INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

इच्छाकामना गाउँपालिका-२, काउलेका ज्येष्ठ नागरिक ८४ वर्षीय गोरे प्रजाको भरतपुर अस्पतालमा इन्सेकको पहलमा निःशुल्क उपचार भएको छ ।

Photo_080-4-21_Chitwan

पेट दुखाइको समस्याले गर्दा उपचारको लागि साउन १४ गते भरतपुर अस्पताल आउनुभएको थियो । उक्त क्रममा बुहारी अनिशाको साथमा आउनुभएका प्रजा डाक्टरले केही रिर्पोट हेर्नुपर्छ भनेपछि आवश्यक नमूना दिएर गाउँ फर्किनुभएको थियो ।

रिर्पोट आएपछि साउन १६ गते डाक्टरले सिटि स्क्यान गर्नुपर्ने बताउनु भयो । सिटी स्क्यानका लागि पैसा मागेपछि उहाँहरू अलमलिनुभयो । चेपाङ जातिले निःशुल्क उपचार पाउने भनिए पनि उनिहरूले गत हप्ता पैसा तिरेर नै उपचार गराएका थिए । सिटी स्क्यान गर्न पैसा नभएपछि सामाजिक सेवा इकाईमा गएर आफूहरू चेपाङ जाति भएको बुहारी अनिशाले जानकरी दिनुभयो ।

तर उक्त कक्षका मानिसहरूले साउन १ गतेबाट नियम फेरिएको र अब विपन्न नागरिकलाई मात्र निःशुल्क सेवा दिने र त्यो पनि भर्ना भएर बसेको बिरामीको हकमा मात्र लागु हुने जबाफ दिए । गोरे प्रजाको यातायात खर्च र अघिल्लो पटक जचाउँदा लागेको खर्च व्यहोर्दा सबै रकम सकिएको बुहारी अनिशा बताउनु भयो ।

सोही क्रममा इन्सेक प्रतिनिधिलाई गुहारेपछि उहाँले भरतपुर अस्पतालमा निःशुल्क उपचारको लागि पहल गरिदिनुभयो । अस्पतालका प्रशासकले चेपाङ, विपन्न र ज्येष्ठ नागरिक भएकोले बिरामी निःशुल्क उपचारको हकदार भएको भनी निःशुल्क गरिदिन भन्दै टिकटमा लेखिदिए । त्यसपछि सामाजिक सेवा इकाईका कर्मचारीले साउन १९ गते निःशुल्क उपचारको कागज बनाइ सबै सेवा निःशुल्कमा उपलब्ध गराए ।

भरतपुर अस्पतालका प्रा. डा. कृष्णप्रसाद पौडेलले विपन्न नागरिकको लागि उपचारमा कुनै समस्या नभएको बताउनु भयो । अबदेखि जातको आधारमा भन्दा पनि आर्थिक अवस्थाका आधारमा सेवा सुविधा पाइने उहाँको भनाइ छ । अस्पतालले साउन १ गतेबाट आर्थिक विपन्नलाई सेवा दिने भनेको छ । तर जातीय आधारमा सुविधा पाउँदै आएकाहरू भनसुन गर्न नसक्दा विपन्नै भए पनि सुविधा पाउनबाट वञ्चित हुने गरेको एउटा उदाहरण पात्र गोरे प्रजा हो ।

अन्य

भिडियो