
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान र एडभोकेसी फोरम नेपाल, मधेस प्रदेशका प्रदेश संयोजक राजकुमार महासेठको टोलीले भदौ ४ गते जिल्ला कारागार कार्यालय, पर्साको स्थलगत अनुगमन गरेको छ ।
कारागारको स्थलगत अनुगमनको क्रममा टोलीले कारागारका निमित्त प्रमुख र चौकीदारहरूसँग छलफल गरी कारागार र कैदी तथा बन्दीहरूको आवस्थाको बारेमा जानकारी लिएको हो ।
जिल्ला कारागारको क्षमता १ हजार १ सय भएपनि भदौ ४ गतेसम्म १ हजार ६ सय ६६ जना कैदी बन्दी रहेको र निजहरूलाई मुख्य गरी बारा र पर्सा जिल्ला अदालतबाट पठाउने गरेको कारागारका निमित्त कार्यालय प्रमुख एवं ना.सु. नवराज बर्तौलाले बताउनु भयो । जसमध्ये थुनुवा पुरुष ७ सय ६९ र महिला २९ जना रहेका छन् । कैदी पुरुष ६ सय २४ र महिला ४२ जना रहेका छन् । यसका साथै महिला बन्दीसंगै आश्रित दुई जना बालिका रहेका छन् ।
कारागारमा रहेको पुरुष ब्लकका चौकीदार दिनेश साह सोनारले पुरुष कैदी र बन्दीलाई राख्ने १० ओटा ब्लक रहेकोमा एउटा ब्लकमा १ सय देखि १ सय ५० जना सम्मलाई राखिएको बताउनु भयो । पुरानो तथा जीर्ण भवनका कारण घर चुहिने गरेको र ब्लक तथा भवन भत्कीने त्रासमा कैदी बन्दी बस्नु परेको उहाँले दुःखेसो पोख्नु भयो ।
कारागारमा शौचालय र स्वास्थ्य उपचारमा समस्या रहेको हुँदा कारागारमा शौचालय र कारागार छेउमै अस्पतालको व्यवस्थाका लागि पहल गरिदिनु हुन इन्सेक प्रदेश संयोजक पासवानलाई कारागारका चौकीदार सोनारले आग्रह गर्नु भयो ।
त्यसैगरी कारागारमा रहेको महिला ब्लकका चौकीदार विद्या चौधरीले महिला कैदी बन्दीका लागि एउटा मात्र बलक छुट्याइएको र सो ब्लकमा आठ ओटा मात्र कोठा रहेकोले बस्न समस्या भइरहेको बताउनु भयो । कारागारमा ट्वाइलेट र खाने पानीको समस्या रहेकोले यस्तो समस्या समाधानका लागि पहल गरिदिनु हुन चौकीदार चौधरीले टोलीलाई आग्रह गर्नु भयो ।
