INSEC Online

📅 २०८३ जेष्ठ २१

पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती

भागेश्वर गाउँपालिका–५ चुल्ल र सिराड जोड्ने सिराड खोलामा पुल नहुँदा यस क्षेत्रका स्थानीय ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य भएका छन् । खोलामा पुल निर्माण नहुँदा यस क्षेत्रका ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र विद्यालय जाने बालबालिकाहरु थप जोखिममा रहेका छन् ।

वर्षाको समयमा गर्वभती तथा सुत्केरीहरुलाई अस्पताल लैजान समस्या हुने गरेको स्थानीय जानकी भट्टले गुनासो गर्नु भयो । ‘पुल छैन । खोलामाथि ओहोरदोहोर गर्न काठे पुल बनाएका छौँ । त्यसबाट खस्यो भने ज्यानै जाने सम्भावना छ ।’-उहाँले भन्नु भयो ।

वर्षातको समयमा विद्यार्थीलाई पठनपाठन गर्नका लागि अर्को विद्यालयमा जान समेत असहज हुने गरेको छ । कक्षा ८ सम्म चुल्ल गाउँमै भागेश्वर आधारभूत विद्यालय भए पनि मावि तहको शिक्षा अध्ययनका लागि यहाँका विद्यार्थीहरूलाई सरस्वती मावि बागरकोट वा शारदा मावि सिराड जानुपर्ने विद्यार्थीहरु वर्षातको समयमा विद्यालय जान बन्द गर्नु पर्ने बाध्यता छ ।

खोलामा पुल नहुँदा विद्यालय जानुअघि आकाश हेरेर आफ्ना नानीबाबुलाई विद्यालय पठाउने गरेको स्थानीय जानकीदेवी लोहारले बताउनु भयो । ‘कति दिन त हाम्रा नानीबाबु उतै थुनिएका छन् । वर्षामा झरी परिरहन्छ । कतिबेला खोला उर्लिएर आउँछ थाहै हुदैन। स्कुल गएका छोराछोरी घरमा नपुगुन्जेलसम्म बाटो कुरेर बस्ने गरेका छौँ ।’-उहाँले भन्नु भयो ।

खोलामा पुल नहुँदा विद्यार्थीहरू नियमित विद्यालय जानबाट वञ्चित हुनु परेको र वर्षातको समयमा नियमित स्कुल जान नसकेको कारण पढाई कमजोर हुँदै गएको विद्यार्थी मुकुन्द भट्टले बताउनु भयो ।

सिराड गाडमा पुल बन्न नसकेका कारण नागरिकको ज्यान नै जाने अवस्था सृजता भएको र सिफारिसहरु लिनका लागि डिराडका स्थानीयहरुले जोखिम मोलेर जानु पर्ने बाध्यता भए पनि सरकारले ध्यान नदिएको स्थानीय राम भट्टले गुनासो गर्नु भयो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले सिराड खोलामा पुल नहुँदा यस ठाउँका नागरिकले धेरै समस्या झेल्नु परेकाले पुल निर्माण गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने बताउनु भयो । भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले सिराड खोलामा यस वर्षको बजेटबाट झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको बताउनु भयो ।

photo20230815dadeldhura (1)

photo20230815dadeldhura (2)

अन्य

भिडियो