INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाकाे कसुरमा मृतकका बुबा र मलामी जानेलाई कैद

सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीलाई दुरुत्साहन गरी आत्महत्या गर्न बाध्य पारेको र कसुरको प्रमाण दबाएको भन्दै उनका बुबासहित १४ जनालाई भदौ १२ गते कैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मृतकका बुबा ४३ वर्षीय मिस्टर प्रसाद चौधरी र सोही ठाउँका ५५ वर्षीय पदम चौधरीलाई दुई महिना १५ दिन कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।

यसैगरी ६२ वर्षीय लक्ष्मीप्रसाद चौधरीलाई १० दिन कैद र ५ हजार रुपियाँ जरिवाना तथा अन्य ११ जना मलामी जानेलाई एक दिन कैद र एक हजार रुपियाँ जरिवाना गर्ने फैसला भएको छ । अदालतबाट एक दिन कैद र एक हजार रुपियाँ जरिवानाको सजाय पाउनेमा सोही ठाउँका ६५ वर्षीय श्यामलाल चौधरी, ७० वर्षीय चन्द्रकान्त चौधरी, ५० वर्षीय चन्दर चौधरी, ७० वर्षीय बिन्तीलाल चौधरी, ७० वर्षीय प्रितिलाल चौधरी, ३५ वर्षीय विशे चौधरी, ३५ वर्षीय सन्तोष थापा, ५० वर्षीय दुर्गानन्द चौधरी, ५० वर्षीय जितु चौधरी, ७० वर्षीय रक्सु चौधरी र ४५ वर्षीय जसिलाल चौधरी रहेका छन् ।

सुशान्तलाई ०७९ भदौ १९ गते उनका बुबा मिस्टरलगायतकाले आत्महत्या दुरुत्साहन गरी कसुरको प्रमाण दबाएको भन्दै इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर शोभनविक्रम राणाले ०७९ भदौ २१ गते इलाका प्रहरी कार्यालय कडरबोनामा प्रतिवेदन दिनुभएको थियो । मादक पदार्थ सेवन गरी बादविवाद गरिरहेका सुशान्तलाई ०७९ भदौ १९ गते राति सोही ठाउँका पदम चौधरीले घर ल्याई सम्झाउँदा सुशान्तले आमा नयनदेवीलाई नै ढुङ्गाले हान्न खोजेपछि मिस्टर र पदमले प्लाष्टिकको डोरीले दुबै हातखुट्टा बाँधेर बाँसको लठ्ठीले कुटेका थिए । बिहान साढे ४ बजे सुशान्तको हातखुट्टाको डोरी खोलेकोमा साढे १० बजे गोठको माथिल्लो तलामा पासोमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका थिए । आरोपितहरूले पासो काटी तल झारी बलान खोला किनारको महुलिया जंगलको खयर झारीमा ०७९ भदौ २० गते सदगद गरेका थिए ।

सुशान्तको हातखुट्टामा बाँधेको डोरीको निलडाम र चोटपटकका कारण फसिने डरले शवलाई प्रहरीको जिम्मा नलगाई आरोपितहरूले सदगद गरी अपराध छुपाउने, प्रमाण दबाउन खोजेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रहरीले आत्महत्या दुरुत्साहन गरी कसुरको प्रमाण दबाएको भन्दै भदौ २१ गते मिस्टर, पदमसहित १४ जनाविरुद्ध उजुरी दर्ता गरेको थियो ।

आरोपित मिस्टर भदौ २१ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा असोज २४ गते अभियोग पत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको असोज २५ गतेको आदेशमा आरोपित मिस्टर पुर्पक्षका लागि २ लाख रुपियाँ धरौटी राखी तारेखमा रिहा भएका थिए । अन्य आरोपितहरू विरुद्ध वारेण्टसहितको म्यादी पुर्जी जारी भएको थियो । न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासमा हाजिर भएका आरोपितहरू पालैपालो ०७९ माघ २४ गते, चैत १४ गते, चैत १५ गते, चैत १९ गते र चैत २१ गते पालैपालो धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अन्य

भिडियो