चोरी मुद्दामा बाँके कारागारमा सजाय भुक्तान गरीरहेका जानकी गाउँपालिका–६, कोठरपुरवाका २३ वर्षीय निरज गुप्ता भनिने निरजकुमार बनियाले ०८० असार २१ गते आत्महत्या गरेका छन् ।
जिल्ला कारागारका प्रमुख बिजयजंग शाहका अनुसार बिहान करिब ४ बजे शौचालयमा तन्नाको पासो लगाई आत्महत्या गरेका हुन् । डाका, चोरीे मुद्दामा कैद भुक्तान गरीरहेका निरजलाई जिल्ला अदालतले ०७९ चैत २२ गते ३ वर्ष कैद र ३० हजार रूपियाँ जरिबानाको फैसला गरेको थियो ।
घटनाका सम्बन्धमा असार २१ गते इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, राष्ट्रिय मानव अधिकार आयोगलगायतको टोलीले स्थलगत अनुगमन गरेका छन् । उक्त टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसँग भेट गरी घटनाका बारेमा जानकारी लिएको छ ।
३ सयको क्षमता रहेको बाँके कारागारमा हाल ९ सय २३ जना कैदी बन्दीहरू रहेका छन् । क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण खान, बस्न र शौचालय प्रयोग गर्नसमेत समस्या रहेको, शौचालयका सङ्रचना कैदी बन्दी मैत्री नभएको विषयमा प्रहरी, प्रशासनको ध्यानाकर्षण गराइएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।
शवको पोष्टमार्टम असार २१ गते भेरी अस्पतालमा गरी परिवारलाई शव बुझाइएको छ ।