INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

लगातारको वर्षा सँगै निर्माणाधिन सडक पहिरोले बगाउँदा पर्वतको फलेवास नगरपालिका– २ थापाठानामा सञ्चालित थापाठाना माध्यमिक विद्यालयका तीन ओटा भवन पुरिएका छन् । पहिरोले भवन पुरेपछि बालबालिकालाई पठनपाठनमा समस्या भएको छ ।

विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको नौडाँडा कार्कीनेटा फलेवास जैमिनी सडकबाट खसेको पहिरोले तीन ओटा भवनका आठ ओटा कक्षाकोठा  पुरिएका हुन् । भवन पुरिँदा विद्यालयका तीन ओटा कक्षा कोठा फर्निचर सहित पूर्ण रुपमा पुरिएका छन् भने अन्य ५ ओटा कक्षा कोठा बालबालिकालाई राखेर अध्यापन गराउन नमिल्ने गरी क्षति पुगेको विद्यालयका शिक्षक गणेश शर्माले जानकारी दिनुभयो ।

पहिलो पटक ०८० असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । त्यही ठाउँमा साउन २२ गते गएको पहिरोले थप क्षति पुर्‍यएको हो । पहिरोले विद्यालयको खेलकुद ग्राउण्ड समेत पुरिँदै गएको छ । हाल विद्यालयमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन् । इसिडि कक्षा देखि कक्षा आठ सम्म अध्यापन गराउँदै आएका भवन पुरिएपछि अहिले विद्यालयको पुस्तकालय कक्ष, कम्प्युटर ल्याब कक्ष, मञ्च लगायतका स्थानहरु प्रयोग गरेर पठनपाठन गराउँदै आएको शिक्षक शर्माले जानकारी दिनुभयो ।

‘जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ,’ शिक्षक शर्माले भन्नुभयो ‘दुई÷तीन ओटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।’

व्यवस्थित कक्षाकोठा नहुँदा विद्यार्थीहरुको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो । व्यवस्थापनका लागि नगरपालिका र सम्बन्धीत शाखामा जानकारी गराइएको तर अहिले सम्म कुनै निकास नभएको शिक्षक शर्माले बताउनुभयो ।

169243633677916924363367551692436336772

अन्य

भिडियो