गुठीचौर गाउँपालिकाका– ४ मा अज्ञात पक्षद्वारा साउन ६ गते सात ओटा घरमा आगजनी गरिएको छ । धवलपुर गाउँका प्रेमप्रसाद न्यौपाने र खडान्द पाण्डेको घर, बाउली गाउँमा कविदत्त न्यौपानेको घर, खल्लाबाडामा कविदत्त न्यौपानेको घर, खल्लाबाडामा लालचन्द्र सार्कीको घर र बिगारे गाउँमा भिम प्रसाद जैशीको घरमा आगजनी गरेको सोही वडाका वडाध्यक्ष टिकादत्त न्यौपानेले बताउनु भयो ।
सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्यौपानेको घरमा क्षति भएको छ । गएराति साढे दुई बजे देखि आगजनी अनुमान गरिएको छ । आगो लगाउने बित्तिकै थाहा पाउँदा अधिकांश घरमा क्षति हुन जोगिएका छ । घरको चुक्कुल लगाएर, पेट्रोल छर्केर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर धर्मराज जोशीले जानकारी दिनु भयो ।
यस्तै गरी चन्दननाथ नगरपालिका–१ डुढाखोच भन्ने ठाउँमा रतन बहादुर बुढाको घरमा पनि आगजनी गरिएको छ । गुठीचौर गाउँपालिकाको–५ मा पर्ने धितागाउँमा पनि पार्किङ गरि राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ । रारातेन्जिङ कन्ट्रक्सन प्रालिको लु ५ त १२४४ नम्बर ट्याक्टरमा आगजनी गरिएको डिएसपी कार्कीले बताउनु भयो ।
आगजनी भएको थाहाँ पाएपछि जिल्लाबाट प्रहरीको टोली खटाइएको डिएसपी कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो ‘प्रहरी घटना स्थलमै छ । गुठीचौर गाउँपालिका नजिकैको झारज्वला प्रहरी चौकीका प्रहरी पनि समयमै पुगेको थियोे ।’
यस्तै गरी असार २६ गते गुठीचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएको अटोमा अज्ञात पक्षद्वारा आगजनी गरेका थिए । टिभिएस कम्पनीको क १ ह ५३ नम्वरको अटो आगलागी हुँदा ६ लाख ५० हजारको क्षति भएको मालिक कृष्णा अधिकारीले बताउनु भयो ।


