बिश्रामपुर गाउँपालिका—१ चतवा टोलकी २५ वर्षीया जाया कुशवाहालाई दाइजोका कारण हत्या गरेको आरोपमा ३२ वर्षीय पति सन्दीप कुशवाहा, ५० वर्षीया सासू विद्यादेवी कुशवाहा र २७ वर्षीय देवर प्रविण कुशवाहाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १७ गते उजुरी दिएको छ ।
बहिनी जया कुशवाहको विवाह ०७८ मड्सिर २७ गते सन्दीप कुशवाहासँग भएको र विवाह भएदेखि नै आरोपितहरूले दाइजो नपाएको निहुँ बनाई मानसिक तथा शारीरिक यातना दिँदै आएको मृतकका भाइ बीरगंज मनपा–१२ बस्ने दिपेन्द्र कुशवाहाले बताउनु भयो ।
कहिले रुपियाँ मागेर ल्याउन त कहिले मोटरसाइकल मागेर ल्याउन भनि बहिनी जयालाई आरोपितहरूले पटकपटक दबाब दिने गरेको कुरा माइत आएको बेला सुनाउने गरेको दिपेन्द्रको भनाई छ । मोटरसाइकल किनेर दिएपनि बहिनीमाथि कुटपिट गरेको र घर निकाला समेत गरेपछि बहिनी जयाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, बारामा ०७९ फागुन १५ गते उजुरी दिएकोमा ०७९ चैत १७ गतेको छलफलमा कुटपिट नगर्ने र कुनै प्रकारको यातना नदिने सहमति अनुसार बहिनीलाई लिएर गएको दिपेन्द्र कुशवाहले बताउनु भयो ।
साउन १२ गते बिहान ७ः३० बजे आरोपित सन्दीप कुशवाहाले तपाइँको बहिनीले आत्महत्या गरेको खबर गरेपछि त्यहाँ जाँदा बहिनीको शरीर झुण्डिएको अवस्था, गोडा ओछ्यानमा छोइएको र गोडा मोडिएको अवस्रथामा रहेकाले कुटपिट गरी हत्या गरेको शङ्लेका लागेर न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मृतकका भाइ दिपेन्द्र कुशवाहले जानकारी दिनु भयो ।
घटनाको सूचनाको आधारमा छातावाको प्रहरी चौकीका असई श्यामबाबु यादव, प्रसौनीका इन्स्पेक्टर विनोद बोहरा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली घटनास्थल पुगेको थियो । शवको पोस्टमार्टम प्रादेशिक अस्पताल कलैयामा साउन १२ गते गरी सोही दिन पीडित परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । पोाष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको र घरायसी विवादको कारण घटना हुन सक्ने अशङ्का गरिएको हुँदा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी खग्रेन्द्र बोगटीले बताउनु भयो ।