INSEC Online

📅 २०८३ जेष्ठ २१

लम्पी स्किन रोगले जोत्ने गोरु मरेपछि कृषकको चिन्ता : अब खेती कसरी गर्ने

जुम्लामा यतिखेर धेरैजसो ठाउँमा गाईगोरु मरेका भेटिन्छन् । यहाँका नदी खोलानालामा लम्पी स्किन रोगले मरेका गाईगोरु भेटिने गरेका हुन् । लम्पी स्किन रोगले धेरै पशुचौपाया मरेपछि  वातावरण नै प्रदुषित बनेको छ भने अर्काेतर्फ कृषकहरुलाई अब कसरी खेतीपाती गर्ने भन्ने चिन्ता पनि बढेको छ ।

हिमा गाउँपालिका –४ का डल्लो बुढाको हलगोरु (दुई) लम्पी स्किन रोगले मरेपछि खेती कसरी गर्ने चिन्तामा परेको बताउनु भयो । उहाँको हलगोरु हलगोरु लम्पी स्किन रोगले मरेका हुन । उहाँले भन्नुभयो “अर्काे वर्ष गोरु किनौँ भनेपनि पाईने छैन, किनौ भने एक गोरुको २० हजारदेखि ३० हजार रुपियाँ पर्छ त्यत्रो रकम कहाँबाट ल्याउने ।”

धेरैजसो कृषकले गोरुले खेतबारी जोत्ने गर्दछन् । यहाँका कृषकहरुले खेतबारी जोत्दा आधुनिक प्रविधि हाते ट्याक्टर प्रयोग गर्ने गरेका छैनन् । लम्पी स्किन रोगले गाईगोरु मर्न थालेपनि यहाँका अब खेतवारी कसरी जोत्ने समस्यामा परेका हुन् ।

कृषकले खेतबारीमा प्रयोग गर्ने गोठे मल नै हो । यहाँ रासायनिक मल प्रयोग हुदैन । गोठेमल गाईगोरुबाट नै उत्पादन हुने गर्दछ । लम्पी स्किन रोगले गाईगोरु मरेपछि गोठेमल कसरी उत्पादन गर्ने र खेतवारीमा प्रयोग गर्ने भन्ने समस्या परेको गुठीचौर गाउँपालिका–५ फोईगाउँका धनप्रसाद उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयो “लम्पी स्किन रोग महामारीका रुपमा फैलिएकोले गाईगोरु सखाप बनायो ।”

गुठीचौरमा वैशाखदेखि भेडा र गाई हेर्दै बसेकी ७६ वर्षीया कुष्णमाया देवकोटाका गोठ नै रित्तो भयो । उहाँका नौवटा गाईगोरु मरेपछि गोठ नै रित्तिएको हो । गाईगोरु मरेपछि उहाँलाई आफ्ना जहान परिवार मरेजस्तो भएकोे छ । उहाँ शोकमा पर्नु भएको छ । गुठीचौरका विभिन्न ठाउँमा गाईगोरु मरेका छन् । गुठीचौरमा मात्रै होइन, विभिन्न पाटनमा गाईवस्तु मरेका छन् । मरेका गाईवस्तु व्यवस्थापनमा कसैको ध्यान नगएको उहाँले बताउनु भयो ।

वातावरण नै प्रदुषित भएको छ । पाटन जस्तो स्वच्छ हावा खान पाइने ठाउँमा पनि दुर्गन्ध फैलिएको छ । रोग लाग्ने हो कि भन्ने चिन्ता छ,’ उहाँले भन्नुभयो, ’जताततै गाईगोरु मरेका छन् । अब त खेतीपाती कसरी गर्ने? खेतबारीमा मल कसरी पुर्याउने भन्ने चिन्ता बढ्न थाल्यो ।’

घरका हलगोरु मरेपछि जग्गा जमिन बाँझो भएको तातोपानी–७ सर्मीका किसान मुन बहादुर कुँवरले बताउनु भयो । ’घरका हलगोरु मरे । गाउँलेका पनि मरेका छन् । अब गोरू पाउन मुस्किल छ,’ उहाँले भन्नुभयो, ’जग्गा बाँझो हुने भयो । अन्न भएन भने त भोकमरी होला जस्तो छ ।’

