सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा सञ्चालित डडेल्धुरा अस्पतालमा विषेशज्ञ चिकित्सक नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाको ट्रान्जिट पोइन्टमा रहेको यो अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा आफूहरुले सास्ती खेप्नु परेको बिरामीहरुले गुनासो गर्नु भएको छ ।
अमरगढी नगरपालिका–२ का स्थानीय गणेश खडायतले आफ्नो भतिजाको हात भाँचिदा डडेल्धुरा अस्पतालका चिकित्सकले उपचार नै नगरिदिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो–‘मेरो भतिजाको हात भाँचिएर उपचार गराउन पुगेको थिए । एक जना चिकित्सकले आफ्नो मेडिकल स्टोरबाट औषधी किन्न भन्नु भयो । मैले औषधी किन्न नमान्दा उपचार नै गर्न मानेन् । अस्पतालमा रोग अनुसारका चिकित्सक नहुँदा उपचारका लागि जिल्ला बाहिर जान बाध्य छौँ ।’
अस्पतालमा उपकरण बिग्रिएको र विशेषज्ञ चिकित्सक पनि नभएको भन्दै डडेल्धुरा अस्पतालमा आफ्नो उपचार नभएको छातीमा समस्या आएपछि एक साता अघि डडेल्धुरा अस्पताल पुग्नु भएका भागेश्वर गाउँपालिकाका स्थानीय दिपकबहादुर महताले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘यहाँ त टाँढा–टाँढाबाट बिरामी आउँछन् । उपचार नपाएर धनगढी तथा भारत जानु पर्छ । संघीय सरकार मातहतको अस्पतालले दिने सेवा सुविधा स्वास्थ्य चौकीको जस्तो पनि छैन् । चिकित्सकले गर्ने व्यवहार पनि राम्रो छैन् ।’
यो अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी रहेको भए पनि अहिले अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक नभएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिनु भयो ।
उहाँका अनुसार अस्पतालमा हाल छात्रवृत्ति करारबाट तीन जना मात्र विशेषज्ञ चिकित्सक कार्यरत रहनु भएको छ । त्यसैगरी ‘विशिष्ट विशेषज्ञ’ भनिएको यो अस्पतालमा १८ जना मेडिकल अधिकृतको दरबन्दी छ । जसमा ६ जना स्थायी र १६ जना करारमा कार्यरत छन् । अस्पतालमा ३४ जना स्टाफ नर्सको दरबन्दी रहेकोमा २९ जना स्थायी रूपमा कार्यरत छन् ।
अस्पताल विकास समितिबाट ६ जना, करारमा २६ जना र एक जना दैनिक ज्यालादारी गरी ६२ जना स्टाफ नर्स कार्यरत रहेको पन्तले बताउनु भयो । तत्कालीन उपक्षेत्रीय अस्पताल अन्तर्गत यहाँ १ सय ९ जनाको स्वीकृत दरबन्दी हो । त्यसमध्ये हाल अस्पतालमा ५२ जना मात्रै कार्यरत छन्’, उहाँले भन्नु भयो, ‘अस्पतालमा ४७ पद रिक्त छ । दक्ष जनशक्ति नहुँदा अपेक्षा अनुसार गुणस्तरीय सेवा दिन सकिरहेका छैनौँ ।’

२०७० सालमा टिम अस्पताल र जिल्ला अस्पताल मिलाएर उपक्षेत्रीय अस्पतालका रुपमा सञ्चालित यस अस्पताललाई ०७५ फागुन ५ गते नाम परिवर्तन गर्दै संघीय सरकारले डडेल्धुरा अस्पताल नामाकरण गरेको थियो । त्यतिवेला संघीय सरकारले अस्पतालाई विशेषज्ञ सहितको सुविधा दिन स्तरोन्नति गरिएका, वभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक तथा सेवासुविधा संघीय सरकारले उपलब्ध गराउने र ५ सय शय्याको सेवासुविधा प्राप्त हुने जनाइएको थियो ।
उपक्षेत्रीय अस्पतालको नाम परिवर्तन गरी ‘डडेल्धुरा अस्पताल, बनाइए पनि निर्णय भएको पाँच वर्ष पुग्न लाग्दा समेत न अस्पतालको स्तरोन्नति नै भयो छ न त अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक रहनु भएको छ । अहिले सामान्य ज्वरो आएका बिरामीलाई पनि धनगढी रेफर गर्नु पर्ने बाध्यता छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डाक्टर चेतराज भट्टले बिभिन्न कारणले डडेल्धुरामा डाक्टरहरू आउन नमान्ने गरेकोले जनअपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाह गर्न, जनशक्तिलाई टिकाइ राख्न, सेवाग्राही र सरोकारवालाहरूसँग सन्तुलित व्यवहार र सन्तुष्टि प्रदान गर्न चुनौती रहेको बताउनु भयो ।

अस्पताल काठमाडौंदेखि टाढा हुनु, चिकित्सकलाई सेवासुविधा कम हुनुले विशेषज्ञ चिकित्सक ल्याउन नसकिएको उहाँहरूलाई टिकाइ राख्न झनै समस्या भएको डाक्टर भट्टको भनाइ छ ।
‘एकजना डाक्टरले सबै विभाग हेर्नुपर्ने बाध्यता छ । सीमित जनशक्ति छ । कुनै डाक्टर एक दिन पनि बाहिर गएमा सेवा अवरुद्ध हुन्छ’, डाक्टर भट्टले भन्नु भयो, ‘त्यसैले एउटा विभागमा कम्तीमा तीन जना डाक्टर हुनु पर्छ ।’