सशस्त्र द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजानिक गर्नु पर्ने पीडित परिवारले माग गरेका छन् । भानु नगरपालिका–२ निवासी बेपत्ता परिवार समाजकी केन्द्रीय सदस्य ओमकुमारी पौडेललले बेपत्ता नागरिकको अवस्था जे जस्तो भएपनि राज्यले सार्वजानिक गर्नु पर्ने बताउनु भयो । उहाँकी दिदी पार्वती पौडेललाई राज्यपक्षले २०५५ मंसिर २२ गते पोखराबाट गिरफ्तार गरि बेपत्ता बनाएको थियो ।
त्यसैगरि बेपत्ता पारिएका भानुका रामचन्द्र मिश्रका भाई कृष्णप्रसाद मिश्रले पनि शान्ति सम्झौताको मर्म विपरित हालसम्म पनि बेपत्ता नागरिकको अवस्था सार्वजनिक नहुनु ज्यादै दुखद भएको बताउनु भयो । उहाँले पनि जे जस्तो भएपनि बेपत्ता नागरिकको अवस्था यथाशिघ्र सार्वजनिक गर्नु पर्ने बताउन भयो । उहाँका दाजु रामचन्द्र मिश्रलाई २०५५ पुस २९ गते राज्यपक्षले गिरफ्तार गरि बेपत्ता बनाएको थियो ।
त्यस्तै गरि २०५६ वैशाख १ गते राज्यपक्षबाट गिरफ्तार गरि बेपत्ता पारिएका शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारका श्रीराम घिमिरेकी पत्नी सर्वदा घिमिरेले पनि अब आफ्ना आफन्त जिवित फर्केर आउने आशा नभएको भन्दै उहाँको अवस्थाको बारेमा राज्यले सार्वजानिक गर्नु पर्ने बताउनु भयो ।
२०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा राज्य र विद्रोही पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्थाका बारेमा ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाई जानकारी गराउने भनी गरिएको प्रतिवद्धता सम्झौता भएको १७ वर्ष पुरा हुँदा पनि कार्यान्वयन भएको छैन ।
बेपत्ता परिवारका आफन्त व्यास नगरपालिका– १२ घाँसिकुवाका रोहीत पन्तले राज्यले बेपत्ता नागरिकको बारेमा गम्भिरतापुर्वक चासो नदिँदा उनीहरुको अवस्था सार्वजानिक हुन नसकेको बताउनु भयो । बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजानिक नहुँदासम्म संक्रमणकालिन न्यायले पनि पुर्णता नपाउने पन्तले बताउनु भयो । पन्तकी दिदी कल्पनालाई २०५५ मंसिर २२ गते राज्य पक्षले घरबाटै गिरफ्तार गरि बेपत्ता बनाएको थियो ।
भदौ १३ गते विश्वभर बलपुर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहँदा तनहुँमा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता बनाइएका नागरिकका आफन्तले बेपत्ता पारिएकाहरुको अवस्था सार्वजानिक गर्नु पर्ने माग गरेका हुन् ।
इन्सेकको तथ्याङ्क अनुसार द्वन्द्वको क्रममा खैरेनीटारका श्रीराम घिमिरे २०५६ वैशाख १ गते, भानु फुस्रेटारकी विजया बुढाथोकी २०६० चैत २ गते, दुलेगौंडाका दिलबहादुर लम्साल २०५९ साउन ४ गते, जामुनेका ईश्वर काफ्ले २०६० असोज १६ गते, घाँसिकुवा बेलघारीकी कल्पना पन्त २०५५ मंसिर २२ गते, माझकोटका कामराज थापा २०५५ पुस २९ गते, बरभन्ज्याङका केशव सिंह ठकुरी २०५५ पुस २९ गते, साभुङ भगवतीपुरका कृष्ण श्रेष्ठ २०५५ पुस २९ गते बेपत्ता बनाइएका थिए ।
त्यसैगरि भिमाद किहुँकी मधुमालती लम्साल २०५६ वैशाख १ गते, भानु मिर्लुङका नारायण पण्डित २०५६ वैशाख १ गते, भानु २ नारेश्वरटारकी पार्वती पौडेल २०५५ मंसिर २२ गते, भानु नारेश्वरटारका रामचन्द्र मिश्र २०५५ पुस २९ गते, घाँसिकुवा बेलभन्ज्याङकी सरस्वती अधिकारी २०५५ मंसिर २२ गते, व्यास १० पोख्रेलफाँटका बसन्त पोख्रेल पोख्रेल २०५५ मंसिर ३०, रिस्तीकी चिजा विक २०५६ साउन ८ गते तथा जामुनेका अरुण नेपालीलाई २०६१ सालमा बेपत्ता बनाइएको थियो । बेपत्ता पारिएका सबैको अवस्था हालसम्म पनि अज्ञात नै रहेको छ ।