समयमै रोग नियन्त्रण गर्न नसके ठूलो क्षति बेहोर्नु पर्ने पातारासी–५ का गोबिन्द बुढाले बताउनु भयो । कुनै गाईगोरु घाँस खानै नसक्ने छन् । कुनैको शरीरभरि खटिरा र दाग छ,’ उहाँले भन्नुभयो, ’गाईगोरु हेर्दाहेर्दै रोएर मर्छन् । साह्रै बिरख्त लाग्छ ।’ पातारासी–५ की गोरिकला विष्टका अनुसार किसान आफ्ना गाईगोरु छट्पटाउँदै मरेको हेर्न विवश छन् । चाहेर पनि उद्दार गर्न सकिरहेका छैनन् ।

गुठीचौर गाउँपालिकामा १० हजार ७५० गाईगोरु मध्ये ३ हजार ५ सय ४७ वटा गाईगोरुलाई उपचार गरिएको छ । गुठीचौर गाउँपालिका पशु शाखा प्रमुख शिवराज देवकोटाका अनुसार उपचार गरिएका मध्ये ६ सय ४२ गाईगोरु मरेका छन् । यो रोग निको पार्न औषधि त छैन । तर गाईगोरुमा देखिएको लक्षण अनुसार उपचार गर्ने गरिएको छ । धेरै गाईगोरुमा रोग देखिएकोले मर्नको संख्या बढ्दै गएको छ ।
उहाँले भन्नुभयो अत्यधिक ज्वरो आउने, घाँटी, खुट्टा, पेट लगायतमा गिर्खा देखिने पशुलाई कुनै ठोस उपचार छैन । पशु प्राविधिकको सल्लाह अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउने, गोठखोर वरिपरि सफा राख्ने आग्रह गरिएको छ ।

गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार यो रोग रोकथाम तथा निन्त्रणका लागि यहाँका सवै वडामा पशु प्राविधिक परिचालन गरिएको छ । आवश्यक औषधि खरिदका लागि ९ लाख बजेटको व्यवस्थापन गरिएको छ ।

पशु सेवा कार्यालय जुम्लाका अनुसार रोग नियन्त्रण बाहिर गइसकेको छ । आठै स्थानीय तहको प्रारम्भिक तथ्याङ्  अनुसार १४ हजार गाई गोरुमा लम्की स्किन संक्रमण भएको छ ।
झण्डै एक हजारको हाराहारीमा मरेको पशु सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख लाल बहादुर बुढथापाले बताउनु भयो । उहाँले भन्नुभयोे, ’अहिले देशभर झैं जुम्लामा पनि यो रोग फैलिएको नियन्त्रणमा लिन कठिन भएको छ ।’

अफ्रिकी मुलुकबाट २०७६ सालतिर नेपाल भित्रिएको लम्पी स्किन रोग जुम्लामा पहिलो पटक देखिएको उहाँको भनाइ छ । ’यो भाइरल रोग भएकोले यसको खास उपचार कठिन छ । तर ज्वरो नियन्त्रणमा लिने, अन्य कठिनाई कम गर्ने खोप नै हो,’ उहाँले भन्नुभयो,

संक्रमित हुने दर लगातार बढिरहेको छ भने मृत्युदर ४.०७ प्रतिशत रहेको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ । खेतबारी जोत्ने र गोठेमल उत्पादन गर्ने गाईगोरु नै ठुलो संख्यामा मर्न थालेपछि खाद्यन्न उत्पादनमा ह्रास आउने देखिएको छ । जसका कारण खाद्य सुरक्षामा पनि चुनौती थपिएको राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाका प्रमुख धनराज शाहीले बताउनु भयो । उहाँले भन्नुभयो गएका दुई वर्षमा आएको बाढीपहिरोले क्षति गरेका सिचाई नहर (कुला) मर्मत नहुदा ठुलो मात्रमा जमीन बाँजिदै गएको छ । अहिले यो महामारी रोगले पशुचौपाया मर्न थालेपछि जमीन जोत्न र मल उत्पादन गर्न पनि समस्या हुने देखिएको छ । यसको प्रत्यक्ष असर मानव समुदायमा पर्ने देखिन्छ । जसका कारण खाद्य सुरक्षामा चुनौती थपिएको हो ।

