अपडेट ४ः३०
दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार गढवा गाउँपालिका-४ स्थित दिपेन्द्र आधारभूत विद्यालय पर्सेनीमा दाजुको नामबाट भोट हाल्न गएका १७ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सोही गाउँपालिका-६ का ऋषि खनाललाई नमूना मतपत्र लिएर मतदान केन्द्रमै मतदाताका बिचमा प्रचार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १४ गते मदाने गाउँपालिका-७ को दिपक मावि बुथ नजिकै बम बिस्फोट गराएको छ ।
असार १३ र १४ गते सोही स्थानमा उक्त पार्टीले बम बिस्फोट गराएको हो । पटकपटक बम बिस्फोट गराएपनि कुनै मानवीय क्षति नभएको दिपक मावि मतदान केन्द्रका मतदान अधिकृत ताराबहादुर राउतले बताए ।
‘अहिलेसम्म तीन पटक पड्कियो, मतदातालाई हतोत्साही बनाउने काम हो ।’-उनले भने-‘तर निर्वाचन प्रभावित भएको छैन ।’
तेह्रथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बुका अनुसार आठराई गाउँपालिकाको चुवानडाँडास्थित शारदा माविमा रहेको मतदान केन्द्र ‘ख’ मा असार १४ गते दिउँसो लाइन लाग्ने क्रममा एमाले कार्यकर्ता विनोद न्यौपाने र नेपाली काङ्ग्रेस तथा माओवादी गठबन्धनका कार्यकर्ता रिखीराम ढुङ्गेलबिच झडप भएको छ । प्रहरीले दुवै जनालाई गिरफ्तार गरी मतदानलाई सूचारू रूपमै सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
कैलाली प्रतिनिधि रविना चौधरीका अनुसार जिल्लामा ८६ मतदान स्थल अति सम्वेदनशील रहेतापनि कुनै किसिमको अप्रिय घटना नघटेको पमुख जिल्ला अधिकारी गाविन्दप्रसाद रिजालले बताए ।
जिल्लाका २ सय ३१ ओटै मतदान स्थलमा उत्साहका साथ शान्तिपुर्ण रूपमा ६५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।
खोटाङ जिल्ला प्रतिनिधि सुनिता मगरका अनुसार लामीडाँडा गाउँपालिका-५ स्थित गङ्गोदय उच्च माविको मतदानस्थलदेखि ४ सय मिटर टाढा चौरमा असार १४ गते बिहान फेला परेको सुतली बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
वेवारिसे रुपमा राखिएको बम भेटिएपछि ऐसेलुखर्कको सेनाको डिस्पोजल टोलीले बम निष्कृय पारेपछि सो ठाउँको अवस्था सामान्य रहेको र मतदाताहरूको उत्साहजनक सहभागितामा निर्वाचन भएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
अपडेट ३:१५ बजे
रुकुमको सिस्ने गाउँपालिका-१ पाखापानी मतदान केन्द्रमा सुरक्षार्थ खटिएकी म्यादी प्रहरी चौरजहारी नपा-६ की २३ वर्षीया सीता बिक झाडापखालाले सिकिस्त बिरामी भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल सल्लेमा उपचारका लागि उद्धार गरिएको इन्सेक जिल्ला प्रतिनिधि आदर्श केसीले बताए ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत रुकुमका तीन गाउँपालिकामा दिउँसो २ः५० बजेसम्म ८५ प्रतिशत मतदान सकिएको मुख्य निर्वाचन अधिकृत दण्डपानी चालिसेलाई उद्धृत गर्दै इन्सेक जिल्ला प्रतिनिधि आदर्श केसीले बताए ।
इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार ओलीका अनुसार मतदाताले मतदान गर्ने क्रममा मतपेटिकामा एसिड राखेपछि स्थगित भएको रोल्पा नगरपालिका-१० को जनता प्रावि भनभने मतदान केन्द्र ‘ख’ मा पुनः मतदान सुरु भएको छ ।
उक्त वडाका राजनीतिक दल तथा उम्मेदवारहरूले १ सय ५० मध्ये चार ओटा जलेका मतपत्र बाहेक अरुलाई अथावत मान्दै पुनःमतदान गर्ने सहमति गरेपछि पुनःमतदान सुरु भएको मतदान अधिकृत धर्मराम गिरीले जानकारी दिए । मतपेटिकामा कसले एसिड राखेको भन्ने बारे खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रोल्पाको सुवर्णावती गाउँपालिका वडा नम्बर ३ को चन्दप्रभा मावि केन्द्रमा मतदान सम्पन्न भएको छ । जम्मा १ हजार ५ सय ९४ मतदाता रहेकोमा १ हजार ७८ मत खसेको बताइएको छ । यस्तै जिल्लाभर करिब ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका अनुसार बुढीगङ्गा गाउँपालिका-५ स्थित एक मतदान केन्द्र नजिक असार १४ गते दिउँसो भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
