INSEC Online

📅 २०८३ जेष्ठ २१

२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया रुकैया खातुनलाई प्रदान गरिने इन्सेकले जनाएको छ । इन्सेक कार्यसमितिको २०८० साउन ९ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उहाँलाई २९ औँ “प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Rukaiya Khatun

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार” प्रदान गर्दै आएको छ ।

नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गरिंदै आएको छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व.दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जना सम्मानित भइसक्नु भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा २०८० साउन १६ गते ललितपुरको स्टाफ कलेजमा एक कार्यक्रमकाबिच खातुनलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि इन्सेकले जनाएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको छ ।

Press Release_2080_04_10

अन्य

भिडियो