जीवनशैली परिबर्तनले शिशुलाई दुध चुसाउने दर ह्वात्तै घटेको जनसाङ्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनले देखाएको छ ।
नेपालमा अझै पनि ४५ प्रतिशत शिशुहरू जन्मेको एक घण्टाभित्र स्तनपान गर्नबाट वञ्चित भएका छन् भने ५५ प्रतिशत शिशुले मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गर्न पाएका छन् । त्यसैगरी, १० जना शिशुमध्ये ६ जनालाई जन्मेपछि पहिलो दुई दिनसम्म पूर्ण स्तनपान गराइएको प्रतिवेदनले देखाएको छ ।
महिलाले विभिन्न कारणले आफ्ना बालबच्चालाई स्तनपान गराउन पाउँदैनन् । जसमा स्तनबाट दुध नआएर वा कार्यालय समयको व्यस्तताका कारण वा अन्य कुनै कारणले आफ्नो शिशुलाई स्तनपान गराउन नपाएर अन्य स्रोतको दुध वा पौष्टिकपुरक वा फर्मूला दुध खुवाउनु पर्ने बाध्यात्मक अवस्था देखिन्छ भने कतिपय आमाहरूले बढ्दो सहरीकरण र कार्यालयमा महिलाहरू व्यस्त हुने गरेकाले पनि शिशुले प्रयाप्त मात्रामा स्तनपान गर्न पाएका छैनन् । त्यस्तै कतिपय महिलाहरुले स्तन तथा शारीरिक सुन्दरता विग्रन्छ भन्ने डरले पनि स्तनपान नगराएको घटनाहरू पाइएको प्रतिवेदनमा उल्लेख छ ।
भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेण्डेन तथा बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा शकुन्तला गुप्ताले पछिल्लो समयमा आमाहरूले विभिन्न भ्रमात्मक कुराहरुमा लागेर स्तनपान गराउन छाडेको भन्दै ‘आमाको दूधले शिशुलाई विभिन्न रोगसँग लड्नसक्ने क्षमता बढाउने भएकोले जन्मेको एक घण्टाभित्रै देखि ६ महिनासम्म नियमित आमाको दुध मात्र खुवाउने, ६ महिनापछि आमाको दुघसँगै थप खानाहरू खुवाउन सबै आमाहरुलाई आग्रह गर्नुभयो ।
डा.गुप्ताले नियमित बच्चालाई दुघ खुवाउँदा आमाको पाठेघर र स्तनलाई सुरक्षित र बलियो बनाउन, रक्तस्राव कम गर्न, डिप्रेसनका साथै डिम्बाशय तथा स्तन क्यान्सरबाट बचाउन मद्दत पुग्ने भएकोले भ्रममा नपरी स्तनपान गराउन आग्रह गर्दै । कार्यालयमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशुलाई जन्मेको छ महिना भित्रसम्म स्तनपान गराइएको उल्लेख गरिएको थियो भने
नेपाल बहुसूचक सर्वेक्षण २०१९ अनुसार शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने आमाहरूको सङ्ख्या ४१.७ प्रतिशत, पूर्ण स्तापान गराउने आमाहरू ६२.१ प्रतिशत रहेकोमा । शिशुहरूलाई उमेरको मापदण्ड अनुरूप स्तनपान गराउने आमाहरू जम्मा ८१.४ प्रतिशत रहेकोमा सन २०२२ को प्रतिवेदनमा ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरुपमा स्तनपान गराउने गरेको तथ्यांक छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका बरिष्ठ बालरोग विशेषज्ञ डा विनोद पराजुलीले संसारभरमा ४० प्रतिशत भन्दा कम आमाहरूले मात्र स्तनपान गराउने गरेको बताउनु भयो ।
डा. पराजुलीले ‘स्तनपान गराउनु भनेको आमा र बच्चा दुबै स्वस्थ्य रहनु हो’ । स्तनपानबाट बच्चामा रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै उच्च रक्तचाप, मधुमेह, झाडापखाला जस्ता रोग लाग्नबाट बचाउनुका साथै आमालाई रक्तस्राव कम, पाठेघरको क्यानसर हुनबाट बचाउँछ, डिप्रेसनका साथै डिम्बाशय तथा स्तन क्यान्सरबाट बचाउन मद्दत गर्ने भएकोले जनचेतना जगाउनाका साथै कार्यालयमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशुलाई जन्मेको छ महिना भित्रसम्म स्तनपान गराइएको उल्लेख गरिएको थियो । कार्यस्थलमा नै शिशुलाई स्तनपान कक्षको अभाव र धेरै जसो महिला जागिरे भएकाले विगतभन्दा १० प्रतिशत कम शिशुलाई स्तनपान गराइएको।
स्तनपान दिवश विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन शुरू गरिएको हो ।यस वर्ष नेपालमा साउन १६ गतेदेखि साउन २२ गतेसम्म स्तनपान सप्ताह मनाउन सुरु गरिएको छ ।
यस वर्षको नारा “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितताः सबै रोकारवालाहरुको प्रतिवद्धता” रहेको छ । स्तनपान दिवशलाई नेपाल सरकारको आव्हानमा देशका ७ सय ५३ वटै स्थानिय तहमा स्तनपानबारे विभिन्न जनचेतनामूलक कार्यक्रमहरू भइरहेका छन् ।सरकारको यस अभियानमा विभिन्न संघसंस्थाहरूले पनि साथ दिँदै आइरहेका छन् ।
शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु हरेक बालबालिकाको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नुपर्ने जिम्मेवारी हो ।
विश्व स्वास्थ्य संघको तथ्याङ्कअनुसार स्तनपानलाई सुधार गर्न सक्ने हो भने वार्षिक रूपमा विश्वभर ८ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा नेपालमा झन्डै ४० प्रतिशत बालबालिकाको उमेरअनुसार वृद्धि विकास नभएको विज्ञहरु बताउँछन् । बालबालिकाहरूको उचाई कम हुनु, कुपोषित हुनु र सुस्त हुनुमा पनि स्तनपान नगराउनु कारक मानिएको छ ।