नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिले कास्की जिल्लाका नागरिक तथा सामाजिक सङ्घ संस्थाहरूलाई आर्थिक सहयोगका निम्ति पत्रचार गरेकाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न नागरिक संस्थालेकास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई ०८० साउन ३ गते ध्यानाकर्षण गराएका छन् ।
गैर सरकारी सङ्घसंस्थाहरू गैरनाफामूलक हुने तथा गैर सररकारी संस्थाहरूमा कुनै पनि राजनीतिक दलका विचार नलादिने र सबैका विचारलाई समान व्यवहार र सम्मान गरिने भएकाले कुनैपनि दल विशेषलाई चन्दा दिनु आचारसंहिता विपरीतको कार्य भएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।गैर सरकारी संस्थाहरू लक्षित वर्ग, विपन्न वर्गलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुने अन्तर्राष्ट्रिय मान्यता रहेको र गैससहरूले कसैलाई पनि चन्दा, दान दिने कार्य यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले यसबारे प्रशासनको ध्यानाकर्षण भएको र यस गतिविधिबारे तत्काल छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उक्त ज्ञापनपत्रमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी संस्था महासङ्घ नेपाल, गैरसरकारी संस्था महासङ्घ नेपाल, गण्डकी प्रदेश समिति, मानवअधिकार संरक्षण मञ्च (मासम), कास्की, मानव अधिकार एलाइन्स कास्की, सिविन नेपाल, फेडो नेपाल गण्डकी प्रदेश लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको हस्ताक्षर रहेको छ ।

