नेपाल तामाङ घेदुङ्ग सङ्घ तथा नेपाल मगर सङ्घले ०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकुमा धर्ना दिन गएका आफ्ना कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेर प्रहरी परिसर भित्र लगेर कुटपिट र यातना दिएको आरोप लगाएको छ । मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबिच विवाह हुने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी अधिवक्ता भगवती पाण्डेलाई गिरफ्तार गर्न माग गर्दै नेपाल तामाङ घेदुङ्ग सङ्घ र नेपाल मगर सङ्घ आवद्ध सङ्घसंस्था तथा व्यक्तिहरू धर्ना दिन साउन १७ गते जिल्ला प्रहरी परिसर, काठमाडौँमा गएका थिए ।

इन्सेक प्रतिनिधिसँगको कुराकानी गर्दै नेपाल तामाङ घेदुङ सङ्घका अध्यक्ष मोहन गोले तामाङले प्रहरी परिसर घेराउ कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेर आफ्ना तीन दर्जनभन्दा बढी कार्यकर्तालाई गिरफ्तार गरेर प्रहरी कार्यालयभित्र लगि यातना दिएर कुटपिट गरेको बताउनु भयो । गोलेले आफ्ना मागहरू शान्तिपूर्ण रूपले राख्दै आन्दोलन गरिरहेका आन्दोलनकारीहरूलाई अनावश्यक बल प्रयोग गरेर गिरफ्तार गर्नु र मरणासन्न हुनेगरी कुटपिट गरेर घाइते बनाउनु निन्दनीय र मानव अधिकारको दृष्टिकोणले उचित नभएको उल्लेख गर्नुभयो ।

त्यस्तै नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले शान्तिपूर्ण धर्नामा सहभागीलाई प्रहरीले गिरफ्तार गर्दै प्रहरी कार्यालयमा लगेर कुटपिट गरेको बताउनु भयो । मगरले गिरफ्तार गरेर प्रहरी कार्यालयमा लागिसकेपछि आफ्ना सदस्यलाई अस्पताल लैजानुपर्ने तरिकाले कुटपिट गर्दै यातना दिएको उल्लेख गर्नुभयो ।
त्यस्तै प्रहरीको कुपिटबाट घाइते भएर राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धमा उपचाररत दिलमाया तामाङले इन्सेकसँग कुराकानी गर्दै आफूलाई गिरफ्तार गरेर प्रहरी कार्यालयभित्र लागिसकेपछि लाठी र बुटले कुटपिट गरिएको बताउनु भयो । प्रहरीको कुटपिटबाट तामाङका दुवै खुट्टामा गम्भीर चोट रहेको छ ।

गिरफ्तारीमा परेकालाई प्रहरी परिसरभित्रै लगेर कुटपिट भएको विषयमा इन्सेक प्रतिनिधिले बुझ्दा जिल्ला प्रहरी परिसर, काठमाडौँका डिएसपी अनिल अधिकारीले प्रहरीले गिरफ्तार गरेर ल्याएर आन्दोलनकारीलाई आफूहरूले कुटपिट नगरेको बताउनु भयो । डिएसपी अधिकारीले झडपमा घाइते भएका दुई जना आन्दोलनकारीलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पतालमा पठाएको जानकारी दिनुभयो । डिएसपी अधिकारीले बरु अन्दोलनकारीले गरेको ढुङ्गा र इँटा प्रहारबाट आफ्ना १८ जना कर्मचारीहरू घाइते भएको उल्लेख गर्नुभयो ।