कर्णालीका दुई लाख पशुचौपायमा संक्रमण

जुम्लासहित कर्णाली प्रदेशका १० जिल्लाका २ लाख १८ हजार ७८२ वटा पशुचौपायमा लम्पी स्किन भाईरसको संक्रमण देखिएको छ । कुल संक्रमित चौपाय मध्ये साढे ९ हजारको मृत्यु भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला प्रमुख ज्ञानेन्द्र बुढ्थापाले असार ३१ गते सम्मको तथ्यांक अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लागरी दुई लाख १८ हजार ७८२ वटा पशुचौपायमा संक्रममित देखिएको बताए । उहाँले भन्नुभयो ९ हजार ६ सय २० पशुचौपायको मृत्यु भएको छ ।

लम्पी स्किन भाईरसबाट जुम्लाका १२ हजारबढी पशुचौपाय संक्रमित भएका छन् । जुम्लामा पशुचौपायाको संख्या २ लाख ८ हजार २०७ रहेका छ । त्यसमध्ये १२ हजारबढीमा संक्रमण देखिएको छ ।
उहाँले भन्नुभयो, “जुम्लासहित साविक कर्णालीमा जाजरकोटबाट संक्रमण फैलिएको देखिन्छ । सबैभन्दा बढी दैलेख र सबैभन्दा कम मुगुमा पशु चौपाय संक्रमित भएका छन् । मृत्युदर कम भएकोले खोपको प्रयाप्तता भएको खण्डमा संक्रमण रोकिन्छ ।”

तथ्याङ् अनुसार कर्णालीका १० जिल्लाका १ लाख २० हजार ९६३ गोरुमा संक्रमित हुँदा ५ हजार ३६ गोरु मरेका छन् । अधिकांश किसानका गोठ रित्तिएका छन् । आउने मंसिरमा जौबाली रोप्नै मुस्किल हुने अबस्था आएको छ ।

कुल संक्रमित २ लाख १८ हजार ७८२ मध्ये १ लाख ४० हजार ७ सय ४६ पशुचौपायको उपचार गरिएको छ । १२ हजार ५५३ पशुचौपायले मात्र खोप पाएका छन् । प्रमुख बढ्थापाले भन्नुभयो,“मान्छेमा नसर्ने भएकोले दुध खाँदा समस्या छैन् । तर पशुचौपाय भैसीमा कुनै एन्टिबाईटिक चलाएको भए खानुहुदैन् ।

जुम्लाका ८ पालिकाका लागि थप ठोस खोप आई पुगेको कार्यालय प्रमुख बुढ्थापाले बताउनु भयो । उहाँका अनुसार एक पालिकाका २ सय पशुचौपायलाई पुग्नेगरी खोप वितरण गरिएको छ । गुठिचौर गाउँपालिकाले खोप लिई सकेको छ । खोप मात्रलाई प्रयाप्त गरेको खण्डमा संक्रमणबाट पशुचौपायलाई जोगाउन सकिने अवस्था छ ।

साढे १७ करोड बराबर आर्थिक क्षति

लम्पी स्किनबाट विशेषगरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायतका जिल्ला बढी प्रभावित छन् । १० जिल्ला बाच्छा, बाच्छी गरी १ हजार ४ सय ७२, गाई २ हजार २ सय ७७, गोरु ४ हजार ७ सय ४, भैँसी २ सय ५३, चौँरी १४ को मृत्यु भएको छ ।

पशु चौपायाको संक्रमण र मृत्युबाट कर्णालीमा १७ करोड ५३ लाख ७६ हजार बराबरको आर्थिक क्षति भएको छ । यो तथ्याङ्क फागुनदेखि असार मसान्तसम्मको हो । ’गोरु मरेको खण्डमा उसले गर्ने श्रम र त्यसबाट हुने क्षतिलाई पनि हामीले जोडेका हौँ,’ कर्णाली प्रदेश पशुपन्छी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले भन्नुभयो ।
Photo20230802Jumla (1)

Photo20230802Jumla (2)

अन्य

भिडियो