INSEC Online

📅 २०८३ जेष्ठ २१

जुम्लामा कुपोषणको समस्या विकराल

कुपोषित बालबालिका र बच्चाका आमा महिलै महिलाहरुको बीचमा चार बर्षे छोरी स्याहार्दै एक जना पुरुष । बालबच्चा स्याहार्नु बाबु को पनि जिम्मेवारी हो । तर सानै दुधे छोरीलाई आमाले छोडेर गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सञ्चालन गर्दै आएको पोषण सुधार गृह तथा पुर्नस्थापना गृहमा छोरी स्याहार्दै आउनु भएको छ हरिलाल बुढा । बालबच्चाको स्याहार सुसार गर्ने पुरुषको जिम्मेवारी भएपनि दुध खाने बच्चा बढी आमाकै काँखमा हुनु पर्ने हो । तर हरिलालकी छोरीले एक वर्ष नपुग्दै आमा काँख माया ममता पाईनन् ।

गुठीचौर गाउँपालिका – २ मुरुल्ली गाउँका २४ वर्षीय हरिलाल बुढा ४ वर्षीया छोरी स्याहार्दा आउनु भएको छ । एक वर्ष नपुग्दै पत्नी (छोरीकी आमा) ले अर्काे विवाह गरेर घर छोडेपछि छोरी स्याहार्दै आएका हुन् । छोरीलाई अहिले आमा बुवाको माया ममता हरिलाल नै दिदै आउनु भएको छ ।

हरिलालको घर यहाँको मुकाम खलंगादेखि पूर्वी विकट दुर्गम भेगमा पर्दछ । त्यो ठाउँमा अहिले कच्ची सडक पुगेपनि नियमित सवारी साधन सञ्चालन हुदैनन् । दुर्गममा घर । सानो झप्रो घरमा अरु कोही पनि छैन् । बाबु र छोरी मात्रै ।

खेतीयोग्य सिचाई हुने जमिन पनि छैन । आकाशे बर्षाको भरमा बालीनाली लगाउने भएकाले उत्पादन पनि बाह्रै महिना पुग्ने हुदैन । वर्षमा एउटा बाली आलु, सिमि, कोदो, कागुनो, सिमि, गहु जौ मात्रै उत्पादन हुन्छ ।

एक वर्ष नपुग्दै छोरीलाई आमाले छोडेपछि सानैमा दुध खान पाइनन् । अहिले छोरीलाई कुपोषण भएको छ । उहाँले छोरीलाई दुई हप्तादेखि कर्णाली स्वास्थ्या विज्ञान प्रतिष्ठान जुम्लाको पोषण सुधार तथा पुर्नस्थापना गृहमा भर्ना गर्नु भएको छ ।

छोरी सानै हुदा आमाले छोडेर गएपछि गाईभैसी र बाख्राको दुध खुवाउदै अहिलेसम्म हुर्काउदै आएको उहाँले दुखेसो पोख्नु भयो । उहाँले भन्नुभयो घरमा गाईभैसी पनि पालेको थिइन । कति अर्कासँग गाईभैसी दुध मागेर खुवाउनु भनेर ज्याला मुजदुरी गरेर जम्मा गरेको १५ हजार रुपियाँ हालेर धेरै दुध दिने एउटा माल बाख्रो किने । एक थुन छोरीले खाने अर्काे थुन बाख्राको बच्चाले (बग्रेटो) खाने गरेको थियो ।

हरिलाल भन्नुहुन्छ ‘ घरको उत्पादनले २/४ महिना मात्रै खान पुग्छ । घरमा खेतीपाती गर्ने मान्छे पनि छैन । आमा छैनन् बुवा मात्रै छन् । बुवा पनि भाईसँग बस्नु हुन्छ । भाईका परिवार छुट्टै बस्दै आएका छन् । मेरो घरमा एक छोरी र म मात्रै हो । ’

उहाँले भन्नुभयोे  ‘अलि अलि घरको काम गर्ने, घरमा फुर्सद भएपछि ज्याला मजदुरी गर्ने गरेको थिए । छोरी विरामी (कुपोषण) भएपछि यतै पोषण सुधार तथा पुर्नस्थापना गृहमा बस्दै आएको छु । ’ यस अघि पनि दुई महिना यहाँ भर्ना गरेर केही सुधार भएपछि घर लिएर गए । अहिले दुई हप्तादेखि यतै छु । छोरी हातखुट्टा पेट सुनिएपछि फेरी अस्पताल ल्याएर आए । सिकित्सकले पोषण सुधार तथा पुर्नस्थापना गृहमा भर्ना गरिदिनु भयो । छोरी चार वर्षकी भईन् । तौल ९ किलोग्राम मात्रै छ ।

चन्दननाथ नगरपालिका – २ खोलीकोटकी २३ वर्षीया भावना बुढ्थापाले पनि एक वर्षको बच्चा पोषण सुधार तथा पुर्नस्थापना गृहमा भर्ना गर्नु भएको छ । उहाँकी छोरीलाई कडा कुपोषण देखिएपछि पोषण सुधार तथा पुर्नस्थापना गृहमा भर्ना गर्नु भएको हो ।

