INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक मधेस प्रदेशको नेतृत्वमा बाल सुधार गृहको अनुगमन

369481817_1289906141730509_6915029223593557368_n

वीरगंज महानगरपालिकामा रहेको मधेस प्रदेशको एक मात्र बाल सुधार गृहको इन्सेक नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

बाल सुधार गृहको क्षमता ५० जनाको रहेको छ । तर, १ कठ्ठा १८ धुरमा रहेको बाल सुधार गृहमा हाल थुनुवा ९९ र कैदी ३२ गरी १ सय ३१ जना रहेका छन् । जसम्धे १८ वर्ष उमेर पुगेका ५१ जना छन् ।

बाल सुधार गृह, वीरगंजमा क्षमता भन्दा बढी कैदी—बन्दी र आवश्यक भौतिक संरचना नभएका कारण सुत्न र बस्न लगायतका समस्याहरू रहेको बाल सुधार गृहका प्रमुख टिका कृष्ण काफ्लेले बताउनु भयो । २०७५ भदौ महिनादेखि सुरु गरिएको बाल सुधार गृहमा आठ ओटा सुत्ने कोठा र दुई ओटा भान्सा कोठा र एक सुरक्षाकर्मी बस्ने कोठा रहेको उहाँले बताउनु भयो ।

जबरजस्तीकरणी, लागु औषध, कर्तव्य ज्यान, सवारी ज्यान र चोरी जस्ता घटनामा संलग्न आरोपित र कसुर ठहरिएका बालकहरू बढी रहेको बाल सुधार गृहका प्रमुख काफ्लेले बताउनु भयो । उहाँका अनुसार सिरहा, सर्लाही र रौतहटाका बालकहरू बढी रहेका छन् ।

बाल सुधार गृह वीरगंजमा तीन कर्मचारी र दुई सहयोगी रहेका छन् भने असइको नेतृत्वमा सात जना जनपथ प्रहरी सुरक्षामा रहेका छन् । लागु औषध कारोबार गरेका आरोपित रौतहटका एक १० वर्ष भन्दा कम उमेरका बालक समेत बाल सुधार गृहमा रहेको पाइएको छ ।

बाल सुधार गृहमा एक जना बालक क्षय रोग विरामी रहेको र उक्त बालकलाई अस्पतालमा पठाएर उपचार गराइरहको बाल सुधार गृहका प्रमुख काफ्लेले बताउनु भयो । क्षयरोग सरुवा रोग भएको र बाल सुधार गृहमा यस्ता विरामी राख्दा अरुलाई पनि सर्ने भएकोले न्यायाधीशलाई उक्त विरामी बालकलाई अभिभावकको जिम्मा लगाउन पत्र मार्फत अनुरोध गरेपनि सुनुवाइ नै नभइरहेको हुँदा इन्सेकले यो विषयमा पहल गरिदिन उहाँले आग्रह गर्नु भयो । त्यस्तो विरामीलाई छुट्टै राख्ने ठाउँ पनि नरहेको उहाँको भनाइ थियो ।

बलबालिका सम्बन्धी ऐन २०७५ ले १४ वर्ष मुनी उमेर समूहका बालबालिकाहरूलाई थुनछेक प्रयोजनका लागि बाल सुधार गृहमा राख्न नपाइने व्यवस्था हुँदाहुँदै पनि १४ वर्ष मुनिका बालकहरू समेत अदालतको आदेशमा पठाइ दिने गरेको र अहिले पनि बाल सुधार गृहमा चार—पाँच जना बालक १४ वर्ष मुनिका पठाएकाले यसमा पनि इन्सेकले अदालका न्यायाधीशसँग समेत यस विषयमा छलफल गर्न बाल सुधार गृहका प्रमुख काफ्लेले अनुरोध गर्नु भयो ।

बाल सुधार गृह, वीरगंजको स्थलगत अनुगमन इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान र एडभोकेसी फोरमका प्रदेश संयोजक राजकुमार महासेठले गर्नु भएको थियो ।

अन्य

भिडियो