INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविकास केन्द्रका शिक्षिकाहरू तलब सुविधा पाउनबाट वञ्चित

बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका शिक्षिकाहरुले विगत १० महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् ।

सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिकाहरूलाई संघ र स्थानीय सरकारले तलब सुविधा उपलब्ध गराउनु पर्ने व्यवस्था अनुसार संघीय सरकारबाट पाउनु पर्ने मासिक १० हजार तलब सुविधा पाउने गरेका भए पनि स्थानीय तहले उपलब्ध गराउनु पर्ने मासिक ७ हजार रुपियाँ तलब सुविधा पाउन नसकेको बालविकास केन्द्रका शिक्षिकाहरुले गुनसो गर्नु भएको छ ।

भिमदत्त नगरपालिका भित्र रहेका ५७ ओटा सामुदायिक विद्यालयमा १ सय ४४ जना बालविकास शिक्षिका कार्यरत रहको र उहाँहरुले स्थानीय तहबाट उपलब्ध गराउनु पर्ने मासिक ७ हजार तलब सुविधा विगत १० महिनादेखि पाउन नसकेको बालविकास शिक्षा सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रमा पन्तले बताउनु भयो ।

पटक–पटक नगरपालिकासँग समन्वय गर्दा समेत नगरपालिकाले आफूसँग बजेट नभएको भनेर जिम्मेवारीबाट पन्छिने गरेको उहाँले बताउनु भयो ।

सरकारले बालविकास शिक्षिकाहरूको हौसला बढाउन समयमै तलब तथा अन्य सुविधा दिनु पर्नेमा उल्टै मासिक पारिश्रमिक नै नदिएर शिक्षिकाहरूको मनोबल घटाउने कार्य सरकारले गरिरहेको शिक्षिका लक्ष्मी पाण्डेयले बताउनु भयो ।

१० महिनासम्म तलब नपाएर विद्यालयमा पढाउनु पर्दाको कठिनाई र यसले शिक्षण सिकाईमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै स्थानीय सरकारले मामिक पारिश्रमिक तलब उपलब्ध गराउनु पर्ने शिक्षिका पाण्डेयको भनाइ छ ।

समयमा तलब नपाउँदा घरभाडालगायत आफ्नो दैनिकीमा समस्या परेको शिक्षिका विन्दु विष्टले दुखेसो पोख्नु भयो ।

एउटै विद्यालयमा कार्यरत अरू शिक्षकहरूले नियमित तलब पाउने तर बालविकासका शिक्षिकाहरूले तलब नपाउँदा आफूहरुको श्रमको अपहेलना गरेको अनुभूति भएकोे शिक्षिका भुवनेश्वरी जोशीले दुखेसो पोख्नु भयो ।

छोराछोरी पढाउनेदेखि लिएर घर खर्च, घरको ऋण सबै तलब मै भर पर्ने हुनाले लामो समयदेखि तलब नपाउँदा जिवन धान्न सकस् भएको उहाँको भनाइ छ ।

अन्य शिक्षकहरूले नियमित रूपमा तलव तथा चाडपर्वका बेला पेश्की रकम समेत पाउने गरेको भए पनि आफूहरुले मासिक पारिश्रमिक समेत पाउन नसकेको शिक्षिका दुर्गा विष्टले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘विगतका वर्षमा पनि दशैको मुखैमा आन्दोलन गरेरै तलब पाएका थिएउ । यस वर्षको महान पर्व तिज आउन केहि दिन मात्रै वाँकी छ । तर, हामीले १० महिनादेखि तलब नै पाएका छैनौँ । कसरी चाँडपर्व मनाउने । घर खर्च चलाउने । चिन्ताले सताउने गरेको छ । स्थानीय तहले चाडपर्वको समयमा ६ महिनाको तलब भए पनि दिने वातावरण बनाइ दिनु पर्छ ।’

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बजेट अभावका कारण समयमै तलब निकासा गर्न नसकिएको र यस आर्थिक वर्षको भदौ वा असोज महिनासम्म सबै जनाको तलब उहाँको बैङ्क खातामा पठाउन सकिने बताउनु भयो ।

अन्य

भिडियो