INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वमा बेपत्ता भएका छोराको खोजी गर्दै सदरमुकामसम्म

‘दुई दशक बित्न लाग्यो, न लास छ, न सास छ, खबरसम्म पनि पाइएन ।’, आफ्नो छोराको खोजीमा सदरमुकाम चौतारामा भौतारिरहनुभएकी चौतारा सागाचोकगढी नगरपालिका-४, कुबिण्डेकी ७२ वर्षीया तुलसाकुमारी नेपालले उल्लेख गर्नुभयो ।

Photo_080-4-26_Sindhupalchok
बेपत्ता भएका माधव नेपाल

साविक कुबिण्डे गाविस हाल चौतारा सागाचोकगढी नगरपालिका-४ की तुलसाकुमारी नेपालले सशस्त्र द्वन्द्वमा आफ्नो कोखबाट जन्माएको दुई छोरा गुमाउनुभएको छ । तुलसाकुमारीको कान्छो छोरा २१ वर्षीय माधव नेपाल (अखिल) क्याम्पस पढ्न काठमाडौँ गएको बेला ०६० मङ्सिर १२ गते काठमाडौँ महानगरपालिका-३५, कोटेश्वरबाट तत्कालिन शाही नेपाली सेनाले माओवादी भएको आरोपमा गिरफ्तार गरी लगेकोमा हाल सम्म बेपत्ता छन् ।

माधव नेपाल तत्कालिन समयमा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी तुलसाकुमारीको जेठा छोरा २५ वर्षीय प्रेम नेपाल (प्रमोद)लाई ०६१ फागुन ८ गते द्वन्द्वको क्रममा सेनासँगको भिडन्तमा खोटाङ्ग जिल्लाको ऐसेलुखर्क गाविसको जङ्गलमा मारिएका थिए । प्रेम नेपाल तत्कालिन नेकपा माओवादीको छैटौँ बटालियनको सहायक कमाण्डर हुनुहुन्थ्यो ।

जेठा छोरा लडाइमा मारिएको भन्दै तुलसाकुमारीले मन बुझाउनुभएको छ । तर कान्छो छोरा पढ्न भनि काठमाडौँ गएकोमा अहिलेसम्म घर फर्किनुभएन । उहाँलाई त्यसैको ठूलो पिरलो छ । बेपत्ता छोराको खोजिको लागि धेरै पटक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय मात्र होइन राष्ट्रिय मानव अधिकार आयोगसम्म पटक पटक तुलसाकुमारी पुगेको बताउनुहुन्छ । जहाँ पुगे पनि छोराको अवस्था बारे हलसम्म जानकारी नपाएपछि लास या सासको खोजि गर्दै उहाँ एक्लै सदरमुकाम तिर भौतारिरहनुभएको हो ।

‘रेडक्रसको अन्तर्राष्ट्रिय समिति, बेपत्ता आयोग लगाययत अन्य सङ्घ संस्थाहरूसँग छोराको अवस्था बारे बुझिदिन आग्रह गर्दा समेत कुनै पत्तो लागेन’, तुलसाले गुनासो गर्नुभयो । ‘तत्कालिन युद्धको समयका द्वन्द्वरत पक्षहरू अहिले सरकारमा एकै ठाउँमा छन् । अहिलेको सरकारले सास या लास देखाइदिए हुन्थ्यो । मरेकै भएपनि किरिया गर्न पाउँथे’, उहाँको दुखेसो छ । ‘बेपत्ता छोराको वियोगको पीडाले बुबा कृष्णहरि नेपालको चार वर्ष अघि मृत्यु भयो । आफ्नो पनि छोराको खोजी गर्दागर्दै कतिखेर मर्ने हो’, उहाँले भन्नुभयो ।

आफ्नो बेपत्ता छोराको अवस्था सार्वजनिक गरिदिन तुलसाकुमारी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी कार्यालय, पेरिसडाँडा पुगेर अनुरोध समेत गर्नुभयो । तर प्रचण्डले आश्वासन मात्र दिएको उहाँको गुनासो छ । त्यसो त प्रचण्ड कुबिण्डे स्थित श्री सेतिदेवी पञ्चकन्या माविको वार्षिक उत्सव समारोहमा आउँदा बेपत्ता परिवार समाजको तर्फबाट तुलसाकुमारीलाई पनि एउटै मञ्चमा राखियो । त्यतिखेर प्रचण्डसँग एउटै मञ्चमा रहँदा पनि ‘बेपत्ता छोराको अवस्था कहिले सार्वजनिक हुने हो ?’ भनेर आफूले प्रचण्डलाई सोधेको कुरा तुलसाकुमारी बताउनुहुन्छ । त्यतिखेर पनि तुलसाकुमारीलाई प्रचण्डले आश्वासन मात्र दिएको उहाँको भनाई छ ।

