जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीको राज्यको नियन्त्रणमा रहेका बेला शङ्कास्पद मृत्यु भएकाले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न नागरिक समाजसहित विभिन्न पक्षले माग गरेका छन् ।
जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका संखुवासभा, मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश वलामीको ०८० साउन २४ गते भएको शङ्कास्पद मृत्यु घटनाको वस्तुनिष्ठ छानविन गरी दोषीलाई कारवाही गर्न विभिन्न क्षेत्रले माग गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाज नेपालका सभापति लोकदर्शन शाक्य र सहसचिव सुरज ठटालद्वारा साउन २५ गते जारी विज्ञप्तिमा कारागारमा ज्यान जानु भनेको मानव अधिकारको उपहास भएकाले घटनाको वस्तुनिष्ठ छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

नेपाल दलित सङ्घ, मुक्ति समाज, नेपाल दलित मुक्ति मोर्चा र दलित मुक्ति सङ्गठनले साउन २५ गते संयुक्त विज्ञप्ति जारी गरी घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । विज्ञप्तिमा पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको छ ।
दलित सम्वद्ध सङ्घसंस्थाका प्रतिनिधिहरूले साउन २५ गते प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कार्कीले घटनाको छानविन निश्पक्ष गरी हुने र प्रशासनले गठन गरेको समितिले काम सुरु गरेकाले सरकारलाई विश्वास गर्न आग्रह गर्नु भएको छ ।
पीडित परिवारले साउन २५ गते शव बुझ्न अस्वीकार गरेपछि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

घटनाको इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले साउन २६ गते स्थलगत अनुगमन गर्ने भएको छ ।