दैलेख जिल्ला अदालतले छ महिना अघि पत्नीको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ लालीकाँडाका २९ वर्षीय कृष्णबहादुर खड्कालाई भदौ २ गते जन्मकैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदारलाई जन्मकैद भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
२७ वर्षीया पत्नी पार्वती बीसीको ०७९ फागुन १ गते हत्या गरेको पुष्टि भएको भन्दै कसुरदारलाई जन्मकैद (२५ वर्ष) काराबास बस्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपियाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख छ ।
मागी विवाह ०७९ मंसिर २६ गते भएको दम्पतिको घरायसी विवादमा सुत्ने कोठामा राति लाठी घातक बस्तुले हिर्काइ हत्या गरेको अवस्थामा फेला परेको थियाे । मृतकको शव फागुन २ गते दैलेख अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।
घटनाको सम्बन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले फागुन २६ गते दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोग दर्ता गराएको थियो ।
थुनछेक बहसपछि फागुन २८ गते जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागार पठाएको थियो ।