उकालो बाटो, खुट्किला चढ्दै उक्लिनु पर्ने संरचना । भौगोलिक विकटता उस्तै । यही अवस्थामा घस्रँदै विद्यालय पुग्छन् कनकासुन्दरी गाउँपालिका– ७ का विवेक कार्की । उहाँको एकतर्फको शरीर पूरै चल्दैन । त्यही शरीर घिसार्दै उहाँ विद्यालय पुग्नु हुन्छ । उमेरले उहाँ १० वर्ष पुग्नु भयो । आफ्नो उमेर समूहका सबै ‘ड्रेस’ लगाएर विद्यालय जान थालेपछि उहाँलाई पनि जान मन लाग्छ । सबैसँग रमाउन मन लाग्छ अनि घिस्रिँदै पुग्नु हुन्छ विद्यालय ।
घरमा कोही भए उहाँलाई विद्यालयसम्म बोकेरै लैजाने–ल्याउने गर्छन् । घरमा कोही नभए विवेक आफैँ सकि नसकी घिस्रिएरै भए पनि विद्यालय जान्छन् । तर, अपाङ्गमैत्री भौतिक संरचना नहुँदा उहाँले निकै सास्ती खेप्नुपरेको छ । घरदेखि विद्यालयसम्मको बाटो ह्विलचियर गुडाउन मिल्ने नभएकाले त्यो पनि घरमै थन्किएर बसेको छ ।
उपचारका लागि देशका विभिन्न अस्पताल हुँदै भारतको लखनऊसम्म भौंतारिए पनि उपचार नभएको बताउनु हुन्छ विवेकका बुबा प्रेम कार्की । ‘छोराको उपचारको क्रममा भारतको लखनऊसम्म पुगियो । भएको सबै धनसम्पत्ति पनि सकियो,’ उहाँले भन्नुभयो, ‘यही अपाङ्ग छोरासहित घरमा चार बालबच्चा र पत्नी गरी ६ जनाको परिवार छ । पर्याप्त खेतीयोग्य जग्गाजमिन पनि छैन । ज्याला मजदुरी गरेरै घरपरिवार चलाउनुपर्ने बाध्यता छ ।’
भौगोलिक विकटताले अपांगतामैत्री भौतिक संरचना नहुँदा विवेकलगायतलाई निकै समस्या हुने गरेको सो वडाका वडाध्यक्ष तेजबहादुर जिसीले बताउनु भयो । ‘भूगोल नै यस्तै छ । स्थानीय तहको बजेटले पनि सबै अपाङ्गमैत्री भौतिक संरचना बनाउन सक्ने अवस्था छैन, उहाँले भन्नुभयोे, ‘विवेकको जीवन निर्वाहका लागि सामाजिक सुरक्षा भत्तासहित थप सेवासुविधा पनि प्रदान गर्दै आएका छौँ । उनलाई पढ्न मिल्नेसहितको आवासीय अपाङ्गमैत्री भएको विद्यालय तथा पुर्नस्थापना गृहमा भर्ना गर्ने पहल भइरहेको छ ।’
यस्तै, दैनिकी बिताउँदै आएका छन् चन्दननाथ नगरपालिका – ७ खलाचौरका २६ वर्षीय हरिचन्द्र रावल । बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको साहारामा ह्विलचेयरमा निस्किन्छन् उहाँ । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा हरिचन्द्रको घर छ । वरपर जान नसक्ने भएपछि तीन–चार वर्षदेखि उहाँले घरको आँगनमै दिन बिताउदै आउनु भएको छ । कर्णाली राजमार्गमा गुड्ने सवारीसाधन र आवतजावत गर्ने मान्छे हेर्दै उहाँको दिन बित्छ ।
हरिचन्द्रको जन्मजात अपाङ्गता भएको होइन । ०७४ फागुन २८ गते आफैँले चलाएको ट्याक्टर दुर्घटना हुँदा मेरुदण्ड भाँचिएपछि उहाँ यो अवस्थामा छन् । ‘गरिबीका कारण सानोमा पढ्न लेख्न पाइनँ’, उहाँले भन्नुभयोे, ‘पछि ठूलो भएपछि जीविकोपार्जनका लागि ट्याक्टरको खलासी भएर काम गरेँ । केही समय काम गरेपछि आफैँले ट्याक्टर चलाउने भएको थिएँ ।’
दुर्घटनापछि उहाँको जीवन केही समय अस्पतालमै बित्यो । उपचारमा करिब ५० लाख रुपैयाँ खर्च भयो । तर, ठीक नभएपछि अहिले उहाँ ह्विल चेयरको सहारामा जीवन बिताई रहेनु भएको छ । सुरुमा जुम्ला अस्पताल, त्यसपछि नेपालगन्ज हुँदै भारतको लखनऊमा उपचार गराउँदा पनि निको भएन । उपचारमा घरखेत बिक्री भयो तर, सञ्चो भएन । हरिचन्द्रको जीवनमा अर्को पीडा थपियो । दुर्घटनापछि उहाँकी पत्नीले घर छोड्नु भयो । चार वर्षकी एक छोरी साथमा छिन् । छोरीको लालनपालन ४७ वर्षीया आमा कर्मकली रावलले गरि रहनु भएको छ । ‘अहिले त आमा हुनुहुन्छ । आमाले दुःख गरी पालनपोषण गर्नुभएको छ, तर भोलि के गरौँला ? एउटा छोरी छ, उसको भविश्य के हुने हो ? आफ्नो अवस्था यस्तो छ ।’ उहाँलाई यही चिन्ताले पिरोल्ने गर्छ ।
हरिचन्द्रकी आमा कर्मकलीले सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताबाट घर व्यवहार चलाउदै आउनु भएको छ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई मासिक तीन हजार रुपैयाँ दिँदै आएको छ ।
