INSEC Online

📅 २०८३ जेष्ठ २१

त्रिपालको भरमा रात काट्दै छन् रिगाउँका विस्थापित

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१, रिगाउँबासी घर छाडेको एक साता बितिसक्दा पनि त्रिपालको भरमा बस्न बाध्य भएका छन् । बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरू समेत त्रिपालको भरमा रात बिताइरहेकोले स्थानीय सरकार, जिल्ला विपद व्यवस्थापन समितिको ध्यान जान नसकेपछि सामस्या हुन थालेको छ ।

Photo_080-5-4_Dhading

रिगाउँमा गाउँको माथिबाट गाउँ नै बग्ने गरी जमिन भासिएपछि गाउँ छाडेकाहरू पुन गाउँ फर्किन नसकेको अन्जिता तामाङ बताउनुहुन्छ । सबै तामाङ समुदायको बसोवास रहेको सो गाउँमा ५३ घर परिवारले त्रिपालमा रात काटिरहेको स्थानीय खसार्की तामाङले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले जमिन भासिएर विस्थापित भएको गाउँमा त्रिपाल उपलब्ध गराएको थियो तर हालसम्म पनि उनिहरूको बैकल्पिक व्यवस्थाबारे स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समितिले बेवास्था गर्दा विस्थापितहरू समस्यामा परिरहेका छन् । गाउँबासी धेरैजसो छिमेकी टोलमा आफन्तको घर छेउमा त्रिपाल हालेर बसेका छन् भने केही बारिको पाटामा त्रिपालको भरमा रात काटिरहेका छन् ।

लगातार तीन दिनको वर्षाको कारण साउन २९ गते जमिन भासिएपछि गाउँबासी विस्थापित भएका थिए । दिउँसो छिटो भाग्न सक्नेहरू आफ्नो घरमा गएपनि सरसामान भने झिक्न सकेका छैनन् । गाउँ नै पहिरोले लान्छ कि भनेर त्रासमा बसिरहेको स्थानीयहररूको भनाइ छ । केही परिवार सामुदायिक भवनमा बसेका छन् भने केही परिवार रिगाउँ माविको पुरानो भवनमा आश्रय लिएर बसिरहेकोले वडाले गाउँपालिकामा पटक पटक भनेपनि समसयाको समाधान हुने गरी काम नभएको वडा अध्यक्ष बहादुर तामाङले बताउनु भयो ।

भासिएको जमिनको भाट बढ्दै गएको छ । बढ्दै गएमा गाउँ नै पहिरोमा परेर ठूलो क्षति हुने भएकोले गाउँबासी घरमा बस्न नसकेको स्गथानीय शिक्षक राजेन्द्र जोशीले टेलिफोनबाट इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले त्रिपाल र म्याट बाँड्नु बाहेक जोखिममा बसेका गाउँबासीका लागि अरु कुनै व्यवस्था गरेको छैन ।

गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा र उपाध्यक्ष रामेश्वर सिंखडा गाउँबासी पहिरोले रात घरमा नसुते पनि दिउँसो खेतबारीमा जाने गरेका कारण अब घटना सामान्य भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जोखिम कम हुँदै गएकोले अब प्राविधिकको रिपोर्ट आएपछि मात्र व्यवस्थापनका लागि लाग्ने बताउनु भयो ।

भासिएको स्थानमा भु तथा जलाधार कार्यालयका प्राविधिकहरूको टोलीले रिपोर्ट तयार गरिरहेको भन्दै अध्यक्ष लामाले जिल्लाको टोली भदौ ९ गते अनुगमनमा जाने कुरा भएको जानकारी दिनुभयो । बस्तीसँगै रहेको रिगाउँ माध्यामिक विद्यालय र गाउँको खानेपानी ट्याङ्की पनि जोखिममा छ । विद्यालयको २ ओटा भवन मध्ये २० कोठे नयाँ भवन र दुई वर्षअघि निर्माण गरिएको खानेपानीको ट्याङकी पनि बगाउने जोखिम छ ।

Photo_080-5-4_Dhading1

अन्य

भिडियो