INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा कैदी मृत्यु घटना: इन्सेकद्वारा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु घटनाको इन्सेकले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

Photo20230817 Morang

इन्सेक कोशी प्रदेश कार्यालयले साउन ३२ गते विराटनगरमा एक कार्यक्रम गरी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको ०८० साउन २४ गते मृत्यु भएको घटनामा इन्सेक कोशी प्रदेश कार्यालयले साउन २६ गतेदेखि २८ गतेसम्म स्थलगत अध्ययन र अनुगमन गरेको थियो ।

स्थलगत अध्ययन र अनुगमनका आधारमा इन्सेकले साउन ३२ गते यातनाबाट कैदीको मृत्यु भएको निश्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

कारागारमा कैद भुक्तान गरिहेका सङ्खुवासभाकै मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते मृत्यु भएको घटनाको इन्सेक कोशी प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको थियो ।

स्थलगत अनुगमन टोलीले पीडित परिवार, सरकार प्रतिनिधि, प्रत्यक्षदर्शीका भनाइ, छानविन समितिका पदाधिकारी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, पत्रकारलगायतसँग भेट गरी घटनाको स्थलगत अध्ययन र अनुगमन गरी विराट फर्किएर प्रतिवेदन सार्वजनिक गरेको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताउनु भयो ।

स्थलगत अध्ययन प्रतिवेदनका आधारमा दुई जना कैदीको भाग्न खोजेको आरोपमा कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि यातना दिएको र कारागारभित्र बुझाएपछि थप कुटपिटबाट कैदीको मृत्यु भएको आधारहरू भेटिएको प्रमुख थापाले बताउनु भयो ।

मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते बिहान उपचारका क्रममा मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।

भाग्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कैदीको अस्पतालमा मृत्यु भएको विषय शङ्कास्पद देखिएकाले इन्सेकले घटनाको स्थलगत अनुगमन गरेको इन्सेक कोशी प्रदेश प्रमुख थापाले बताउनु भयो ।

इन्सेक अनुगमन टोलीले मृतक विनोदका ३० वर्षीय दाजु प्रकाश तोलाङ्गी, ५९ वर्षीया आमा खुलमाया तोलाङ्गी, २८ वर्षीया दिदी भीमा रम्तेल, मृतक प्रकाश बलामीका ३५ वर्षीय दाजु रमेश बलामी,  छिमेकी सञ्जीव कार्की, प्रत्यक्षदर्शी खाँदवारी नगरपालिका–१ की ३८ वर्षीया शारदा न्यौपाने बजगाई, गृहमन्त्रालयद्वारा गठित छानविन समिति संयोजक कमलप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदार, कारागा प्रशासक राजेन्द्र घिमिरे, मादी नगरपालिकाका मेयर जीवन लिङथेप, जिल्ला अस्पतालका अहेब डाक्टर सुरज पोखरेल, राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश विराटनगर कार्यालय, निर्देशक पवनकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, सङ्खुवासभाका प्रमुख अनुसन्धान अधिकृत उमेश पाण्डे, एड्भोकेसी फोरम,काठमाण्डौँका अधिवक्ता कुमारप्रसाद थपलियालगायतसँग घटनाको विषयमा जानकारी लिएर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले सुझावसमेत दिएको छ ।

इन्सेकले घटनामा संलग्न रहेका सुरक्षाकर्मीलाई तत्कालै अनुसन्धानको प्रक्रिया ल्याउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानविन गर्न, कारागारको आन्तरिक प्रशासनका नियम कानुन मानव अधिकारमैत्री बनाउन, देशभरका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएको विषयमा ध्यान पुर्‍याउन, कारागारमा स्रोत साधनको उचित व्यवस्था गर्नु र  कागजमा सीमित खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।

इन्सेकको अनुगमन टोलीमा इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापा, प्रलेख अधिृकत पुण्य अधिकारी, इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्की र अधिकारकर्मी कृष्ण बाँस्कोटा हुनु हुन्थ्यो ।

Photo 20230817 Morang (23)
जिल्ला कारागार खाँदवारी, सङ्खुवासभामा कैदीको मृत्युका विषयमा इन्सेकले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम ।

Photo 20230817 Morang (24)

Photo 20230817 Morang (25)

Photo 20230817 Morang (29)

Photo 20230817 Morang (32)

Photo 20230817 Morang (33)

Photo 20230817 Morang (35)

Photo 20230817 Morang (37)

Photo 20230817 Morang (42)

Photo 20230817 Morang (48)

Photo 20230817 Morang (50)

Photo 20230817 Morang (59)

Photo 20230817 Morang (60)

Photo 20230817 Morang (61)

Photo 20230817 Morang (62)

Photo 20230817 Morang

अन्य

भिडियो