INSEC Online

📅 २०८३ जेष्ठ २१

लम्पी स्किन रोगको समयमा उपचार नहुँदा किसानलाई धान खेती लगाउन समस्या

किसानहरूको प्रमुख बाली धान खेती लगाउने समयमा पशुहरूमा लागेको लम्पी स्किन रोगको उपचार हुन नसक्दा धान खेती लगाउन किसानहरू समस्यामा परेका छन् ।

पहाडी भेगको जमिनमा धान खेती लगाउन किसानहरू गोरुको प्रयोग गर्ने गरेका छन् । तर पशुहरूमा लागेको लम्पी स्किन रोगका कारण गोरुहरूबाट यस वर्ष रोपाइँ नभएको कारण किसानहरूको धेरै जग्गा बाँझो भएको छ ।

पशुहरूमा जेठ महिनादेखि देखापरेको उक्त रोग साउनको पहिलो हप्तासम्म उपचार हुन नसक्दा गोरु लगाएर धान रोपाइँ गरिने भिरालो जमिनहरूमा समस्या भएको इन्द्रावती गाउँपालिका-७ का किसान मधुसुधन सापकोटाले बताउनु भयो । बेसीको जमिनमा ट्याक्टर लगाएर रोपाइँ गरियो भने पहाडी भिरालो जमिनमा गोरु नै लगाउनु पर्ने खेतहरूमा धान रोपाइँ हुन नसकेको सापकोटाको भनाई छ ।

पहाडी जिल्ला भएका कारण यहाँका अधिकांश जमिनहरू भिरालो र अग्ला कान्ला भएका खेतहरू छन् । ती खेतहरूमा धान खेती गर्न गोरुकै प्रयोग गरिन्छ । लम्पी स्किन रोगको महामारी भएका कारण यस वर्ष गोरु प्रयोग गरेरे रोपाइँ गर्न किसानहरूले पाएनन् । लम्पी स्किन रोगको उपचार नहुँदा यस वर्ष ४० प्रतिशत जमिन बाझै रहने भएको जुगल गाउँपालिका-५ का किसान मनोहर सापकोटाले बताउनु भयो ।

‘गाउँभरीमा २/३ ओटा ट्याक्टर भएपनि अग्लो कान्ला भएका खेतमा लैजान सकिँदैन । गोरु जोत्न नपाएपछि यसपालिको धानखेती नहुने नै भयो’, बराम्चीकी किसान साबित्रि घिमिरेले गुनासो गर्नुभयो ।

कहिले प्राकिृतिक विपत्ति त कहिले महामारी, त्यसमा पनि किसानले समयमा पाउन नसकेको मल, बिउ आदिका कारण किसानी काम गर्नेहरूलाई सधैँ समस्या पर्ने गरेको इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले बताउनु भयो ।

पशुमा आएको रोगको महामारीले किसानले गोरु प्रयोग गर्न नपाउँदा यस वर्षको धान रोपाइ कम भएको जुगल गाउँपालिका कृषि शाखा प्रमुख मिना श्रेष्ठले बताउनु भयो । ‘पशुमा लागेको रोगको उपचार समयमै नहुनु र यही अवस्था भइरहे आउँदो वर्षमा नागरिकहरूमा भोकमरी समेत हुनसक्ने कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

Photo_080-4-10_Sindhupalchok

अन्य

भिडियो