स्थानीयका अनुसार सो गाउँपालिकाको ५ नम्वर वडा कार्यालय हात्तीमुढामा रहेको मतदान केन्द्रदेखि करिब ३ सय मिटर टाढा चौरमा उक्त विष्फोटक पदार्थ तारले बेरेर छोडेको अवस्थामा फेला परेको थियो ।
केरावारी-९ देवीझोडा मोरङ रामवीर प्रावि मतदान केन्द्रमा मतदान गर्न ६ किमी टाढाका मतदाता आउनुपर्ने समस्या रहेको पाइयो । उनीहरू मतदान गर्न खोला तरेर पुग्नु पर्ने अवस्था पाइएको छ । यसरी टाढाबाट जानुपर्ने मतदाता कूल मतदाताको ४० प्रतिशत रहेको इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले बताए ।
बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार सवारी अनुमति पत्र विना चलाइएका १५ ओटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर वीरबहादुर थापाले बताए । बाँके जिल्लामा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।
यसैगरी बाँकेको कोहलपुर नपा-४ स्थित मदरसा हिमालय गरिव नवाज आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा ७ सय मतदाता रहेकामा दिउँसो १ः२० बजेसम्म ५ सय ३५ जनाले मतदान गरिसकेका छन् । उक्त मतदान केन्द्रमा ५० जना परिचय पत्र लिन नआएको सो मतदान केन्द्रमा पर्यवेक्षण गरिरहेकी पर्यवेक्षक बालिका बुढाथोकीले जानकारी दिइन् ।
नेपालगञ्ज उपमनपा-२० राझास्थित आदर्श मावि मतदान केन्द्रमा अर्काको नाममा मतदान गर्न गएका रवी बुमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २ हजार ४ सय मतदाता रहेको उक्त मतदान केन्द्रमा २.३० बजेसम्म १ हजार ७ सय जनाले मतदान गरेका छन् ।
अपडेट १२:३० बजे
इन्सेक खोटाङ जिल्ला प्रतिनिधि सुनिता मगरका अनुसार खोटाङको दुबेकोलमा अज्ञात समूहले मतदान केन्द्र नजिक राखेको बम नेपाली सेनाले निष्कृय पारेको छ । लामीडाँडा गाउँपालिका-५ दुबेकोलस्थित गङ्गोदय माविमा रहेको मतदान केन्द्र नजिक फेला परेको सुतली बम शेरगणको ऐसेलुखर्कस्थित नेपाली सेनाको डिस्पोजल टोलीले बुधबार बिहान ६ः५५ बजे निष्कृय पारेको हो ।
मतदान केन्द्रबाट ४ सय मिटर पूर्वमा मुल बाटोको चौतारोमा बम फेला परेको थियो । बम निष्कृया पारेपछि मतदान प्रकृयालाई निर्वाध रूपमा अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । बम फेला परेको विषयमा बिहान ३ः१५ बजे खबर आएको नेपाली सेनाले जनाएको छ । अहिले जिल्लाका १ सय ७३ ओटै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
इन्सेक गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मी जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपुर्ण रूपमा मतदान भइरहेको छ । दुई ओटा नगरपालिका र १० ओटा गाउँपालिकाका २ सय ४० मतदान केन्द्रमा बिहान सात बजेबाट नै मतदान सुरू भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
इस्मा गाउँपालिकाको रामराज्य मतदान केन्द्रमा १ सय एक वर्षीया वृद्धा तुलसादेवि अर्यालले पहिलो मत खसालेकी छन् । मतदानको दिन जिल्लाको सुरक्षा व्यवस्था पनि व्यवस्थित रूपमा परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यलयले दिएको जानकारी अनुसार जिल्लाका सबै मतदान केन्द्रबाट ९० प्रतिशत मतदाताले परिचय पत्र बुझेका छन् । जिल्लामा १ लाख ८० हजार सात सय ७५ मतदाता रहेका छन् ।
इन्सेक दाङ प्रतिनिधि जेएन सागरका अनुसार घोराही नपा-१८ मसिना भन्ने स्थानमा सडक छेउमा बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा सेनाले सिल गरी अनुसन्धान थालेको छ ।
राससका अनुसार हिमाली गाउँपालिका-१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । ३० जना मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको इन्स्पेक्टर जगदीश भट्टले जानकारी दिए ।
अपडेट ११ः४५ बजे
अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार मङ्गलसेन नपा-११ पार्वती मावि छापडाँडामा शङ्कास्पद वस्तु भेटिएको छ । मतदान केन्द्र भन्दा १५ मिटरको दुरीको बाटोमा बम जस्तो शङ्कास्पद वस्तु भेटिएपछि मतदाताहरूलाई अर्को बाटो हिँडाएर मतदान भइररहेको स्थानीय बमबहादुर रावलले जानकारी दिए ।
मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीहरूले उक्त वस्तु वरीपरि खतराको चिन्ह राखेको बताइएको छ । सदरमुकामबाट बम डिस्पोजल टोलीलाई खबर गरेको भएपनि जिल्ला प्रहरी कार्यालयमा जानकारी नआएको डिएसपी निरञ्जनदत्त भट्टको भनाइ छ ।
असार १४ गते बिहानै ढकारी गाउँपालिकाको गुरुकुल मावि मतदान केन्द्रको ५ सय मिटर दुरी नजिकै बाटोमा तुलमा बाँधरे राखेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्कृय बनाएको अछाम प्रहरीले जानकारी दियो । छापडाँडा र गुरुकुल मावि दुवै केन्द्रमा मतदान सुचारु भइरहेको जानकारी प्राप्त भएको छ ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार बगनासकाली-६ यम्घा पाल्पाको अरनिको निमावि मतदान केन्द्रमा मत खसाल्न लाइनमा बसेका ८२ वर्षीय पूर्णचन्द्र भट्टराईको हृदयघात भएर लाइनमै मृत्यु भएको छ ।
असार १४ गते बिहान ७.३० बजेको समयमा लाइनमा बसेका भट्टराईको मत खसाल्न नपाउँदै निधन भएको जिल्ला प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेले बताए ।
यहाँको मतदान कार्य भने प्रभावित भएको छैन । पाल्पामा अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । पानी परिरहेका कारण मतदाता आउन जान भने समस्या देखिएको छ ।
इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार ११ः३० बजेसम्म रुपन्देहीमा ३१ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालगञ्ज उपमनपा-१० स्थित मतदान केन्द्र जिल्ला वन कार्यालयदेखि ५० मिटरको दुरीमा असार १४ गते सुतली बम भेटिएको छ । उक्त बम नेपाली सेनाको टोलीले निष्कृय बनाएको इन्सेक जिल्ला प्रतिनिधि विनोद पाण्डेले जानकारी दिए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ मा असार १६ गते मतदान हुने भएको राससले जनाएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए । नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यको मनोनयन दर्ता गराउनुभएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो । दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो ।
अपडेट ११:३० बजे
बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार गुलरिया नपा-२ खैरापुरस्थित शम्भुशरण माविको मतदान केन्द्र देखि करिब तीन सय मिटर टाढा असार १४ गते बिहान सुतली बम भेटिएको छ । यसैगरी गुलरिया कोठियाघाट सडक खण्डमा पर्ने मधुवन नपा-१२ हुलाकी सडकमा पनि सुतली बम भेटिएको छ । ठाकुरबावा नपाको बलाती गाउँको चोकमा पनि असार १४ गते बिहान सुतली बम भेटिएको प्रहरीले जनाएको छ । तीन स्थानमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । मतदान केन्द्र साँघुरो भएको र महिला, पुरुषको मात्र लाइन भएको हुँदा केही मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र बिरामीलाई मतदान गर्न असहज भएको पाइएको छ । बढैयाताल गाउँपालिका-८ को मयुर नेराप्राविमा बिहान ७.३० बजेबाट मतदान सुरु भएको थियो । गुलरिया नपाको आशापुरस्थित भानुभक्त प्राविमा पानीको बाकस वितरण गरेको पाइएपछि मतदान अधिकृतले उक्त पानीको बाकस वितरण गर्न रोकेका थिए ।
प्यूठान जिल्लाको स्वर्गद्धारी नपा-१ नस मतदान केन्द्रमा बिहान १०.३० बजेबाट मतदान सुरु भएको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उक्त मतदान केन्द्रमा एमालेका प्रतिनिधि सहभागी नभएपछि मतदान प्रकृया रोकिएको थियो ।
अपडेट ११ बजे
इन्सेक बझाङ जिल्ला प्रतिनिधि प्रकाश बिकका अनुसार साँढे १० बजे जय पृथ्वी नगरपालिका-३ को पाण्डु मतदान केन्द्रमा एमाले र काङ्ग्रेसका कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी नेपाली काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार प्रेमबहादुर खड्काको टाउकोमा चोट लागेको छ । उनको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको र अहिले मतदान कार्य स्थगित भएको छ । मतदानलाई सूचारु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार इलाम नपा-७ मा रहेको आदर्श आधारभूत विद्यालय नजिकै बम पड्किएको प्रहरीले जनाएको छ । बम विष्फोटबाट कुनै क्षति नभएपनि मतदाता त्रसित भएका छन् । बिहानैदेखि परेको पानी नरहेकाले मतदान कार्य असहज भएको भएपनि मतदान कार्य भने जारी रहेको जनाइएको छ ।
इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार ओलीका अनुसार रोल्पा नपा-१० को भनभने मतदान केन्द्रमा एकजना मतदाताले मत खसाल्ने क्रममा मतपेटिकामा एसिड समेत खसालेका छन् । एसिडले मतपेटिका जलेको बताइएको छ । उक्त एसिड कसले खसालेको हो एकिन नभएको बताउँदै प्रहरीले मतपेटिका जल्न थालेपछि मात्रै घटनाबारे थाहा भएको जनाएको छ । बिहान साढे ९ बजेतिरको यो घटनापछि मतदान कार्य स्थगित भएको छ । जिल्ला निर्वाचन प्रमुख कमलप्रसाद ज्ञवालीको टोली अहिले घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ । उक्त मतपेटिकामा ३ सयभन्दा बढी मत खसिसकेको अनुमान गरिएको छ ।
स्थानीय तहको दोस्रो चरणमा आज प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा निर्वाचन सुरु भएको छ । इन्सेक जिल्ला प्रतिनिधिहरूले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ का १४ ओटै जिल्लाका मतदाता मतदानमा उत्साहपूर्वक सहभागी भएका छन् ।
इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार इलाममा ठूलो पानी परेकाले मतदानमा केही समस्या उत्पन्न भएको छ । प्रदेश नम्बर १ का अधिकांश जिल्लामा अहिले पानी परिरहेको छ ।
प्रदेश नम्बर ७ का सबै जिल्लामा मतदाताहरू मतदानमा उत्साहपूर्वक सहभागी भइरहेका इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । बाजुरा र अछाम जिल्ला प्रतिनिधिहरूका अनुसार निर्वाचनमा भाग लिन महिला तथा ज्येष्ठ नागरिकहरू बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएका छन् ।
बाजुरा जिल्ला प्रतिनिधि पदम सिंहका अनुसार हिमाली गाउँपालिका मङ्गलमाता निमाविको मतदान केन्द्र नजिकै बम फेला परेको छ । उक्त बमलाई निष्कृय बनाउन नेपाली सेनाको बम डिष्पोजल टोली मतदान केन्द्रतर्फ गइसकेको जनाइएको छ ।
प्रदेश नम्बर ५ का अर्घाखाँची, पाल्पा, गुल्मी, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
रुपन्देही प्रतिनिधि रिमा विसीका अनुसार वुटवल उमनपा-८ मा पश्चिमाञ्चल सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रमा पानी परेका कारण पौने ९ बजेसम्म मतदान सुरु भएको छैन ।
त्यसैगरी दाङ, बाँके र बर्दियामा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको जनाइएको छ । इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार स्वर्गद्वारी नगरपालिका-१ मा रहेको कोचिवाङ नस मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदान सुरु भएको छैन । असार १३ गते साँझ राष्ट्रिय जनमोर्चा र एमालेका कार्यकर्ताबिच भएको झडपमा एमालेका ४४ वर्षीय कार्यकर्ता भीमबहादुर घर्तीमगर घाइते भएको विषयलाई लिएर विवाद भएपछि समयमा मतदान सुरु हुन नसकेको हो । घाइते मगरको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । एमालेले आफ्ना कार्यकर्तालाई आक्रमण गर्ने राजमोका कार्यकर्तालाई गिरफ्तार नगरेसम्म मतदानको कुनै पनि प्रकृयामा सहभागी नहुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले निर्वाचन प्रकृया अघि बढाउन छलफल जारी रहेको जानकारी दिएका छन् ।
रुकुम जिल्ला प्रतिनिधि आदर्श केसीका अनुसार सिस्ने गाउँपालिका-४ को आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न आएका काङ्ग्रेस र एमालेका कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए । सो प्रयासलाई प्रहरीले असफल पारेपछि उनीहरूले मतदानमा सहभागिता जनाएका छन् ।
टेलिफोन सम्पर्क नहुँदा पुथा उत्तरगङ्गा र भूमे गाउँपालिकाको गतिविधिका बारेमा केही जानकारी हुन नसकेको केसीले बताए । प्रहरीले भने दुई ओटै गाउँपालिकामा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको जनाएको छ ।

















