INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई सातादेखि विद्यालय बन्द, पठन पाठन प्रभावित

आरुघाट गाउँपालिका– ५ पाखुरेको मण्डली आधारभुत विद्यालय दुई सातादेखि बन्द रहेको छ । गाउँपालिकाले गरेको विद्यालयको तह घटाउने निर्णयको विरोधमा अभिभावकले विद्यालय बन्द गरेका हुन् ।

आरुघाट गाउँकार्यपालिकाको ०८० भदौ १ गतेको बैठकले एक देखि पाँच कक्षासम्म चलेको उक्त विद्यालयको तह घटाएर एक देखि तीन सम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । विद्यालयको दुइओटा दरबन्दी पनि कटौती गर्ने निर्णय भएको थियो । सोहि निर्णयको विरोधमा अभिभावकले विद्यालय बन्द गरेका हुन् ।

उक्त विद्यालयमा ३० जना विद्यार्थी अध्ययनरत रहेको विधालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर गुरुङले बताउनुभयो । ‘दरबन्दी पनि कटौती गर्ने, तह पनि घटाउने भएपछि गाउँमा विरोध भयो, विद्यालय पनि बन्द छ,’–उहाँले भन्नुभयो,‘यो विद्यालयको तह घटेपछि जलकुमारी माविमा पढ्नुपर्छ, र त्यहा विद्यालय पुग्न पाखुरेबाट एक घण्टा लाग्छ, साना साना बच्चाहरुलाई कसरी तेत्रो बाटो हिडाउनु ।’ भुगोलको जटिलता रहेकाले तह नघटाउन र साविकको दरबन्दी राखिदिन अभिभावकले माग राख्दै आएका छन् ।

विद्यालयको भवन जिर्ण बनेको र विद्यार्थी पनि कम रहेकाले तह घटाउने निर्णय भएको गाउँपालिकाका कर्मचारी यज्ञप्रसाद कँडेलले बताउनुभयो । विवाद सुल्झाउन भदौ १५ गते छलफलको तयारी भइरहेको उहाको भनाई छ ।

अन्य

भिडियो