‘सशस्त्र द्वन्द्वको अवस्थामा जतिखेर शान्तिवार्ता चलिरहेको थियो त्यतिखेर राज्यले बेपत्ता बनाएका व्यक्तिहरू सार्वजनिक गर्दै माओवादी कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए तर अहिले माओवादीकै नेतृत्वमा सरकार छ । अब हामी कहाँ घेर्न जाने हो ?’, तुलसाको प्रश्न छ ।

झण्डै बीस वर्षदेखि छोरा हराएको र खोजिको निम्ती धेरै पटक धेरै ठाउँमा धाइसकेको तर कतैबाट पनि सुनुवाई नभएको उहाँको दुखेसो छ । यसरी पटक पटक आग्रह गर्दा पनि जानकार निकायबाट कुनै जानकारी नपाएको बताइएकाले अब देशमा कानुन नभएको अनुभव तुलसाकुमारी नेपाललाई भएको छ ।

आँखाबाट आँशु झार्दै उहाँले भन्नुभयो, ‘मेरो छोरा बेपत्ता बनाउने सुरक्षाकर्मी पनि म जस्तै आमाका छोरा हुन्, अलिकति पनि दया भएदेखि मेरो छोराको मुख हेर्न दिनुस् । जुत्ताको तुनामा झुण्डिएर मान्छे मरेको समाचार आइरहेका छन् मैले मेरो छोरो जुत्ताको तुनामा झुण्डिएर मरेको समाचार सुन्न नपरोस ।’

खेतिपाती लगाउने समय, साउने झरीको समेत पर्वाह नगरी छोराको खोजिका लागि सदरमुकाम पुग्नुभएकी तुलसाकुमारी कहिले जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ त कहिले अधिकार कर्मी र पत्रकारसँग मेरो छोरा देख्यौ त बाबु हो ?, भनेर प्रश्न गर्नुहुन्छ ।

सशस्त्र द्वन्द्व समाप्त भएर शान्ति प्रक्रिया शुरु भएको पनि धेरै वर्ष बित्यो, तर पनि बेपत्ता परिवारजनको पिडा यथावतै भएकोमा जिल्लाका नागरिक समाज चिन्तित भएको नेपाल बार इकाइका अध्यक्ष भुपेन्द्र थिङ्गको चिन्ता छ । जिल्लाका सबै बेपत्ता परिवारको एउटै पीडा रहेको अध्यक्ष थिङ्ग बताउनुहुन्छ ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा मात्र सिन्धुपाल्चोक जिल्लाका २१ जना नागरिकहरू द्वन्द्वरत पक्षहरूबाट बेपत्ता भएको इन्सेकको अभिलेख छ । दुवैपक्षबाट बेपत्ता बनाइएका नागरिहरूको हालसम्म कोहीकसैको पनि सार्वजनिक गरिएको छैन ।

दश वर्षे द्वन्द्वमा बेपत्ताका परिवारहरूले बेपत्ता आफन्तको अवस्था सार्वजनिक गर्न धेरै पटक सदरमुकाम आएर सरोकारवालासँग आफ्नो सङ्गठित आवाज बुलन्द गरे तर उनिहरूको आवाज कसैले सुनेनन् । देशमा व्यवस्था, सरकार लगायत सबै परिवर्तन भयो, तर आफ्नो जीवनमा परिवर्तन नभएको मात्र होइन र हामीहरूको आवाज सुन्ने राज्य व्यवस्था नै नभएको बेपत्ता छोराको खोेजी गर्दै सदरमुकाम पुग्नुभएकी तुलसाकुमारी नेपालको भनाई छ ।

Photo_080-4-26_Sindhupalchok1
इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालसँग आफ्नो भनाई राख्नुहुँदै कुबेण्डेकी द्वन्द्वपीडित तुलसाकुमारी नेपाल

अन्य

भिडियो