उहाँको एक वर्षको बच्चा ६ किलोग्रामको छ । बाथरोग भएका कारण बच्चालाई दुध खुवाउन मिलेन । उहाँले भन्नुभयो जन्मेदेखि बच्चाले दुध खान नपाएपछि कुपोषण भयो । असार २२ गतेदेखि पोषण सुधार तथा पुर्नस्थापना गृहमा भर्ना गरेको छु ।

तातोपानी गाउँपालिका – १ राँका गाउँकी देबु महतले जुम्ल्याहा बच्चालाई पोषण सुधार तथा पुर्नस्थापना गृहमा भर्ना गर्नु भएको छ । ८ महिनाका ५÷५ किलोग्रामका जुम्ल्याहा बच्चा कुपोषित भएपछि उहाँले पोषण गृहमा भर्ना गर्नु भएको हो । उहाँले असार २८ गतेदेखि भर्ना गर्नु भएको हो ।

यहाँका ८ वटा स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिकाको हाँडसिजा स्वास्थ्य चौकी र चन्दननाथ नगरपालिका स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पोषण सुधार तथा पुर्नस्थापना गृह सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुर्नस्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन् । दुई जना आमाका जुम्ल्याहा बच्चा रहेका छन् ।

पोषण सुधार तथा पुर्नस्थापना गृहका व्यवस्थापक महेन्द्र हमालका अनुसार यहाँ बाजुरा, हुम्ला, मुगु, दैलेख, कालिकोट, डोल्पा र जुम्ला जिल्लाका बच्चा र आमाले सेवा लिदै आएका छन् । गतवर्ष १ सय २८ जनाले सेवा लिएका थिए । त्यस अघिल्लो वर्ष १ सय ३० जनाले सेवा लिएकाे उहाँले बताउनु भयो ।

यो पोषण सुधार तथा पुर्नस्थापना गृह सञ्चालन २०७८ फागुन १६ गतेदेखि आएको हो । स्वास्थ्य मन्त्रालय अन्र्तगत पोषण महाशाखामार्फत सञ्चालित पोषण सुधार तथा पुर्नस्थापना गृहका लागिका चालु आर्थिक वर्षका लागि ४८ लाख बजेट विनियोजन भएको व्यवस्थापक हमालले बताउनु भयो ।

गरिवी, अशिक्षा, अभिभावकले बच्चाको खानपानमा राम्रो हेरचाह र व्यवस्थापन नगर्दा बालबालिका कुपोषित हुने गरेको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले बताउनु भयो ।  यो स्वास्थ्य चौकी अन्र्तगत २० जना क्षमताको पोषण सुधारगृह सञ्चालन गर्दै आएका छौँ । गर्तवर्ष यहाँबाट २० जना बच्चाले सेवा लिएका हुन् । यहाँ पोषणा सुधार हुन नसकेको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गर्ने गरिएको छ । गतवर्ष दुई वटा बच्चा रिफर गरेका थियौँ । पछि निको भएर घर फर्किए । यस चालु आर्थिक वर्षका लागि गाउँपालिकाले ६ लाख ५० हजार बजेट विनियोजन गरेको छ । अहिले कुपोषण बालबालिका स्क्रिनिङ गरिरहेका छौँ । भदौँ महिनादेखि भर्ना गरेर पोषण गृहमा उपचार गर्ने तयारी गरेका छौँ ।उहाँले भन्नु भयो ।

गतवर्ष जनस्वास्थ्य कार्यालय जुम्लाले यहाँका १५ वडाका ६–५९ महिना भित्रका ३ सय ७५ बालबालिकाको पोषण सर्वेक्षण गरेको थियो । जसमा पुड्कोपना ४५ दशमलव २ प्रतिशत, उमेर अनुसार काम तौल २० दशमलव ५ प्रतिशत, विरामीपना ३३ दशमलव ७ प्रतिशत र ख्याउटेपना ५ दशमलव ९ प्रतिशत रहेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनु भयो ।

जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७९/०८० मा मध्यम कुपोषण बालिका १ सय ८३ जना र कडा कुपोषण ५८ जना रहेका छन् । मध्यम कुपोषण बालक २ सय १ जना र ३७ जना रहेका छन् ।

गत आर्थिक वर्ष ०७९/०८० मा नवजात शिशुको मृत्य सङ्ख्या जन्मेको ७ दिन भित्र २३ जना र ८ देखि २८ दिन भित्र ५ जना रहेको छ । यस्तै स्वास्थ्य संस्था बाहिर जन्मेको ७ दिन भित्र १ जना शिशुको मृत्यु भएको तथ्याङ्क रहेको छ । आर्थिक वर्ष ०७८/०७९ मा प्रसुति अवस्था एक जना मातृ मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क रहेको छ ।

Photo20230808Jumla

अन्य

भिडियो