हिमा गाउँपालिका– ६ का सूर्य अधिकारी पनि अपाङ्गता भएका व्यक्ति हुन् । उहाँ सोही गाउँपालिकाको पञ्जीकरण शाखामा कार्यरत हुनु हुन्छ । केही वर्ष अघिसम्म ४१ किलोमिलटर लामो बाटो ह्विल चेयरमै कार्यालय पुग्ने गर्नु भएको थियो । अहिले ४ पांग्रो स्कुटीमा यात्रा गर्दै आउनु भएको छ । निकै दुख कष्ट गरेर पढेका अधिकारी अहिले करारमा पञ्जीकरण शाखामा काम गर्दै आउनु भएको छ । ‘मैले धेरै दुख कष्टका बाबजुद यहाँसम्म आइपुगें,’ उहाँले भन्नुभयोे, ‘मजस्ता धेरै साथीहरूलाई जीवन निर्वाहमै सकस छ । राज्य हामीप्रति अनुदार बन्ने गरेको छ ।’
कार्यालयदेखि ४१ किलोमिटर टाढा रहेको जुम्लाको सदरमुकाम खलंगा बजारमा उहाँको परिवारको बसोबास छ । ‘अहिले पनि स्कुटि गुडाउन सहज त छैन । निकै जोखिम छ । बाढीपहिरो र खोला बढेपछि समस्या हुने गर्छ,’ सूर्यले भन्नुभयो । जन्मजात पोलियोको समस्या भएका उहाँको दुबै खुट्टा चल्दैन । सडक राम्रो भइदिए चारपांग्रे स्कुटीमा यात्रा सहज हुने उहाँको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिको सहजताका लागि राज्यले अपाङ्गमैत्री भौतिक संरचना निर्माणका लागि ऐन, कानुन, कार्यविधि र निर्देशिका बनाएको छ । तर, आजसम्म ती कागजमा मात्रै सीमित छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लामा २ हजार ५२८ जना अपाङ्गता भएका व्यक्ति छन् । जसमा पुरुष १ हजार ४९३ जना र महिला १ हजार ३५ जना छन् । शारीरिक अपाङ्गता भएका व्यक्ति जम्मा १ हजार १८३ जनमध्ये पुरुष ७२८ जना र महिला ४५५ जना छन् । न्यून दृष्टियुक्त २८५ जनामध्ये पुरुष १५९ जना र महिला १२६ जना छन् । दृष्टिविहीन १६९ जनामध्ये पुरुष ९० जना र महिला ७९ जना छन् ।
जनगणना अनुसार बहिरोपना भएका ३५६ जनामध्ये पुरुष २०९ जना र महिला १४७ जना छन् । मनोसामाजिक अपाङ्गता भएका व्यक्ति ६९ जनामध्ये पुरुष ३८ जना र महिला ३१ जना छन् । बहिरोपना एवं दृष्टिविहिन ३६ मध्ये पुरुष २५ र महिला ११ जना छन् । मानसिक वा मनोसामाजिक १७९ मध्ये पुरुष १०४ र महिला ७५ जना छन् । बौद्धिक अपाङ्गता भएका ३५ जना मध्ये पुरुष १७ र महिला १८ छन् । अनुवंशीय रक्तस्राव भएका ११ जनामध्ये पुरुष ४ र महिला ७ जना रहेका छन् । अटिजम् २२ जना मध्ये पुरुष ७ जना र महिला १५ जना तथा बहुअपाङ्गता भएका १८३ मध्ये पुरुष ११२ जना र महिला ७१ जना रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिका अधिकारका विषयमा वकालत गर्दै आएका नन्दराज धिताल भन्नु हुन्छ, ‘राज्यको प्रथामिकतामा अपांगता भएका व्यक्तिहरु पारेका छैनन् । लामो समयदेखि अपांगता भएका व्यक्तिहरुका जिविकोपार्जनदेखि अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका विषयमा आवाज उठाउँदै आएका छौँ, तर सुनुवाइ भएका छैनन् । राज्यले दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने गरेको छ ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यका अनुसार भौगोलिक विकटताका कारण अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न सकिएको छैन । उहाँले भन्नुभयोे, ‘हाम्रो पालिका पूर्ण रुपमा अपाङ्गता भएका व्यक्ति विवेक कार्कीको जिविकोपार्जन र उनको शिक्षाका लागि सहयोग गर्ने गरेको छौँ । सामाजिक सुरक्षा भत्तासहित थप पालिकाबाट उनको शिक्षाका लागि १४ हजार सहयोग गरेका छौँ । उनलाई पुनर्वास सेन्टरमा भर्ना गर्ने योजना बनाएका छौँ ।’
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अपाङ्गता भएकाहरूको उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनु भयो । ‘कनकासुन्दरी गाउँपालिकामा अनुगमन गर्न गएको क्रममा घिस्रिदै विद्यालय गइरहेको एक बालक भेटायौँ,’ उहाँले भने, ‘हामीले गाडीमा राखेर लैजान खोज्यौँ, तर उहाँले मानेनन् । यस्ता व्यक्तिहरू जिल्लामा धेरै छन् । उनीहरूको उचित व्यवस्थापनका लागि पहल गर्ने छौँ ।’


