ता मारिएका थिए । अन्य मारिनेमा अम्बिका दाहाल (ललिका), प्रदीप दोङ (रक्तिम), टेकबहादुर थापा मगर (विवेक), हर्क तामाङ घिसिङ (यथार्थ), रवि चौहान (समीर), विष्णुमाया थापा (बिमा), सानोराम तामाङ (तारा), ठुलोराम तामाङ (छोप्पा), लक्ष्मण तामाङ (छायाँ), चतुरमान थामी (समर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), उमा कार्की (सहारा), सोमाई थामी (सङ्गीता), जगत् विश्वकर्मा (जमिन), हर्कलक्ष्मी राई (विमला), भबु लामा (सोम), चमेली थामी (उषा), युवराज मोक्तान र लीला मोक्तान रहेका छन् ।

मृतकका परिवारलाई राज्यले १० लाख रुपियाँका दरले राहत दिने बाहेक अन्य कुनै सहयोग गरेको छैन । अधिकांश मारिएकाका परिवार अति सामान्य परिवारका छन् । मारिएकाका पत्नीहरू अधिकांश निरक्षर छन् । उहाँहरू अहिले पनि दुःखका साथ खेतीपाती गरेर जीवन गुजारी रहनुभएको छ । पदमराज गिरीका मात्र होइन, सबैका परिवार राहत भन्दा पनि बढी न्यायको पर्खाइमा छन् । तर न्याय पाउने कुरा झन् झन् टाढा धकेलिँदै छ ।

Photo_080-5-15_Ramechhap।
दाेरम्बाकाे डाँडाकटेरीमा बनाइएकाे पदमराज गिरी लगायत २१ जनाकाे सालिक

अन्य

भिडियो