व्यास नगरपालिका–१३ काजीपोखरी स्थित एमसीसी परियोजनाकाे नाममा रहेको २ सय १० रोपनी जग्गा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिले कब्जा गरेको घोषणा गरेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिका सचिवालय सदस्य एवं गण्डकी प्रदेश सचिवालय सदस्य नेत्र रानाभाट, युवा संगठनका जिल्ला संयोजक अग्नि टाइगर लगायतका नेताहरुले ०८० भदौ १२ गते साँझ उक्त जग्गामा ब्यानर टाँसेर जग्गा कब्जाको घोषणा गर्नुभएकाे हाे।
एमसीसी परियोजना भदौ १३ गतेबाट कार्यान्वयन हुन गइरहेको अवस्थामा उक्त परियोजना कार्यान्वयन गर्न नदिनकोलागि जग्गा कब्जा गरिएको रानाभाटले बताउनु भयो । जसले उक्त जग्गामा गएर निर्माणको काम गर्छ, त्यसलाई पार्टीको नीति अनुसारको कारबाही गरिने रानाभाटले बताउनु भयो ।
एमसीसी परियोजना अन्तर्गत रातमाटे–दमौली–बुटवल खण्डमा बन्ने विद्युत प्रसारण लाइनको सब स्टेशन राख्न उक्त जग्गा सर्वसाधरणबाट खरिद गरिएको थियो । पाँच वर्ष भित्र सम्पन्न गर्ने उक्त परियोजना भदौ १३ गतेबाट कार्यान्वयनमा जाने छ ।
यस अघि उक्त जग्गामा गत जेठ १६ गते नेकपा माओवादी केन्द्रिय जनसत्ताले ब्यानर टाँगेर कब्जाको घोषणा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश विष्टले यसबारेमा आफुले भर्खर मात्र जानकारी पाएको हुँदा यसबारेमा बुझ्न प्रहरी टोलीलाई सम्बन्धीत स्थानतर्फ पठाइएको बताउनु भयो ।

