INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभावले १२ वर्षीय बालकको दैनिकी दाम्लोमै

सानो छाप्रोयुक्त घर । घरको पिढीको ह्याण्डिलभरि पुराना लुगा झुण्ड्याइएका छन् । पिढी मैलिएको छ । रातो माटोले पोतिने पिढी नपोतिएको धेरै भएछ । त्यही पिढीको दैलो अगाडिको  टेकोमा  एकजना बालकलाई बलियो प्लाष्टिकको डोरीले खुट्टामा बाधेर राखिएको छ ।

यो दृश्य पूर्वखोला गाउँपालिका–१ सिलुवा ढक्रेवासको हो । डोरीले बाधिएका बालक १२ वर्षीय माधव सारू हुन् । माधवले जान्ने सुन्ने भएदेखि नै यसरी नै डोरीले बाधिएर दिनचर्या बिताउदै आउनु भएको छ । सँगैका साथीसङ्गी विद्यालय जाने आउने गर्छन् । आफूसँगै जन्मेका दमालीहरू अहिले ५÷६ कक्षामा पढ्दैछन् तर माधवको दैनिकी भने दाम्लोमै बाधिएर बित्दै आएको छ । माधवले सुन्न र बोल्न सक्नुहुन्न ।

माधवलाई जान्ने सुन्ने भएदेखि नै यसैगरि बाधेर राख्न थालिएको बुवा डिलबहादुर सारूले बताउनु भयो । माधवमा जान्ने सुन्ने भएदेखि मानसिक समस्या देखिएकोले यसरी बाधेर राख्ने गरिएको उहाँले बताउनु भयो । “खुल्लारुपमा छोड्दा दौडने, अर्काको घरमा गएर काम बिगारिदिने भएकोले यसरी बाधेर राख्ने गरेका छौं ।” उहाँले भन्नुभयो ।

माधवका दाजु १५ वर्षीय नारायण सारु पनि मानसिक रुपले अपाङ्ग हुनुहुन्छ । तर माधवलाई जस्तो गरि बाधेर राख्नुपर्दैन । माधव र नारायण दुबै जना स्कुल जानुहुन्न । नारायण कहिले काही आफ्नो सुरमा गाउँतीर हिड्ने र साँझ घर फर्कने र कहिले बाबा आमा खेतबारीमा गएका बेला सँगै जाने र फर्कने गरेको माधवकी आमा मिना सारुले बताउनु भयो । दुबै छोरा अपाङ्ग भएकोले सम्हाल्न धेरै गाह्रो भएको र उनीहरुकै कारणमा समयमा खेतबारीको काम पनि गर्न नपाएको उहाँले बताउनु भयो ।

photo2023080701palpa

डिलबहादुर र मिनाका चार जना सन्तान छन् । जसमा दुई छोरामा अपांगता छ भने दुइवटी छोरीमा कुनै समस्या छैन । जेठी छोरीले स्थानीय अकला आधारभुत विद्यालयमा नर्सरी कक्षामा पढ्दै आउनु भएको छ भने कान्छी  छोरी २ वर्षकी हुनुभयो । माधव र नारायण दुबैले नेपाल सरकारको रातो अपांगता परिचय पत्र पाउनुभएको छ र अपांगता भत्ता पनि पाउँदै आउनुभएको छ ।

माधवको उपचारको लागि अहिलेसम्म खास पहल भएको छैन । आफूहरुको आर्थिक स्थिति कमजोर भएकोले सदरमुकाम र अन्य ठाउँका अस्पतालहरूमा लगेर उपचार गराउन नसक्ने अवस्था रहेकोले छोराको अवस्थामा कुनै सुधार नभएको माधवकी आमा मिनाले बताउनु भयो । “यहाँ आउने धेरै जनाले राम्रो उपचार पाउने हो भने दुबै छोराहरुको अवस्थामा सुधार आउछ भनेर त भन्नुहुन्छ तर हामीले उपचारका लागि राम्रो अस्पतालसम्म लैजान सकेका छैनौं ।” उहाँले भन्नुभयो ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्र्तगत धारा ३१ मा शिक्षाको हक, धारा ३५ मा स्वास्थ्यको हक, र धारा ३९ मा बालबालिकाको हकको व्यवस्था भए पनि रहेपनि उनीहरूले यी कुनै पनि हकको उपयोग गर्न पाएका छैनन् ।

धारा ३१ को शिक्षाको हक अन्र्तगत अपांगता भएका र आर्थिकरुपले बिपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक सुनिश्चित गरिएको छ त्यस्तै दृष्टिबिहीन नागरिकलाई बे्रललिपि तथा बहिरा र स्वर बोलाई सम्बन्धी अपांगता भएका भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चत गरिएको छ । तर यी सबै हकबाट सारु दाजुभाई वञ्चित हुनुहुन्छ ।

स्थानीय सरकारको रुपमा रहेको पूर्वखोला गाउँपालिकाले पनि सारु दाजु भाईको उपचार र शिक्षाका लागि खास काम गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष नुनबहादुर सारूले सारू दाजु भाईको अपांगता परिचयपत्र बनाउन पहल गरेको बताउदै केही महिना अघि स्गथनीय तहमार्फत केही रकम उपलब्ध गराई दुबै जनालाई लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाइएको भएपनि त्यहाँ उपचार सम्भव नभएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले उहाँहरूको घरमा लगाउनका लागि जस्ता पाता पनि उपलब्ध गराएको छ । अब छिट्टै उनीहरूका लागि के गर्न सकिन्छ भन्नेबारे स्वास्थ्य शाखासँगको समन्वयमा पहल गर्ने  नुनबहादुरले बताउनु भयो ।

अन्य

भिडियो