INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकता लिनका लागि आरातीको एक दशकको सङ्घर्ष

आँखामा टिलपिल आँसु, मुहारमा खुशीको रङ्ग अनि हातमा, नेपाली नागरिकता । चम्पादेवी गाउँपालिककी आराती कार्की थापालाई १० वर्ष भन्दा लामो सङ्घर्षपछि नागरिकता पाउँदा कतिबेला खुसीको आँसु खस्यो, थाहै भएन ।

आफू नेपाली नागरिक बन्न एक दशकयता गरेको कठिन सङ्घर्षले ०८० साउन १९ गते आरातीलाई २७ वर्षको उमेरमा नेपाली नागरिक बनायो । पति ३० वर्षको हुँदा जिल्ला प्रशासन कार्यालयले साउन १९ गते नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि आराती निकै हर्षित देखिनु हुन्थ्यो ।

नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि जिल्ला प्रशासन कार्यालय परिसरमा हर्षित मुद्रामा आराती ।
नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि जिल्ला प्रशासन कार्यालय परिसरमा हर्षित मुद्रामा आराती ।

वि.सं ०७१ साल मङ्सिर १८ गते बालिकै अवस्थामा १७ वर्षको उमेरमै चम्पादेवी गाउँपालिका–४ का युवराज थापासँग प्रेम विवाह भयो ।

विवाह भएदेखि नै आरातीले पतिलाई नेपाली नागरिकता बनाइदिन आग्रह गर्नुभयो । पति युवराजले केही वर्षपछि बनाइदिन्छु भनेर आश्वासन दिए ।

नागरिकता बनेँपछि केही जागिर, पेशा, व्यवसाय गर्न सहज हुने र पछिसम्मको भविष्यलाई ढुक्क हुन्छ भन्ने आरातीको मनमा थियो ।

वर्षहरू वित्दै गए, तर पति युवराजले नागरिकता बनाइदिन कुनै सहयोग गरेनन्, उल्टै विभिन्न बहाना बनाउन थालेको आरातीले बताउनु भयो । कहिले अझै केही वर्ष कुर भन्ने, कहिले सन्तान भएपछि बनाउनुपर्छ भन्नेजस्ता अड्को थाप्ने गरेको आरतीले इन्सेकर्मीलाई बताउनु भयो ।

वि.सं ०७४ भदौ ११ गते छोरा जन्मियो । सन्तान भएपछि नागरिकता बनाइदिन्छु भनेको कुरा आरतीले पतिलाई सम्झाउनु भयो, तर पतिले आलटाल नै गरी रहेँ ।

छोराको पालनपोषणमा केही वर्ष आरती व्यस्त हुनुभयो । छोरा हुर्केपछि आरतीले पुन नागरिकताका बनाइन दिन पतिसँग अनुनयविनय गर्नु भयो, तर आरातीलाई नागरिकता बनाइदिने कुरामा युवराजले तत्परता देखाएनन् ।

व्यक्तिगत बिन्तीले भएन भनेर, तत्कालीन समयमा आरातीले वडा कार्यालयमा नागरिकता प्राप्तिका लागि पाउने सिफारिस लिन पतिको सहयोगका लागि निवेदन दिनु भयो । वडा कार्यालयले पनि त्यो कुरामा वेवास्ता गरेको आरातीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । आरतीले भन्नुभयो ‘पटकपटक वडा कार्यालय धाँए, न त काम भयो न त मेरो कुरामा त्यो बेला जनप्रतिनिधि र कर्मचारीहरूले नै चासो दिए । कर्मचारीले घरमै बस्नु नागरिकता पाइहाल्छौ नि, किन आत्तिएको भनेको आरातीले स्मरणमा अहिले पनि ताजै छ ।

तीन पटक बढी निवेदनसहित वडा कार्यालय धाउँदा पनि नागरिकताका लागि पहल नभएपछि आरातीले छिमेकी स्थानीय तह सुनकोशी गाउँपालिका–९ कोषभञ्याङ प्रहरी चौकीमा नागरिकता नबनाइ दिएको आरोपमा पतिविरूद्ध निवेदन दिनु भयो ।

प्रहरी चौकीमा निवेदन दिएपछि प्रहरीले छलफलमा पतिलाई पटकपटक बोलाएपछि पति प्रहरी चौकीमा नगएपछि आराती र पतिबिच सम्बन्धमा खटपट सुरू भयो । पतिविरूद्ध प्रहरीमा निवेदन दिँदा माइतमै बसि माइतीको सहयोगमा प्रहरीमा निवेदन दिएको आरातीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

नागरिकता प्राप्तिका लागि प्रयासरत रहेको अवस्थामा पति युवराजले आरातीसँग सम्बन्ध विच्छेदका लागि ०७८ माग १९ गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे ।

पत्नीसँगको सम्वन्ध विच्छेदका लागि दर्ता गरिएको मुद्दामा जिल्ला अदालतबा ०७९ पुस १८ गते सम्बन्ध विच्छेद नहुँने ठहरसहितको फैसला आयो ।

सम्बन्ध विच्छेदको मुद्दा आरातीले जितेपछि, आरातीले पतिविरूद्ध जिल्ला अदालतमा अंश सम्बन्धी मुद्दा दर्ता गर्नुभयो । अंशसम्बन्धी मुद्दामा आरतीकै पक्षमा फैसला भयो ।

नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि आरातीले पतिसँग सम्बन्ध विच्छेद र अंश मुद्दा लड्नु पर्यो । माइतीले सहयोग गरेपनि मुद्दा लड्दाको समयमा धेरै आर्थिक नोक्सान भएको र कठिनाइहरू भोग्नुपरेको आरातीले इन्सेक प्रतिनिधिलाई सुनाउनु भयो ।

‘मैले त नागरिकता मात्र पाउनुपर्छ भनेकी थिएँ तर उल्टै उहाँले ममाथि सोँच्दै नसोचेको आरोपसहित मुद्दा लगाउनु भयो । अदालतले साँचो न्याय दियो । यसमा म खुसी छु । जे पाउनको लागि मैले सङ्घर्ष गरे, आज नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा एकदमै खुशी छु । ’

नागरिकता पाएपछि छोराको लालनपालन, शिक्षा र भविष्यका लागि आफूलाई सहज हुने आरातीको बुझाइ छ ।

नागरिकता पाउनका लागि आफूले एकदशक सङ्घर्ष गर्दा अन्तिममा सफलता प्राप्त भएको आरातीले बताउनु भयो । आरातीलाई नागरिकता दिलाउनेबारे सहयोग गरिदन प्रशासन र प्रहरीले समेत फोन गरेर पति युवराजलाई बोलाउँदा पति प्रशासन र प्रहरीको सम्पर्कमा नआएको आरातीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले आरातीका पति युवराजलाई फोन गरेर बोलाएपछि मात्र उनी प्रशासन आएका थिए । आरातीलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालयले पहल गरेको थियो ।

विवाहपछि पतिले आवश्यक सहयोग र पहल नगरिदिँदा महिलाहरूलाई नागरिकता प्राप्त गर्न कठिनाइ हुने गरेको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताउनु भयो । यो प्रतिनिधि घटना हो, यस किसिमको समस्याको धेरै महिलाले सामना गर्नु परिरहेको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको भनाइ छ ।

नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा १० मा नागरिकता सम्बन्धी हकमा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने भनी उल्लेख छ । त्यस्तै धारा ११ मा कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने सो व्यक्ति स्वतः वंशजको आधारमा नेपाली नागरिक ठहर्ने भनि उल्लेख गरिएको छ ।

अन्य

भिडियो