खाडाचक्र नपा–४ ताडि स्थित नवज्योति गाडुले खोला आरसिसि कृषि सडक निर्माण गर्ने क्रममा मजदुरी गरेको ज्याला नपाएको भन्दै मजदुरहरूले साउन २२ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सोही ठाउका स्थानीय ३५ जना दक्ष तथा अदक्ष कामदारहरू ०७९ माघ देखि काम गदै आएका थिए र योजना अनुसार ०८० असार १९ गते कार्यसम्पन्न भइ उपभोक्ता समितिले भुक्तानी लिए पनि मजदुरी गरेको ज्याला नपाएपछि प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिलाई ध्यानाकर्ष पत्र बुझाएका हुन् ।
नगरपालिकामार्फत आरसिसि कृषि सडकको जिम्मा लिएको उपझोक्ता समितिका अध्यक्ष विनोद विक,कोषाध्यक्ष सावित्रा आचार्य र सदस्य सत्यप्रसाद आचार्यले १८ लाख रुपियाँ भुक्तानी आफैँले लिएर हिनामिना गरेको पीडित मजदुर नरदल विकले आरोप लगाउनु भयो । उहाँले योजनाका सबै रकम भुक्तानी लिए पनि कसैलाई पनि एक रुपैयाँ ज्याला नदिएकोले न्यायको खोजीमा जिल्ला प्रशासन आउनु परेको बताउनु भयो ।
ज्याला नपाएका मजदुरहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माझीले तत्काल पत्र प्रहरी कार्यालयमा पठाएर दुबै पक्षबिच समस्याका बारेमा बुझनुका साथै समाधानको बाटोमा जाने प्रतिबद्धता जनाउनु भयो ।
यस बारेमा उपभोक्ता समितिका अध्यक्ष विनोद विकले नगरपालिकाबाट भुक्तानी भए पनि रकम अपुग भएका कारण कामदारको ज्याला दिन नसकिएको प्रतिक्रिया दिनु भयो ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानाकर्ष पत्रमा कामदारहरुको ज्याला पाउने वातावरण मिलाई दिन र ज्याला ठगी गर्नेलाई कानुनी कारवाहीको माग गरिएको छ ।


