बन्गाड कुपिण्डे नगरपालिका–१ नाम्राका स्थानीयबासी तीन महिनादेखि खानेपानी पाइप मर्मत नहुँदा भेरी नदीको दुषित र धमिलो पानी पिउन बाध्य भएका छन् ।
तीन वर्षअघि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ४५ लाख र स्थानीयको सात लाख श्रमदान गरी जम्मा ५२ लाखमा निर्मित खानेपानी योजना बिग्रिएपछि अहिले नाम्राका ६० भन्दा बढी घरधुरीले भेरीको पानी उपभोग गर्दै आएका हुन् । बस्ती आसपासमा पानीका मुहान नहुँदा स्थानीय बर्खाकोे धमिलो र दुषित पानी पिउन बाध्य भएका हुन् ।
खानेपानीको लाइनबाट सिँचाइ कुलो ल्याउँदा च्यापिएको, ठाउँठाउँमा पाइप फुटेकाले विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र पर्दा भेरी नदिको पानी पिउदैँ आएको स्थानीय मनिराम विकले बताउनुभयो । ‘वास्तवमा अहिलेका जनताले श्रमदान नगर्ने, सबै अर्कैले गरिदेओस् भन्ने बुझाइले गर्दा यस्तो समस्या आएको हो’ उहाँले भन्नुभयो धारा छन्, पानी आउँदैन्, त्यही भएर भेरीको पानी पिउनु परेको छ । ’
कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्ध गराएमा पुनः खानेपानी योजना सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । विगतमा यहाँका स्थानीयले भेरीको पानी पिउदै आएका थिए । विभिन्न निकायको सहयोगमा तीनवर्ष अघि गाउँमा स्वच्छ पानी पुगेको थियो । तर अहिले फेरी विगत जसरी नै भेरीको पानी पिउनु परेको अर्का स्थानीय ७६ वर्षीया खगपति शर्माले दुखेसो पोख्नुभयो ।
‘बिहे गरी यो ठाउँमा आएको ६० वर्ष भयो, त्यो दिनदेखि भेरी नदीको धमिलो पानी खाँदै आएका थियौँ, गाउँमा योजना आएपछि खानेपानी धारामा आउँदा घरमै खाने, नुहाउने धेरै सजिलो थियो, फेरि योजना बिग्रिएपछि भेरीकै पानी पिउन बाध्य भयौँ’ उहाँले भन्नुभयो । भेरी नदी पारी गरेर पानी ल्याउन नसक्ने भएकाले आफूहरूले भेरी नदीको पानी पिउन बाध्य भएको अर्का स्थानीय रत्ना परियारले बताउनुभयो ।
मानव बस्ती भन्दा ६ किलोमिटर टाढाबाट खानेपानी ल्याउने समस्याको दिगो समाधान हुन नसकेको गङ्गा प्राथमिक विद्यालय नाम्राका प्रधानाध्यापक चित्रकला शर्माले बताउनुभयो । बरु यसको विकल्पको रुपमा भेरीको पानी फिल्टर गरेर लिफ्ट मार्फत गाउँमा लगे सजिलो र कम खर्चिलो हुने उहाँको भनाइ छ । घरमा भएको धारामा पानी नआउँदा विद्यार्थीले भेरी नदीको पानी खान बाध्य भएको उहाँले बताउनुभयो ।
स्थानीय बालकुमारी वलीले भेरी नदीको धमिलो पानी पिउँदा झाडापखाला, ज्वरो लगायत विभिन्न खाले रोग लाग्ने गरेको बताउनुभयो । यता बनगाड कुपिण्डे नगरपालिकाका उपमेयर पुरुषोत्तम आचार्यले नाम्राका स्थानीयले भेरी नदीको पानी पिउन परेको आफूलाई जानकारी नभएको बताउनुभयो । यसको समाधानको लागि पहल गर्ने उहाँको भनाइ छ ।


