INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै

स्थानीय तहमा रहेको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिलाई दिइएको अधिकार क्षेत्र भित्रका विवादलाई समाधान गरि सहज रूपमा न्यायमा पहुँच स्थापित गर्न न्यायिक समितिले प्रभावकारी रुपमा भूमिका निर्वाह गरेको कावासोती नगरपालिका उप प्रमुख एवं न्यायिक समिति संयोजक फुलकुमारी थनेतले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा कावासोती नगरपालिकाको न्यायिक समितिमा १ सय ८१ ओटा उजुरी दर्ता भएका थिए । दर्ता भएका मध्ये ९१ ओटाको मेलमिलापको माध्यमबाट समाधान गरिएको र ६९ ओटा प्रक्रियामा रहेको न्यायिक समिति संयोजक थनेतले बताउनुभयो ।

दर्ता भएका मध्ये मेलमिलापको माध्यमबाट समाधान नभएका ५ ओटा विवाद अदालती प्रक्रियामा गएको छ । १६ ओटा विवादको मेलमिलापको समय तोकिएपछि सम्पर्कमा नआएपछि तामेलीमा रहेको न्यायिक समिति संयोजक थनेतले बताउनुभयो ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै लेनदेन सम्बन्धी ४९ ओटा विवाद दर्ता भएका थिए । यसैगरी जग्गा सम्बन्धी ४८ , पारिवारिक ३३, साँध सिमानासम्बन्धी १९, बाटो सम्बन्धी १३ लगायतका विवाद न्यायिक समितिमा दर्ता भएका थिए ।

दर्ता भएका उजुरीलाई न्यायिक समिति मार्फत मेलमिलापको माध्यमबाट समाधान गर्दा सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्ने र सहज रुपमा विवादको समाधान हुने न्यायिक समिति संयोजक थनेतले बताउनुभयो ।

न्यायिक समिति मार्फत विवाद समाधान हुँदा न्यायमा पहुँच नहुने कतिपयले सरल रुपमा न्याय प्राप्त गर्ने कावासोती नगरपालिका न्यायिक समिति सदस्य युवराज गैरेले बताउनुभयो । ‘अदालती प्रक्रियामा गए  झन्झटिलो , खर्चिलो पनि हुन्छ, यहाँ सहज रुपमा विवादको समाधानका लागि पहल गरिन्छ’ गैरेले भन्नुभयो ‘अदालतको पहुँचमा पुग्न नसकेका धेरैका लागि सरल रुपमा न्याय पाउने ठाउँ न्यायिक समिति बनेको छ ।’

अन्य

भिडियो