कोशी प्रदेशसभाको चालु तेस्रो अधिवेशन भदौ ६ गतेदेखि अन्त्य भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले भदौ ६ गते मध्यराति १२ बजेदेखि प्रदेशसभाको तेस्रो अधिवेशनको अन्त्य गर्नु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले संविधानको धारा १८३ को उपधारा २ बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको बताउनु भयो ।
कोशी सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेश प्रमुख खापुङ्गले अधिवेशन अन्त्य गर्नु भएको हो ।
कोशी प्रदेश सभाको ०८० असार १४ गतेदेखि सुरूआत भएको तेस्रो अधिवेशन पाँच ओटा बैठक बसेर अन्त्य भएको हो ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १५ गते संसदमा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएर सरकार विघटन भएको थियो ।
कोशी प्रदेशसभाले अध्यादेशबाट ल्याएको बजेट भदौ १ गते बसेको बैठकले गत ०८० जेठ ३२ गते अस्वीकृतीको सूचना फिर्ता लिएर स्वीकृतीको प्रस्ताव पारित गरेको थियो ।
संसदमा भदौ ४ गतेको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनु भएको थियो । बैठकको अध्यक्षता गर्नु भएका इस्राइल मञ्सुरीले मत बराबरी भएको अवस्थामा मुख्यमन्त्री थापालाई मत दिनु भएको थियो ।
बैठकको अध्यक्षता गरेको व्यक्तिबाट मतदान हुनुलाई असंवैधानिक कार्य भन्दै प्रतिपक्ष नेकपा एमाले र राप्रपाले भदौ १६ गतेको बैठक बहिष्कार गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
प्रदेश सरकारले राजश्व पनि उठाउन नसक्ने र खर्च गर्न पनि नसक्ने भएकाले ०८० जेठ ३२ गते अध्यादेशबाट ल्याएको बजेट खारेज गरेर पुनः अध्यादेशबाट बजेट ल्याउने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य भएको हो ।
