प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानव अधिकारको संरक्षण हुनसक्ने बताउनु भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज ललितपुरमा आयोजित ३१ औँ प्रकाश स्मृति दिवस तथा २९ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण एवम् नेपालको मानव अधिकार अभियानः निर्दलीय, बहुदलीय र गणतान्त्रिक व्यवस्थाका अनुभव विषयक प्रवचन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा उहाँले भन्नु भयो-‘स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी न्यायपालिकासहितको संवैधानिक व्यवस्था छ । न्यायालय राजनीतिक हस्तक्षेप, आर्थिक प्रलोभन, राज्यको हस्तक्षेप, दबाब र प्रभावबाट मुक्त हुनुपर्छ । त्यसो हुन सकेन भने निष्पक्ष न्याय प्रदान हुन सक्दैन ।’ उहाँले निष्पक्ष न्याय हुन नसके मानव अधिकारको संरक्षण पनि हुन नसक्ने बताउनु भएको छ । ‘न्यायालय स्वतन्त्र हुँदा मात्रै मानव अधिकारको संरक्षण हुनसक्छ । मानव अधिकारको एउटा अभियानका रूपमा न्यायपालिका स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ ।’-उहाँले भन्नु भयो ।

पूर्वसभामुख दमननाथ ढङ्गानाले स्वतन्त्र र गैरराजनीतिक संस्था भनेको न्यायालय नै भएको भनाइ राख्दै मानव अधिकार र लोकतन्त्रको संरक्षणका लागि यसलाई निष्पक्ष र स्वतन्त्र राख्नुपर्ने बताउनु भयो । ‘स्वतन्त्र र गैरराजनीतिक संस्था भनेको न्यायालय नै हो र यसलाई निष्पक्ष र स्वतन्त्र राख्नुपर्छ । त्यति गरे मात्रै मानव अधिकारको संरक्षण हुनसक्छ । संविधानसभाबाट बनेको वर्तमान संविधानले संविधानसभाको मर्मलाई छुन सकेन, निर्वाचन पद्धति सुधार गर्न सकेन, यो संविधान संशोधन गर्न सकेनौँ भने भ्रष्टाचार मौलाउँछ, मानव अधिकार कमजोर हुन्छ । व्यवस्था विकृत हुन्छ । मानव अधिकार हनन हुँदै जान्छ ।’-पूर्वसभामुख ढुङ्गानाले भन्नु भयो ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानव अधिकार र सङ्क्रमणकालीन न्यायका विषयमा अङ्ग्रेजीमा रूपान्तरण गरेर व्याख्या गर्न नसक्दा अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो अदालतका नजीर स्थापित हुन नसकेको बताउनु भयो । उहाँले सक्षम न्याय प्रणाली भए पनि न्यायालय सक्रिय भएर काम नगरेसम्म मानव अधिकारको रक्षा हुन सक्दैन भन्दै न्याय, मानव अधिकार र लोकतन्त्र एक अर्कामा जोडिएको बताउनु भयो । प्रकाश काफ्लेका बालसखासमेत रहनुभएका प्याकुरेलले प्रकाश काफ्लेको योगदानको चर्चा गर्नु भयो ।
मानव अधिकारकर्मी डा. रेणु अधिकारीले संविधान जारी भइसकेपछि मानव अधिकार आन्दोलन विभाजित भएको बताउँदै मानव अधिकारको एकीकृत अभियानमा जोड दिनु भयो । इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले मानव अधिकार आन्दोलनलाई परिष्कृत गरेर जानु आवश्यक भएको भन्दै आम नागरिकमा न्यायको पहुँच पुर्याउन नसक्नु पनि गम्भीर विषय भएको धारणा राख्नु भयो ।








२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई
रुकैया खातुनलाई यो वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा क्रियाशील कपिलवस्तुकी रुकैया खातुनलाई आज पुरस्कार प्रदान गरिएको हो । ललितपुरमा भएको एक कार्यक्रमकाबिच प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले खातुनलाई सम्मान पत्रसहित ५० हजार नगद प्रदान गर्नु भयो ।
खातुनले आफूले पाएको पुरस्कार राशी सामाजिक काममा खर्च गर्ने उद्घोष गर्नु भएको छ । इन्सेक कार्यसमितिको २०८० साउन ९ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उहाँलाई सम्मानित गर्ने निर्णय गरेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ । नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’ को अवसर पारेर पुरस्कृत गरिँदै आएको छ । यसअघि सो पुरस्कारबाट २८ जना पुरस्कृत भइसक्नु भएको छ ।

इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न यो वर्ष इन्सेकले सार्वजनिक आह्वान गरेको थियो ।
